सरकार र मेडिकलबीच भएको सहमति अस्वीकारः आन्दोलनरत विद्यार्थी

Image result for मेडिकल कलेज

काठमाडौं/११ मंसिर– चिकित्सा शिक्षा संघर्ष समितिले सरकार र निजी कलेजहरुबीच भएको दुुईबुुँदे सहमति अस्वीकार्य गर्दै बुधबार प्रदर्शन गरेका छन् ।
शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच एमबिबिएस पहिलो र दोस्रो वर्षको शुुल्क समायोजन गर्ने सहमतिमा समितिले आपत्ति जनाएको छ । समितिका अनुसार सहमतिमा नर्सिङ, फार्मेसी, बीपीएच, बीएमआईटीलगायतका संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषय नसमेटिएकाले आन्दोलन जारी रहेको हो । असहमतिमा तेस्रो र चौथो वर्षमा उठाइएको शुल्कको बारेमा पनि उल्लेख नगरिएको उनीहरुको भनाई छ ।
मंगलबार शिक्षा मन्त्रालय र निजी मेडिकल कलेज सञ्चालकबीच शुुल्क समायोजन गर्ने सहमति भएको थियो । सहमतिमा आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ मा भर्ना भएका विद्यार्थीको शुुल्क समायोजन अथवा फिर्ता गर्ने भनिएको थियो भने ०७२/०७३ र ०७३/०७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन गर्ने र उपयुुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुुरोध गर्ने उल्लेख थियो ।