शिक्षासेवी अङ्गुरबाबा जोशी निधन

काठमाडौं/८ असार– नेपालको अग्रज शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको शनिबार ८९ वर्षको उमेरमा निधन भएको छ ।
उनको स्ट्रोकका कारण शनिबार दिउँसो काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनी नेपालबाट एसएलसी दिने पहिलो महिला समेत हुन् । उनले दोस्रो श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेको थिइन् हुन् भने भारतबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।
उनी काठमाडौंको डिल्लीबजारमा रहेको पद्यकन्या बहुमुखी क्याम्पसकी पहिलो महिला क्याम्पस प्रमुख समेत थिइन् । उनले पद्यकन्या क्याम्पसमा १८ वर्ष प्राध्यापन गराईन् । यति मात्र होइन, नेपालमा ल कलेज खुलेपछि बीएल तहमा भर्ना भई बीएल उत्तीर्ण गरी बीएल उत्तीर्ण गर्ने पहिलो महिला पनि जोशी थिइन् । यस्तै, उनी विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत हुन् । उनी छात्रवृत्ति बेलायत उच्च शिक्षा अध्ययनका लागि गएकी थिइन् । दुई पटक क्यान्सरलाई जित्न सफल उनी जन्मदै थ्यालिसिमिया माइनर नामक रोगबाट ग्रसित थिइन् । उनको साहित्यमा पनि उत्तिकै रुचि देख्न सकिन्छ । कल्पना कथासंग्रह, क्यान्सरःबरदान, बृद्ध अवस्थाः जीवनको श्रीपेच र दीक्षा पुस्तक उनले लेखेका पुस्तक हुन् । उनले नेपालकाे शिक्षा क्षेत्रमा पुर्याएकाे याेगदान अविस्मरणिय रह्नेछ ।