भक्तपुर/२ असोज – शिक्षा विभागले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको विवरण इमिसमा अद्यावधिक तथा सही संख्या राख्न सबै सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ ।
विभागका अनुसार इमिसमा रहेको विद्यार्थी विवरणकै आधारमा दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक तथा प्रतिविद्यार्थी लागत अनुदानलगायत विभिन्न शीर्षकमा स्थानीय तहबाट विद्यालयलाई अनुदान उपलब्ध गराइने भएकाले विद्यार्थी विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।
विभागले विद्यालयको कक्षामा नियमित उपस्थित विद्यार्थी र इमिसमा रहेको कक्षागत विवरण फरक भएमा नियमित अध्ययनरत विद्यार्थीको विवरण कायम राखी अन्य विद्यार्थीलाई ‘Not in School’ गरी हटाउन भनिएको छ । त्यस्तै, कक्षामा नियमित उपस्थित विद्यार्थीको अभिलेख इमिसमा नभएमा उक्त विवरण अद्यावधिक गर्न भनिएको छ ।
विद्यार्थीको विवरण गलत राखिनु कानुनी रुपमा समेत दण्डनीय रहेकोले विद्यालयका प्रधानाध्यापक, इमिस फोकल पर्सन तथा लेखासम्बन्धी काम गर्ने शिक्षक/कर्मचारी प्रमुख जिम्मेवार हुने हुँदा वास्तिविक विद्यार्थी विवरण असोज मसान्तसम्म अद्यावधिक गर्न विभागको निर्देशन छ ।
साथै स्थानीय तहहरुलाई कार्यक्रम कार्यान्वयन कार्यविधि तथा विभागको साउन ४ को पत्र अनुसार विद्यार्थी विवरण सत्यापन गरेर मात्र अनुदान रकम निकासा गर्न भनिएको छ ।



