काठमाडौँ /३१ असार – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रार डा.भीमबहादुर चन्दलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
आज शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. र जोशीलाई उपकुलपतिमा तथा डा चन्दलाई रजिष्ट्रारमा आजै नियुक्त गरेको थियो ।
सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिनुभएको हो ।
मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताउनुभयो । उहाँले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । वैठकमा सहकुलपतिद्धय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थिति हुनुहुन्थ्यो ।
को हुन नवनियुक्त उपकुलपति र रजिष्ट्रार
उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँले विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रुपमा अध्यापन तथा अनुसन्धानमा योगदान दिँदै आउनुभएको छ । यसअघि उहाँ सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थापक कुलपतिका रुपमा समेत काम गर्नुभएको थियो ।
जोशीले अक्सपोर्ड विश्वविद्यालयको विभागीय सदस्यको रुपमा पनि जोशीले काम गर्नुभएको छ । काठमाडौँ चाबहिलका स्थानीय बासिन्दा जोशीले एमडी, एमफिल, पिएचडी, पिजिडिडि, एफआरएसपिएचलगायतका शैक्षिक उपाधी हासिल गर्नुभएको छ । चिकित्सा शिक्षा र जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरुमा उहाँको सक्रिय संलग्नता रहेको थियो ।
त्यसैगरी, नवनियुक्त रजिष्ट्रार डा. भिमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासनमा क्रियाशील हुनुहुन्छ । उहाँले अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर र विद्यावारिधि हासिल गर्नुभएको छ । उयसअघि उहाँ सहिद दशरथचन्द्र स्वास्थय विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यको रुपमा पनि जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
बैतडीको पाटन नगरपालिका १ का स्थायी बासिन्दा चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यको रुपमा समेत योगदान दिइसक्नुभएको छ । स्वास्थ्य सेवा व्यवस्थापन, नीति निर्माण तथा संस्थागत विकासमा उहाँको लामो अनुभव रहेको छ ।



