बालविकास सहजकर्ता शिक्षक विरुद्ध मुद्दा दायर

पाँचथर/३ असार – शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने बालविकास सहजकर्ता शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ मा रहेको जय भवानी माध्यमिक विद्यालयमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर अख्तियार अनुसन्धान आयोगले मुद्दा दायर गरिएको हो ।


उक्त विद्यालय अन्तर्गत सञ्चालित वालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर गरिरहेका आयोगको आरोप छ ।


शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज प्रतिवादी बिना कुमारी राईले जय भवानी माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताको राष्ट्रसेवक पद तथा ओहदाको लागि कक्षा ८ र एसएलसीको लब्धाङ्क पत्र र चारीत्रिक प्रमाणपत्र झुट्टा तथा नक्कली शैक्षिक योग्यता प्रमाणपत्रहरु पेस गरी लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरेको पुष्टि भएको छ विज्ञप्तिमा उल्लेख छ ।


राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न माग गर्दै आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।