सडक दुर्घटनामा पूर्व शिक्षक भिमबहादुर कार्कीको निधन

दमक/३ असार – शिक्षाको उज्यालो बाँड्दै हजारौँ विद्यार्थीको भविष्य निर्माणमा योगदान पु¥याएका एक अनुभवी शिक्षकको जीवन यात्रा सडक दुर्घटनाले अकस्मात् अन्त्य गरेको छ ।


आज बिहान करिब १० बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–५ मा भएको सवारी दुर्घटनामा स्थानीय ज्येष्ठ नागरिक टोल निवासी अन्दाजी ६० वर्षीय भिमबहादुर कार्कीको ज्यान गएको हो । उनी स्कुटरमा यात्रा गरिरहेका बेला एक टिफरले ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि टिफर चालक फरार रहेको र सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


मृतक कार्की झापाको साविक महाभारा क्षेत्रमा रहेको जनकल्याण माध्यमिक विद्यालयका निवृत्त शिक्षक हुन् । जीवनको महत्वपूर्ण समय शिक्षण पेशामा समर्पित गर्दै उनले सयौँ विद्यार्थीलाई ज्ञान, अनुशासन र जीवनका मूल्यहरू सिकाएका थिए । उनको निधनसँगै एक असल शिक्षक, समाजप्रति जिम्मेवार नागरिक र धेरैका प्रेरणाको स्रोत गुमेको स्थानीयवासीले बताएका छन् ।


बिहान घरबाट निस्किएका कार्की साँझ परिवारसँग नफर्किने गरी बिदा हुनेछन् भन्ने कल्पना कसैले गरेका थिएनन् । तर केही क्षणमै भएको दुर्घटनाले एउटा परिवारबाट अभिभावक, समाजबाट एक सम्मानित व्यक्तित्व र विद्यार्थीबाट एक प्रिय गुरु सदाका लागि खोसेको छ ।


दुर्घटनामा संलग्न टिफर र चालकलाई तत्काल कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन स्थानीयवासीले माग गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।