सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन

काठमाडौं/९ बैशाख – सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत छुटको सुविधा अनिवार्य कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ । यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै सो निर्देशन दिउको हो ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पालना गर्न विभागले भनेको छ ।


हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरीहरू आएपछि विभागले निर्देशन दिएको जनाएको छ ।


सार्वजनिक सवारीका चालक र सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा पनि सहुलियत दिन अस्वीकार गर्ने र दुव्र्यवहार गर्ने गरेको गुनासो प्राप्त भएपछि विभागले पुनः पत्राचार गरी ध्यानाकर्षण गराएको हो ।