काठमाडौं/७ बैशाख – मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा आज आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
शिक्षकको एउटा उत्प्रेरणा वा शब्दले आफ्नो जिवनमा पुरै परिवर्तन ल्याएको उदाहरण दिँदै अभिभावक र शिक्षकको सकारात्मक व्यवहारले बालबालिकाको जीवनमा परिवर्तन ल्याउन ठुलो भूमिका खेल्ने उल्लेख गरे । साथै ‘कोमल अभिभावकत्व’ पुस्तकले पनि अभिभावकलाई बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक अभिभावकत्व अभ्यास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
पुस्तकका लेखक थापाले विगत २१ वर्षदेखि शिक्षक, प्रधानाध्यापक र प्रशिक्षकको भूमिकामा रही काम गर्दा भोगेका विषय वस्तु, अनुभव र अनुसन्धानका आधारमा पुस्तक तयार पारेको बताइन । उनले बालबालिकाको भावनात्मक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताइन् ।
आधुनिक समाजमा अभिभावकत्वको शैलीमा आएको परिवर्तन र त्यसले बालबालिकामा पार्ने प्रभावबारे पुस्तकमा विभिन्न अनुभव र अध्ययन समेटि ७४ परिच्छेदमा तयार पारिएको छ ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवालसहित तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार सिलवालसहित समाजसेवी पासाङकाजी शेर्पा र बालमनोविद् डा गङ्गा पाठक रहेका छन् ।

उनीहरूलाई शिक्षा तथा समाजसेवाको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ समाचारदाता सिलवालले शिक्षा पत्रकारितामार्फत शिक्षा क्षेत्रका समस्या, सम्भावना र सुधारका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताए ।
समाजसेवी शेर्पाले सामाजिक कार्यमार्फत समुदायको उत्थानका लागि काम गर्दै आएको उल्लेख गरे भने बालमनोविद् डा. पाठकले बालबालिकाको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक विकासका विषयमा समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताए ।



