गणित सम्मेलन हुँदै, सामुदायिक विद्यालयका गणित शिक्षकलाई अवसर

काठमाडौँ/३० फागुन – पाई डेलाई हरेक वर्ष उत्सवका रूपमा मनाउँदै आएको इम्पेरियल वर्ल्ड  स्कुलले यो वर्ष चैत १ र २ गते दुई दिन मनाउने भएको छ । “गणित र आशा“ मूल नारा रहेको कार्यक्रममा गणित विज्ञहरू, गणित शिक्षक लगायतको प्रस्तुति, प्यानल छलफल, कार्यशाला र विद्यार्थीले निर्माण गरेका गणित सम्बन्धी परियोजनाहरू प्रदर्शनी गर्ने छन् ।


गणितीय अन्वेषणमा सहकार्य र ह्यान्ड्स–अन सिकाइलाई प्रेरित गर्ने उदेश्यले पाई डेको अवसरमा गणित सम्मेलन र गणित सम्बन्धी प्रदर्शनी गर्न लागिएको विद्यालयले जनाएको छ ।


पहिलो दिन गणित विज्ञ, शिक्षकहरूको सहभागीतामा गणित सम्मेलन गरिने छ । जसमा व्यवहारिक जीवनमा गणितको प्रयोग, महत्व र विज्ञहरूका विचार आदान प्रदान, कार्यशाला, प्यानल छलफल हुनेछन् । दोस्रो दिन सृजनात्मकतालाई महत्व दिँदै विद्यार्थीहरूले गणित सम्बन्धी निर्माण गरेका परियोजनाहरूको प्रदर्शनी तथा प्रस्तुति गरिने छ ।


गणित शिक्षाको महत्व र गणितीय सोचको विकास गर्ने उदेश्यले हरेक वर्ष पाई डेमा गणित सम्बन्धी सम्मेलन गर्ने गरिएको प्रिन्सिपल जुनीता शाहीले बताइन । उनले गणितका विज्ञहरूले गरेका अनुसन्धान, गणित शिक्षकहरूका विचार, विद्यार्थीहरूको गणित प्रतिको बुझाई र यसको महत्वका बारेमा बृहत् छलफल गरिने जानकारी दिइन ।


यसैगरी निजि विद्यालयका गणित शिक्षकहरूले सहभागीताका लागि एक हजार शुल्कसहित नाम दर्ता गर्नुपर्ने छ भने सामुदायिक विद्यालयका २० जना गणित शिक्षकहरूलाई निःशुल्क सहभागी गराईने विद्यालयले जनाएको छ । निजी र सामुदायिक विद्यालयको साझेदारी अवधारणा अन्तर्गत सामुदायिक विद्यालयका गणित शिक्षकहरूलाई यो अवसर विद्यालयले प्रदान गरेको छ । साथै सहभागी हुने गणित शिक्षकहरूले पूर्व जानकारी भने गराउनु पर्ने छ ।


कार्यक्रमका बारेमा जानकारी लिन तथा नाम दर्ता यहाँबाट गर्न सकिने छ ।