काठमाडौँ /२७ माघ – सामुदायिक विद्यालयको सुन्दरता र स्वच्छता बढाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकै ठाउँमा राखेर अभिमुखीकरण आयोजना गरेको छ । वडा नं. १ देखि १५ सम्मका विद्यालय र वडा नं. १६ देखि ३२ सम्मका विद्यालयहरुलाई छुट्टाछुट्टै समूह बनाएर अभिमुखीकरण आयोजना गरेको हो ।
२ समूहमा गरी २४५ जनाले भाग लिएका छन् । विद्यार्थीहरुको नेतृत्व र सहभागितामा विद्यालयहरुलाई स्वच्छ र सुन्दर बनाउन महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ देखि स्वर्णिम योजना ‘सुन्दर विद्यालय’ कार्यान्वयनमा ल्याएको छ । विद्यालयहरुलाई सुन्दर, कलात्मक र हरियाली बनाउन यस वर्षका लागि ५ करोड रुपियाँ विनियोजन गरिएको छ । जसमध्ये विद्यार्थीमार्फत कक्षा कोठा सजावट गर्न सामग्री खरिद अनुदानका लागि ४९ लाख रुपियाँ, विद्यालय हाताको सौन्दर्य बढाउन ८५ लाख रुपियाँ, हरियाली प्रवर्धन र फोहर व्यवस्थापनका लागि ३ करोड ५० लाख रुपियाँ विनियोजित छ ।
अभिमुखीकरणमा शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, जसका लागि कार्यक्रम ल्याइएको हो । जसले योजना कार्यान्वयन गर्ने हो । उसैसँग बसेर कार्यान्वयन योजना तयार गर्ने क्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरुसँग एकै ठाउँमा बसेर छलफल गरिएको बताए ।
समतामूलक समाज निर्माणमा शिक्षा नै आधार भएको धारणा राख्दै महर्जनले भने, ‘सामुदायिक विद्यालयहरुमा सुशासनयुक्त प्रशासन र पारदर्शी वित्तीय व्यवस्थापनको जग बसाएर विद्यार्थीहरुलाई व्यावहारिक, प्रयोगात्मक र समयानुकुल शिक्षा प्रदान गर्ने लक्ष्य पूरा गर्नुु पर्नेछ । यसका लागि सरकारको गतिमा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको लय एउटै बनाउन आवश्यक छ । यसका लागि हामी एकै ठाउँमा भेला भएका हौँ ।’
महानगरपालिकाले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि बढाएको लगानीबाट प्रतिफलको अपेक्षा गरेको छ । शिक्षा विभागका प्रमुख नमराज ढकालले भने, ‘विद्यालयमा विद्यार्थीहरुले सिक्ने स्वच्छताको अभ्यासले जीवनभर सकारात्मक नतिजा दिन्छ । यो पनि सिकाइको एउटा चरण हो ।’
कार्यक्रम कार्यान्वयनका लागि विद्यालयहरुमा बुक फ्री फ्राइडे अन्तर्गत बालबालिका र वातावरण (वाबा) उपसमूह गठन गरिएका छन् । समूहलाई नेतृत्व निर्देशन गर्न फोकल शिक्षक तोकिएको छ । श्रमप्रति सम्मान बोध गराउन, सामाजिकीकरण तथा सामाजिक उत्तरदायित्व सिकाउन, पर्यावरणको रक्षा गर्न, स्वच्छता सम्बन्धी जीवन उपयोगी सिप विकास गर्न यो उपसमूह निर्माण गरिएको हो ।
परियोजनाका फोकल पर्सन शिक्षा अधिकृत लक्ष्मी पौडेल भन्छिन्, ‘विद्यालय हाता, कक्षा कोठा, बगैँचा, शौचालयको सरसफाइ, फुलबारी बनाउने, हाताभित्र औषधिजन्य जडीवुटीका विरुवा रोप्ने, गमला राख्ने, आफ्नो कक्षा कोठा र आफूले उत्पादन गरेको फोहर आफैँ व्यवस्थापन गर्ने, विद्यालय हातालाई धुलोरहित बनाउने, भित्तामा चित्र बनाउने, प्रेरणादायी भनाइहरु लेख्ने जस्ता काम यस परियोजनामा विद्यार्थीहरुले नेतृत्व गर्छन् । आवश्यक सामग्री विद्यालयले उपलब्ध गराउँछ ।’



