अब हामीलाई कक्षाकोठाको क्रान्ति चाहिएको छ


काठमाडौँ /२८ मंसिर/- पछिल्लो समय विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षासम्म जति सुधार हुनुपर्ने थियो त्यति सुधार नभएको र नीतिका कारण शिक्षामा समस्या भएको सरोकारवालाहरूले भन्ने गरेको सुनिन्छ । अहिलेको पुस्ताले चाहेको शिक्षा दिन नसक्दा समग्र शिक्षा प्रणालीमा समस्या देखिएको टिप्पणी हुने गरेका छन् भने पाठ्यक्रम कार्यान्वयनमा समस्या देखिएको छ । यसै सवालमा रहेर काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइटेलसँग खबर एजुकेशनले गरेको संवाद :


अहिलेको पुस्तामा नैतिकता भएन विद्रोह गर्न थाले, कक्षाकोठामा शिक्षकले भनेको पनि नसुन्ने, आफ्नै ढंगका भए, अहिलेको शिक्षा ठिक भएन त्यस कारणले विद्यार्थी पनि बिग्रदै गए भनेर शिक्षा माथि नै दोष थोपर्ने गरेको पाइन्छ, यसरी शिक्षा माथि नै दोष थोपर्नु ठिक हो ?


कक्षाकोठालाई राम्रो बनायौँ, डेमोक्रेटिक बनायौँ भने त्यहाँ भित्र सबै कुरा हुन्छ । त्यस भित्र नै वादविवाद हुन्छ, छलफल हुन्छ, ज्ञान निर्माण हुन्छ । काक्षाकोठाको शिक्षण सिकाई क्रियाकलाप विद्यार्थीको इच्छा आकाङ्क्षा, उमेर समूह अनुसार मुखरित नभएरै यस्तो भएको होला ।


यसको जिम्मेवार को हुने ?


यसको जिम्मेवार समग्र प्रणाली हो । हामी सबै हौँ, हामीले कक्षाकोठालाई रुपान्तरणमुखी, लोकतान्त्रिक र विद्यार्थीका कुरा पनि सुन्ने ढंगले गएको भएदेखि सायद सडकमा कोही पनि आउँदैन थिए होला ।


प्रणालीका कुरा गर्दै गर्दा यहाँले औलाएका कुरा अनुसार हाम्रा विद्यालय वा विश्वविद्यालय फेलियर हुँदै गएका हुन् ?


त्यसरी पुरै फेलियर भन्न सकिदैन तर हामीले बढ्दो आकाङ्क्षा पुस्तान्तरणमा जुन समस्या छ, आकाङ्क्षा छ, त्यसलाई सम्बोधन गर्न नसकेकै हो ।


अब त्यसलाई सम्बोधन कसरी गर्ने ?


यो सहज छ, हामीले पढाउने भन्दा पनि हाम्रो पुस्ताले सिक्नु पर्छ भन्छु । गएको पुस्ताबाट अथवा आगामी पुस्ताबाट हामीले सिक्ने कुरा धेरै होलान, त्यो सिकाई तिर हामीलाई उद्धत गर्नु पर्यो भन्ने कुरा मलाई लाग्छ ।


त्यसो भए हामीले शिक्षामा फड्को मार्न शिक्षामा पनि क्रान्ति आवश्यक छ भनेर भनियो भने त्यो ठिक हुन्छ ?


क्रान्ति भन्नले डांगडुगँ गर्ने क्रान्तिले शिक्षामा केही परिवर्तन ल्याउँदैन । धेरै हेरि सक्यौ । हामीलाई कक्षाकोठाको क्रान्ति चाहिएको छ, त्यस्तो शिक्षक चाहिएको छ, त्यस्तो व्यवस्थापक चाहिएको छ, त्यस्तो प्राध्यापक चाहिएको छ, त्यस्तो कक्षाकोठा चाहिएको छ, त्यस्तो उपकुलपति चाहिएको छ, त्यहाँबाट सुधार हुन्छ भन्ने मलाई लाग्छ ।


फेरी पाठ्यक्रममा गतिलो कुरा लेखेर मात्रै हुँदैन । हाम्रो पठन संस्कृति, विश्वविद्यालयको संस्कृति, स्कुलको संस्कृति पनि महत्वपूर्ण हो । एक जना विलियम डवल भन्ने विद्वान्ले पाठ्यक्रम, सिकाई भनेको संस्कृति र कुराकानी हो भन्नु भएको छ । त्यसैले तपाईले के लेख्नु हुन्छ, के किताब लिएर जानु हुन्छ भन्दा पनि त्यो कसरी कक्षाकोठामा जान्छ, कस्तो संस्कृतिले त्यसलाई मूल्याङ्कन गर्छ भन्ने पनि हो । कण्ठ गर्ने संस्कृतिले गर्यो भने त्यो अर्कै बन्छ, होइन त्यो छलफल गर्ने वा प्रश्नोत्तर गर्ने संस्कृतिबाट अगाडी बढ्यो भने त्यो अर्को बन्छ । त्यसकारण कस्तो संस्कृति हामीले निर्माण गर्ने भन्ने कुरा हो ।


अहिले सबै भन्दा ठुलो कुरा विश्वविद्यालयको व्यवस्थापन हो । अरू कुरा पनि आउँलान, तर पाठ्यक्रमको सहि सदुपयोगको कुरा, ज्ञान निर्माणको कुरा, नैतिक शिक्षाका कुरा, यो लेखेर भनेर मात्रै हुँदैन अभ्यास गरेर हुन्छ । ठुलाहरूलाई नैतिक नचाहिने अनि केटाकेटीहरूलाई नैतिक अभ्यास गर्नु पर्यो भन्ने कुरा हुँदैन ।

भनेपछि पाठ्यक्रम राम्रो भएर मात्रै भएन, कक्षाकोठामा जुन अन्तरक्रिया हुनुपर्ने हो त्यो संस्कार नै निर्माण गर्न आवश्यक छ ?


विद्यालय शिक्षामा पनि पाठ्यक्रम खराब छैन, राम्रै छ, तथापि त्यसको सही सदुपयोग भएन । किनभने हामीले इन्ट्रिग्रेडेड पाठ्यक्रम भन्याँै, धेरै शिक्षकहरूले विषय विषयमा पढाई रहनु भएको छ । हामीले प्रोजेक्ट बनाएर पढाउनु पर्यो, विद्यार्थीहरूलाई पार्टिसिपेटरी बनाउनु पर्यो भन्दा खेरी पनि फेरी पुरानै ढंगले पाठ दोहो¥याएर तेह¥याएर पढाई रहनु भएको छ । जहाँ विद्यार्थीको सहभागिता खोज्यौँ त्यहाँ विद्यार्थीलाई सहभागिता गराउन सकिएको छैन । किनभने राम्रो कुरा बनाए पनि न्यून कार्यान्वयन भएको छ । त्यो अहिले मात्रै होइन धेरै पहिला देखिनै । २०२८ सालमा पनि त्यही हो । २०४६ सालपछिको परिवर्तन पछिका पाठ्यक्रम न्यून कार्यान्वयनमा गए, बढी देखाउने कार्यान्वयन भए । हृदयदेखिनै वास्तवमा यसरी गर्नपर्ने भन्ने भएन । त्यसमा प्रणाली पनि जिम्मेवार त्यत्तिकै छ । किनभने प्रणालीले पनि एउटा डकुमेन्ट लेखिदियो, एकथान डकुमेन्ट लेखेर विद्यालयमा पठाईदियो, त्यत्ति भए पुग्यो ।


प्रणालीलाई के गरे ती विषयलाई सम्बोधन गर्न सकिन्छ ?


सिस्टम भनेको मान्छे नै हो । मान्छे ठिक हुनु पर्यो त्यत्ति हो ।


पाठ्यक्रम बनेर कार्यान्वयन गर्न नसक्नु भनेको मान्छे बेठिक भएको कारणले हो ?


मान्छे मात्रै होइन, हाम्रो संस्कृति, अपेक्षा, मूल्य मान्यतामा ह्रास आएको छ । हामीमा काम गर्ने, मेहेनत गर्ने बानी छैन । कम मेहेनत गर्ने नेपाली समाज भएका छौँ । त्यही भएको हो । काम बाहेक हामी सबै गर्छौ, कुरा त गज्जबले गर्छौ, त्यसैले त समाज बिग्रियो ।


अहिलेको पुस्ताले चाहेको जस्तो शिक्षा दिनका लागि विद्यालय तहदेखी नै कस्तो शिक्षा दियौँ भने त्यो पुस्ताले खोजेको जस्तो शिक्षा दिन सक्छौँ ? करेक्सन कहाँ कहाँ गर्नु पर्ला ?


हाम्रो शिक्षा सिकाईसँग जोडिनु पर्यो । धेरै परीक्षासँग मात्रै जोडियो, सिकाईले नै सबै ठिक पार्छ । सिकाई भनेको के हो भने, म शिक्षक पनि सिकौैँ, विद्यार्थी पनि सिक्छन्, मैले सिके भने विद्यार्थीले सिक्छन् भन्ने हुनु पर्यो ।


भनेपछि शिक्षकले सिक्ने सिकाउने सँगै गर्नु पर्यो ?


हो विद्यार्थी सँग मिलेर गरियो भने त गज्जबै भै हाल्छनी । विद्यार्थीले पनि सिक्छ । हाम्रो सर म्यामले पनि सिक्नु हुँदो रहेछ म पनि सिक्छु भन्छन । सर म्यामले सिक्नु नपर्ने अनि विद्यार्थीले गज्जबले सिक्नु पर्ने, धेरै धेरै ठुला ठुला कुरा जान्न पर्ने मैले केही नजाने पनि हुने भनेर त कहाँ भयो र ।


तर धेरैले सही नीति नहुँदा सही शिक्षा दिन सकेनौ भन्नु हुन्छ ?


मलाई त्यस्तो लाग्दैन, नीति सबै खराब छ जस्तो लाग्दैन । नीतिको सहि प्रयोग भयो की भएन, को कसले गर्नुपर्ने, त्यो शिक्षकले मात्रै गर्नुपर्ने पनि होइन होला, तर सबैले गर्नुपर्छ । नीति नै बेठिक भन्ने होइन ।


यसलाई अझै प्रस्ट पारिदिनु न ।


जस्तै पाठ्यक्रम भनिन्छ भने पाठ्यक्रम एक पटक पल्टाएर सबैलाई पढ्न लगाउन त । मेरो विचारमा पाठ्यक्रम ठिकै छ । हो कही कही मिलेको छैन, तर नमिलेको के हो ? अभ्यास गरेर भन्न पर्यो । मैले अभ्यास गरेर मेरो पाठ्यक्रम ठिक छकी छैन भन्न पर्यो नी, अभ्यास नै नगरेर कहाँबाट हुन्छ ।