प्राविधिक धारलाई एकीकृत गर

नवलपरासी पूर्व/२७ मंसिर – नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक पालिका, एक प्राविधिक धार नीति अन्तर्गत विद्यालय तहमा सञ्चालन गरिएका कक्षा ९–१२ का विभिन्न प्राविधिक धारहरूमा गरेको अर्बौ लगानी बालुवामा पानी खन्याए सरह भएको छ । ४८ कोटा निर्धारण गरेर सञ्चालन अनुमति प्रदान गरिएका प्राविधिक धारका कक्षाहरू साधारण धार चलेका विद्यालयमा सञ्चालन गर्दा न त प्राविधिक धारको गुणस्तरमा सुधार आएको छ न साधारण धारको शैक्षिक उपलब्धि राम्रो छ ।


विद्यार्थीको चाप बढी भएका क्षेत्रमा ४८ कोटामा ५०० विद्यार्थी प्रवेश परीक्षा दिएर पनि अध्ययनबाट वञ्चित छन् भने ग्रामीण वस्तिमा चलाइएका प्राविधिक धारमा विद्यार्थी नै छैनन् । कक्षा ९ मा भर्ना भएका १५ जना मध्ये कक्षा १२ मा पुग्दा ४ जनामा सीमित भएका छन् । यसले राज्यले लगानी गरेको अर्बौ रुपैयाँ बालुवामा पानी खन्याए सरह भएको छ । यसलाई समयमै राज्यले सम्बोधन गरोस् ।


सर्वप्रथम त साधारण धारसँगै प्राविधिक धार एउटै विद्यालयमा सञ्चालन गर्नु उपयुक्त होइन । दोस्रो, निर्धारित कोटा नपुगेका विद्यालयको अनुमति रद्ध गर्नु पर्छ । यसो गर्दा प्राविधिक धार पढ्न चाहाने विद्यार्थीहरूका लागि एकीकृत रूपमा जिल्लामा बढिमा दुईवटा स्कुलहरू प्राविधिक धार मात्रै सञ्चालन गरि निःशुल्क आवासीय सुविधा सहित इच्छुक विद्यार्थीहरूले आफूले रोजेको प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था राज्यले गर्नु पर्छ ।


देशैभर जहाँ गएर पनि निःशुल्क पढ्न पाउने व्यवस्था गर्नु पर्छ । हाल सञ्चालनमा रहेका सिभिल, इलेक्ट्रीकल, कम्प्युटर, कृषि, मेकानिकल, खाद्य लगायतका प्राविधिक कक्षाहरू एउटै विद्यालयमा सञ्चालन गर्ने हो भने थोरै जनशक्तिले समेत धेरै कक्षाहरू सञ्चालन गरि राज्यको ढुकुटीको बचत हुने, नयाँ भवन निर्माण गर्नु नपर्ने (ल्याब बाहेक) ल्याब खर्च कम हुने, धेरै विद्यार्थीहरू सहभागी हुने, विद्यार्थीहरू पढ्नबाट वञ्चित नहुने, शिक्षक अनुदान, भौतिक संरचना, ल्याब आदिमा गरीने खर्च उपयोगी हुने, साधारण तथा प्राविधिक धारको पठनपाठनमा अवरोध नहुने आदि फाइदाहरू हुन्छन् र दक्ष जनशक्ति उत्पादनमा मद्धत पुग्ने हुन्छ ।


१०÷१२ जना विद्यार्थीका लागि सबै विषय शिक्षक, ल्याब, भौतिक संरचना आदिमा गरिने करोडौँ रकम एकीकृत विद्यालय निर्माण गरेमा वचत हुन्छ । पुरानै विद्यालयहरू मध्ये जिल्लाभरमा दुई वटा पायक पर्ने विद्यालय छनौट गरि कक्षा ९–१२ सञ्चालन गर्न उपयुक्त हुनेछ । प्राविधिक धार सञ्चालित विद्यालयमा हुने विषय गत र पिरियड सम्बन्धी विवाद समेत समाधान हुने देखिन्छ । यसतर्फ सरोकार वालाहरूको ध्यान जान जरुरी छ ।


कुसुम न्यौपाने, जनता माध्यमिक विद्यालय,(इलेक्ट्रीकल इन्जिनियरिङ प्राविधिक धार कक्षा ९–१२) अरुणखोला, (नवलपरासी पूर्व)