विराटनगर/२६ मंसिर – बालबालिकालाई अनुशासित, सुसंस्कृत, नैतिक र जिम्मेवार नागरिकका रूपमा विकसित गर्न घर परिवार, विद्यालय, सँगीसाथी, समुदाय र समाजका सबै पक्षको समान भूमिका रहन्छ । उनीहरूलाई विकृति, कुरीति, असामाजिक व्यवहार र अनुचित प्रभावबाट जोगाउन समुदायले सुरक्षित वातावरण निर्माण गर्नुपर्छ ।
सामाजिकीकरण प्रक्रियामा परिवार, आमा–बाबु, विद्यालय, स्थानीय समाज, सरकारी निकाय तथा विभिन्न संघ–संस्थाहरूको योगदान अविभाज्य रूपमा जोडिन्छ । यसैगरी सञ्चार माध्यम र सञ्चारकर्मीहरूले पनि सत्य, सकारात्मक र उत्तरदायी सामग्री प्रस्तुत गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।
बालबालिकाको वातावरण स्वस्थ नभए, समाजमा विकृति बढ्यो वा गलत सँगतको प्रभाव प¥यो भने उनीहरूमा सकारात्मक मूल्य–मान्यताहरू कमजोर हुँदै नकारात्मक प्रवृत्ति विकसित हुन थाल्छ । यस्तो अवस्था केवल उनीहरूको व्यक्तिगत भविष्यका लागि मात्र होइन, मुलुकको समग्र विकासका लागि पनि गम्भीर खतरा बन्न सक्छ ।
बाल–मनोविज्ञान कोमल हुन्छ; तिनलाई आघात पुर्याउने, भ्रमित पार्ने वा विद्रोही भावना भड्काउने खालका भिडियो, लेख वा डिजिटल सामग्रीको निर्माण र प्रसार कुनै पनि हिसाबले स्वीकार्य हुँदैन ।
यस कारण बालहितका विषयमा संलग्न अभिभावक, शिक्षक, समुदाय र सञ्चार गृह सबै सचेत, जिम्मेवार र संवेदनशील हुनु अपरिहार्य छ । बाल–मनोविज्ञान कोमल हुन्छ; तिनलाई आघात पुर्याउने, भ्रमित पार्ने वा विद्रोही भावना भड्काउने खालका भिडियो, लेख वा डिजिटल सामग्रीको निर्माण र प्रसार कुनै पनि हिसाबले स्वीकार्य हुँदैन । यस्ता सामग्रीले उनीहरूको मनमा अविश्वास, असुरक्षा र अराजकताको बीउ रोप्ने सम्भावना रहन्छ ।
“हाल केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘जेन–जेड आन्दोलन’ पछिको अवस्थालाई अतिरञ्जित रूपमा प्रस्तुत गर्दै “विद्यार्थीले शिक्षकलाई मान्दैनन्, विद्यालय जलाइदिन्छौँ” जस्ता अभिव्यक्तिहरू प्रयोग गरी समाचार सम्प्रेषण गरिनु दुर्भाग्यपूर्ण छ । यस्ता नकारात्मक सामग्रीहरूको अनियन्त्रित प्रचार–प्रसारले बालबालिकाको मनोविज्ञानमा पार्न सक्ने सम्भावित असरप्रति अपेक्षित संवेदनशीलता नदेखिनु चिन्ताको विषय बनेको छ ।“
यस्ता निराधार र अतिरञ्जित सामग्रीले बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थी–विद्यालय–शिक्षकबिच रहेको विश्वासको आधार नै भत्काइदिन्छ । समाजको शान्ति, शिक्षा क्षेत्रको गरिमा र बालबालिकाको भविष्यलाई जोखिममा पार्ने यस्ता गतिविधि निन्दनीय, गैर–जिम्मेवार र अत्यन्त खेदजनक छन् ।
यथार्थमा, बालबालिका काँचो माटो जस्तै हुन्, उनीहरूलाई जसरी ढालिन्छ, उनीहरू त्यस्तै बन्छन् । सबै बालबालिकाहरू स्वभावतः असल, जिज्ञासु र सिकाइप्रति समर्पित हुन्छन् । कुनै पनि ठूलो समूहमा १–२ जनाले अनुशासनहीन व्यवहार देखाउनु सामान्य कुरा हो; यसलाई आधार बनाई सम्पूर्ण बालबालिकालाई गलत रूपमा चित्रित गर्नु अन्यायपूर्ण र गैर–व्यावसायिक व्यवहार हो । लोकप्रियता हासिल गर्ने लोभमा उनीहरूलाई भड्काउने सामग्री बनाउनु त झन् समाजविरुद्धको गम्भीर अपराध हो ।
कुनै पनि ठूलो समूहमा १–२ जनाले अनुशासनहीन व्यवहार देखाउनु सामान्य कुरा हो; यसलाई आधार बनाई सम्पूर्ण बालबालिकालाई गलत रूपमा चित्रित गर्नु अन्यायपूर्ण र गैर–व्यावसायिक व्यवहार हो ।
यस किसिमका नकारात्मक डिजिटल सामग्रीले विद्यालय, विद्यार्थी र शिक्षकबिचको विश्वास कमजोर पार्न सक्छ र विद्यार्थीको स्वस्थ मानसिक विकासमा बाधा पु¥याउन सक्छ । शिक्षण–अधिगमको सार नै प्रेरणा, सुधार र मार्गदर्शन हो, र हरेक विद्यार्थीलाई सही दिशातर्फ अघि बढाउनु शिक्षक तथा विद्यालय समुदायको साझा दायित्व हो ।
अतः बालबालिकालाई भड्काउने, दिग्भ्रमित पार्ने, वा उनीहरूको मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामग्री निर्माण तथा प्रसारण कुनै पनि सचेत नागरिकले गर्नु हुँदैन, सञ्चार माध्यम त अझ बढी संवेदनशील हुनुपर्छ । बालबालिकाको हित, उज्ज्वल भविष्य र समग्र समाजको समृद्धि सुनिश्चित गर्न स्वस्थ, सकारात्मक र सहयोगी शैक्षिक वातावरण निर्माण गर्नु सबैको साझा कर्तव्य र जिम्मेवारी हो ।
(लेखक चिन्तामणि रिजाल, श्री जनता नमुना माध्यमिक विद्यालय, शंकरपुर, विराटनगर-२, मोरङका प्रधानाध्यापक हुन् ।)



