छात्रवृत्ति विवरण उपलब्ध गराउन संस्थागत विद्यालयलाई मन्त्रालयको निर्देशन

काठमाडौँ/२४ कार्तिक – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति विवरण पठाउन निर्देशन दिएको छ । भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने पर्ने नियम अनुसार विवरण पठाउन निर्देशन दिएको हो ।


छात्रवृत्ति पाएका विद्यार्थीहरूको नामावली देशभरका संस्थागत विद्यालयबाट सङ्कलन गरी पेस गर्न शिक्षा तथा मानव विकास केन्द्रलाई शिक्षामन्त्रीले निर्देशन दिएपछि शैक्षिक सत्र २०८०,२०८१ र २०८२ मा छात्रवृत्ति उपलब्ध गराएका विद्यार्थीको विवरण यथाशीघ्र उपलब्ध गराउन भनिएको छ ।


“विद्यालयले आ–आफ्ना विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने पर्ने नियम रहेछ । सो नियम अनुसार छात्रवृत्ति पाएका विद्यार्थीहरूको नामावली देशभरका संस्थागत विद्यालयबाट सङ्कलन गरी पेस गर्न शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुर लाई निर्देशन दिइएको छु । यदि कुनै विद्यालयले सो अनुसार छात्रवृत्ति प्रदान गरेका छैनन् भने नियमानुसार छात्रवृत्ति दिनु पर्नेछ” शिक्षामन्त्री पुनले भने ।