काठमाडौँ/२३ कार्तिक – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा शुक्रवार भव्य विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।
प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट प्रविधि, कृत्रिम बुद्धिमत्ता ९एआई०, वातावरण संरक्षण, ऊर्जा स्रोतहरूको उपयोग र आधुनिक घर निर्माण प्रविधिसँगै हाइड्रो पावरको नमुना परियोजना प्रदर्शन गरेका थिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक दृष्टिकोणको प्रशंसा गर्दै विद्यार्थीहरूले प्रस्तुत गरेका परियोजनाहरूले उनीहरूमा लुकेको नवप्रवर्तनशील सोच र आविष्कार गर्ने क्षमता प्रस्ट रूपमा देखाएको बताए । हाइड्रो पावर र एआई प्रविधिमा आधारित परियोजनाले हाम्रो भविष्यको ऊर्जा र प्रविधि सम्भावना उजागर गरेको उनको भनाई थियो ।
प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना परियोजनाहरूको कार्यविधि, प्रयोग र व्यवहारिक प्रभावबारे विस्तृत व्याख्या गरेका थिए । विद्यार्थीहरूले सानो टर्बाइन, पानीको प्रवाह र विद्युत् उत्पादन प्रक्रियाको वास्तविक प्रदर्शन गरेर ऊर्जा उत्पादनको वैज्ञानिक सिद्धान्तलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए ।
नेक्सस इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनीले विद्यार्थीहरूको वैज्ञानिक र सिर्जनात्मक क्षमतालाई उजागर गर्दै, उनीहरूलाई भविष्यमा विज्ञान, प्रविधि र ऊर्जा विकासका क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको विद्यालयले जनाएको छ ।



