जरी सूचना लक्षित शिक्षामन्त्रीको प्रस्टिकरण : ऐन कानुनका धारा पनि हेर्नुहोला

काठमाडौँ/२४ कार्तिक – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने बताएका छन् । कार्तिक २३ गते जारी सूचनालाई प्रस्ट पार्दै राजनैतिक पार्टीहरूको संरक्षणमा विद्यालयहरू र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा अड्चन पुर्‍याउन र विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न नपाईने भनिएको उनको भनाई छ ।


साथै त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार भएको उल्लेख गर्दै सो सम्बन्धी सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरू पनि हेर्न आग्रह गरेका छन् ।
मन्त्री पुनले फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्न समेत अनुरोध गरेका छन् ।


उनले भनेका छन् “मैले हिजो जारी गरेको सूचनाको बारेमा – संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन । तर राजनैतिक पार्टीहरूको संरक्षणमा विद्यालयहरू र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा अड्चन पुर्‍याउनु र विद्यार्थीहरूको भविष्य सँग खेलबाड गर्न पाईने छैन भनेर सूचना गरेको हो । सिटिइभिटीमा, विद्यालयहरूमा र विश्वविद्यालयहरूमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरू र अविभावकहरूको हजारौँ गुनासो र उजुरी सुनेर सो सूचना प्रकाशित गरिएको हो । त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो । सो सम्बन्धी सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरू पनि हेर्नुहोला । अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ । “नबिराउनु नडराउनु“ भन्ने नेपाली उखान छ नि त ।”