काठमाडौं/८ असोज – गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा गरिएको आक्रमणबाट विद्यालयका ५ वटा भवनमा तोडफोड, लुटपाट, आगजनी गरिएको र बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर पनि ध्वस्त पारिएको जनायएको छ ।
युलेस फाउन्डेसनले जारी गरेको वक्तव्यमा किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएको उल्लेख छ ।
१ हजार ४ सय ६१ जना विद्यार्थीहरू अध्ययनरत रहेको साथै ५ सयभन्दा बढी शिक्षक कर्मचारी कार्यरत रहेको उक्त स्कुलको आन्दोलनबाट विद्यालयमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको फाउन्डेसनले जनाएको छ । आगजनीमा युलेन्सका ८३ वटा बसहरू जलाइएका थिए । विद्यालयका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिए वा जलाइए ।
फाउन्डेसनले सार्वजनिक वक्तव्यमा भनेको छ, ‘यो आगोबाट बीभत्स रूपमा खरानी बनाइएको युलेन्सको विस्तारित समुदायको संवेग, अनुभव र जीवन कसरी बौराउने भन्ने संगीन र कारुणिक मोडमा हामी उभिएका छौँ ।’
युलेन्समा आक्रमण गर्नुको प्रमुख कारण तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणाको लगानी रहेको वा उनकै नाम जोडिनु देखिएको छ । तर फाउन्डेसनले भने आरजुको विद्यालयमा कुनै पनि लगानी नरहेको र सार्वजनिक भएको हिसाबले मानार्थरुपमा अध्यक्ष पद दिइएको स्पष्ट पारेको छ ।
‘विद्यालय युलेन्स एजुकेसन फाउन्डेसनले सञ्चालन गर्छ । युलेन्स एजुकेसन फाउन्डेसनमा डा. आरजु राणा देउवाको स्वामित्व कहिल्यै थिएन, न त यो केही व्यक्तिविशेषको नाफा कमाउने निजी कम्पनी नै हो । यो त मुनाफा वितरण नगर्ने कम्पनी हो । कम्पनी ऐनमै मुनाफा वितरण नगर्ने कम्पनी बन्द हुँदाको बखत त्यसका सारा सम्पत्ति राज्यको हुने प्रष्ट व्यवस्था गरिएको छ’ सार्वजनिक गरिएको वक्तव्यमा भनिएको छ ।
यसैगरी समाजका केही स्वार्थी र प्रतिशोधी मानिसहरूले योजनाबद्ध रूपमा ईष्र्या, पूर्वाग्रह र कुत्सित मनसायका साथ फैलाइएका गलत, मिथ्या र तथ्यहीन समाचार, सूचना र अफवाहको परिणाममा देशको एउटा गौरवमय शैक्षिक धरोहरलाई संवेदनाहीन, चेतनाहीन वितण्डाको सिकार बनाएर ढलाइएको जनाएको छ ।
हेर्नुहोस सार्वजनिक गरिएको वक्तव्य
घटना विवरण
जेन–जीका नाममा आह्वान गरिएको “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको आन्दोलन गत सेप्टेम्बर ८ का दिन शान्तिपूर्ण प्रदर्शनसहित सुरु भएको थियो । जेन–जीले आह्वान गरेको आन्दोलन शान्तिपूर्ण हुने भनिएको र संसारभर नै विद्यालयलाई शान्तिक्षेत्रका रूपमा स्वीकार गरिने भएकाले उक्त दिन युलेन्स एजुकेशन फाउन्डेशन अन्तर्गतका खुमलटार र बाँसबारीस्थित विद्यालयहरूमा सदाझैं पठनपाठन क्रियाकलाप सञ्चालनमा थिए ।
जेन–जीको आह्वानमा आयोजित आन्दोलनमा दिउँसो दुई बजेतिर गोली चलेको र विद्यालय/कलेजको पोसाकमा रहेकासहित कम्तीमा १९ जना विद्यार्थी, युवाहरूको ज्यान गएका निकै पीडादायी र त्रासदीपूर्ण खबरहरू सार्वजनिक हुन थालेपछि र राज्यले निश्चित क्षेत्रहरूमा कफ्र्यु आदेश जारी गरेपछि युलेन्सलाई आफ्ना विद्यालयहरूमा रहेका १,४०० भन्दा बढी विद्यार्थी र ५०० भन्दा बढी शिक्षक, कर्मचारीलाई सुरक्षित रूपमा घर फर्काउने चुनौतीलाई पार लगाउन रातको ९.३० बजेसम्म लाग्यो ।
सेप्टेम्बर ९ का दिन आन्दोलनको आवरणमा देशलाई अकल्पनीय विध्वंसको प्रयोगशाला बनाइयो । जेन–जीको शान्तिपूर्ण भनिएको आन्दोलनलाई समेत बदनाम तुल्याउने गरी देशभर जेजस्तो विध्वंस मच्चाइयो, त्यसमा देशका ऐतिहासिक सार्वजनिक सम्पत्तिसहित निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी गरेर खरानी बनाइयो ।
त्यही विध्वंसको शृंखलामा सेप्टेम्वर ९ को दिन विहान ११.०० बजेतिरबाट युलेन्स एजुकेशन फाउन्डेशनद्वारा सञ्चालित ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीस्थित सुन्दर विद्यालय भवनहरूमा लुटपाट मच्चाइयो, तोडफोड गरियो र आगो झोसियो । विभिन्न बहानामा शिक्षा क्षेत्रलाई आन्दोलनको तारो बनाउँदासमेत विद्यार्थीको निर्बाध पढ्न पाउने हकका पक्षमा सदैव उभिँदै आएको विद्यालयले सेप्टेम्बर ९ मा समेत भौतिक रूपमा पठनपाठन सम्भव नभएपछि अनलाइन कक्षा सञ्चालन गरिरहेको थियो । त्यही कक्षाकै बीचमा युलेन्स स्कुलहरूमाथि गरिएकोे बीभत्स, दर्दनाक र अकल्पनीय विध्वंसको खवरले अनलाइन पठनपाठनमा सामेल विद्यार्थी र शिक्षकहरूबीच भयानक त्रासदी र कोलाहल मच्चियो ।
युलेन्स स्कुलका भवनहरू केवल भौतिक संरचनाहरू मात्रै थिएनन्, बितेका २० वर्षमा त्यहाँ हजारौं विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीको आत्मा जोडिएको थियो । उनीहरूले त्यहीँको कक्षामा आफ्ना स्वर्णिम दिनहरू बिताएका छन् । लाइब्रेरी कोठामा पुस्तक चुमेका छन् । क्याफेटेरियाको हलमा खाना खाएका छन् । स्नेही र उत्प्रेरित कक्षाकोठाहरूमा निश्छल हाँसो, उत्साह र ऐठनहरू गुन्जाएका छन् । अघिल्लो दिनको हतारो र चापमा उनीहरूका किताब स्कुलकै दराजमा थन्किएका थिए । स्टेशनरी र पाठ्य सामग्री त्यहीँ राखिन्थे । विद्यार्थी अभिलेखहरू त्यहीँ थिए । उनीहरूका प्रमाणपत्रहरू त्यहीँ थिए । समग्रमा एउटा विस्तारित युलेन्स परिवारको आत्मा त्यहीँ थियो । सेप्टेम्बर ९ मा युलेन्सको भवनमा होइन, युलेन्सको विस्तारित परिवारको आस्था, समर्पण र जीवनमा आगो दन्काइयो र खरानी बनाइयो ।
आगो लगाइएका भवनहरू फेरि पनि उभिएलान् । आगो लगाएर उराठलाग्दो बनाइएका अध्ययनार्थी बालबालिका चढ्ने गाडीहरू हामी बदलौंला । तर, यो आगोबाट बीभत्स रूपमा खरानी बनाइएको युलेन्सको विस्तारित समुदायको संवेग, अनुभव र जीवन कसरी बौराउने भन्ने सङ्गीन र कारुणिक मोडमा हामी उभिएका छौं ।
क्षति विवरण
खुमलटारस्थित हाम्रो विद्यालयका ५ वटा भवनमा, बाँसबारीस्थित विद्यालयका ३ वटा भवनमा र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा जघन्य र आपराधिक तवरमा तोडफोड, लुटपाट र आगजनी गरेर ध्वस्त बनाउँदा युलेन्सका विद्यालयहरु, युलेन्स कलेज, युलेन्स सेन्टर फर एजुकेटर डेवलपमेन्ट जस्ता सारा संस्था र संरचनाहरु पूर्ण रूपमा शून्यमा पु¥याउने काम गरियो । आगजनीबाट विद्यालयका ८३ वटा गाडीलाई ध्वस्त बनाइयो । विद्यालयका सबै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर या त जलाइएका छन् या लुटिएका छन् । विद्यार्थीका सबै घटनावृत्त तथा सञ्चित अभिलेखलाई पूर्ण रूपमा खरानी बनाइएको छ । किन्डरगार्टेनदेखि आई.बी. डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीका लकरहरूमा रहेका पुस्तक तथा स्टेशनरीहरू जलाइएका छन् । विद्यालय जोकोहीको मुटु नै काँप्ने गरी खण्डहर बनेको छ ।
उक्त आपराधिक विध्वंसले विद्यालयको १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक एवं अपरिमेय मानसिक र सामाजिक प्रतिष्ठाको क्षति गर्दै १,४६१ विद्यार्थीको भविष्यमाथि गहिरो अन्धकार खन्याएको छ र अनिश्चितताको गर्तमा डुबाइदिएको छ भने ५०० भन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर गरेको छ । विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, विस्तारित युलेन्स समुदाय, बोर्ड अफ ट्रस्टी, व्यवस्थापन समिति सबैको संवेगात्मक, भावनात्मक र मनोवैज्ञानिक आघातको कुनै लेखाजोखा छैन । अविच्छिन्न तवरमा विगत २४ वर्षदेखि समर्पित तपस्यामय यत्नबाट खडा भएको एउटा विश्वस्तरीय ज्ञानशाला खरानीमा बदलिएको छ र शून्यमा झरेको छ । यो असीम चोट, आर्तनाद र शून्यताको विवरण साझा गरिरहँदा युलेन्स परिवारको मुटु काँपिरहेको छ, मन भक्कानिएको छ, आत्मा रोएको छ ।
अफवाहको शिकार
समाजका केही स्वार्थी र प्रतिशोधी मानिसहरूले योजनाबद्ध रूपमा ईष्र्या, पूर्वाग्रह र कुत्सित मनसायका साथ फैलाइएका गलत, मिथ्या र तथ्यहीन समाचार, सूचना र अफवाहको परिणाममा देशको एउटा गौरवमय शैक्षिक धरोहरलाई संवेदनाहीन, चेतनाहीन वितण्डाको सिकार बनाएर ढलाइएको छ । राजनीतिमा आबद्ध कुनै व्यक्ति व्यवस्थापन समितिमा रहेकै कारण प्रतिशोध साध्दै तिनै राजनीतिक व्यक्तिले पैसा कमाउन खोलेको विद्यालय हो भन्ने भाष्य निर्माण गरेर सिङ्गो समाजलाई मिथ्या सूचना र अफवाहको बन्धक बनाउने स्वार्थी तत्वले युलेन्समाथि यो तहको विध्वंस मच्चाएको हो भन्नेमा कुनै द्विविधा छैन ।
युलेन्स एजुकेशन फाउन्डेशनमा डा. आरजु राणा देउवाको स्वामित्व कहिल्यै थिएन, न त यो केही व्यक्तिविशेषको नाफा कमाउने निजी कम्पनी नै हो । यो मुनाफा वितरण नगर्ने कम्पनी हो । आजका दिनमा सबै निजी विद्यालयलाई मुनाफा वितरण नगर्ने कम्पनीमा लैजानुपर्ने बहस संसद् र सार्वजनिक डबलीहरूमा चलिरहेका सन्दर्भमा २० वर्षअघि नै युलेन्स “शिक्षा व्यापारको विषय होइन, यो सामाजिक प्रतिष्ठाको समर्पण हो” भन्ने अवधारणामा प्रस्ट भएरै मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको थियो । यसर्थ मुनाफा वितरण नगर्ने कम्पनीमा कसैको व्यक्तिगत लगानी हुँदैन र कोही सेयरहोल्डर रहने कुरै रहेन । कोही सेयरहोल्डर नरहेपछि कसैले मुनाफा लाने कुरा पनि रहेन । कम्पनी ऐनमै मुनाफा वितरण नगर्ने कम्पनी बन्द हुँदाको बखत त्यसका सारा सम्पत्ति राज्यको हुने प्रस्ट व्यवस्था छ । यो यथार्थलाई हाम्रा सार्वजनिक सञ्चारमाध्यम, नागरिक समाज, बौद्धिक समुदाय र विद्यालयलाई नजिकबाट चिनेका अभिभावकहरूले समेत सार्वजनिक रूपमा अभिव्यक्त नगरिदिँदा आज विद्यालयमाथि यो स्तरको आक्रमण भयो ।
विद्यालय स्थापनाको इतिहास
बेल्जियन नागरिक मिरियम युलेन्स कुनै सन्दर्भमा नेपाल आउनुभयो । गरिबीको चरम मारमा परेर सडकमा पुगेका, अभिभावक जेलमा परेका कारण बिचल्लीमा परेका, दरिद्रताको मार खेपेका बालबालिकाका मुहारमा तैबिसेक गतिलो सहयोग जुटाएर खुसी फर्काउन सकिन्छ कि भनेर उहाँले सन् नब्बेको दशकको सुरुआततिरबाट हृयाप्पी होम नामको बालगृह सुरु गर्नुभयो ।
पोखरास्थित नन–प्रफिट स्कुल, गण्डकी बोर्डिङमा छात्रवृत्तिमा पढेर क्याम्पस पढ्न काठमाडौं उत्रिनुभएका गोरखाको ग्रामीण परिवारका सन्तान सोम पनेरुको सम्पर्क अमेरिकन नागरिक र प्रख्यात मानवसेवी ओल्गा मुर्रेसँग भयो । ओल्गाले खोलेको “नेपाल युथ फाउण्डेसन” संस्थासँग आबद्धतासँगै पनेरुको सामाजिक कार्यमा एकाग्रता रह्यो । बालगृहमार्फत अवसरबाट वञ्चित बालबालिकालाई शिक्षादीक्षा दिने र आर्थिक दुरवस्थाको मारमा परेर शिक्षामा पहुँच नभएका बालबालिकालाई छात्रवृत्ति दिएर पढाइमा जोड्ने अभियानमा पनेरु समर्पित हुनुभयो । त्यही सन्दर्भमा नेपालमा निकै कम बस्ने मिरियम युलेन्सले सोध्दैखोज्दै सन् १९९६ मा भेटेर हृयाप्पी होमको पनि व्यवस्थापन हेरिदिन पनेरुलाई प्रस्ताव गरेपछि मिरियम युलेन्ससँगको सहकार्य अघि बढ्यो। मिरियमका श्रीमान् विश्वस्तरीय व्यवसायी, कला सङ्कलक, परोपकारी व्यक्ति गाई युलेन्ससँग पनेरुको सम्बन्ध विस्तार भयो । कमाएको धन समाजको हितमा खर्चनुपर्छ भन्ने सिकाइबाट अभिप्रेरित गाई सधैंभरि सामाजिक योगदानका उपयुक्त अवसरहरू अन्वेषण गरिरहनुहुन्थ्यो । त्यही मेसोमा पनेरुसँग गाई युलेन्सले प्रस्ताव गर्नुभएको थियो— सोम, म नेपालमा शिक्षा क्षेत्रमा नवीनतम् योगदान गर्न चाहन्छु ।
गाई युलेन्सको नेपालको शिक्षा क्षेत्रमा केही योगदान गर्ने अभिलाषाको सारथी बन्दै पनेरुको पहलकदमीमा सन् २००१ मा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मासँग गाई युलेन्सको भेटघाट भयो । त्यसैको परिणाममा केयुमा गाई युलेन्सको दातव्यबाट ‘डिपार्टमेन्ट अफ बायोटेक्नोलोजी’ स्थापना भयो । बालकल्याणको क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका सोम पनेरुका मनमा आफ्नो बालक्षेत्रमा काम गरेको अनुभव र सिकाइका कारण समाजप्रति उत्तरदायी एउटा उच्चस्तरीय र आधुनिक शिक्षा प्रदान गर्ने बालमैत्री विद्यालय सञ्चालन गर्ने हुटहुटी जन्मिएको थियो । त्यो अभिलाषालाई आकार दिन गाई युलेन्ससँग सहयोगको लागि अनुरोध गर्नुभयो ।
सोम पनेरुले देखेको सपनामा गाई युलेन्सको सहमति भयो । यिनै दुई स्वप्नजीवीको जुगलबन्दीले अन्तर्राष्ट्रिय स्तरको बालमैत्री शैक्षिक संस्था स्थापनाको पदमार्ग तयार भयो । त्यही उद्धेश्यलाई आकार दिन सार्वजनिक विद्यालय व्यवस्थापनमा लिएर सञ्चालन गर्न आनन्दकुटी, महेन्द्रभवन, महेन्द्र आर्दश विद्यालय, कीर्तिपुर ल्याब स्कुलहरूसँग अनेकन् चरणका प्रस्तावसहित छलफल चल्यो । तर, त्यो प्रयास अगाडि बढ्न सकेन ।
विद्वान सुरेशराज शर्माले विभिन्न शैक्षिक संस्था र विश्वविद्यालय खडा गरेको अनुभवसमेतको आधारमा समस्याग्रस्त अवस्थामा रहेका विद्यालयहरु लिएर सुधार्ने काममा समय र स्रोत खर्चनुभन्दा शुन्यबाट शुरु गरेर नयाँ संस्था सिर्जना गर्नु छिटो, छरितो र प्रभावकारी हुने सुझाव दिनुभयो । यसै सल्लाह मुताविक गाई युलेन्स, ओल्गा मुर्रे र सोम पनेरुको सल्लाहमा नयाँ विद्यालय खोल्ने निर्णय भयो ।
युलेन्सले सोम पनेरुलाई विद्यालय सञ्चालनका लागि स्थानीय आवश्यकताहरूको समन्वय गर्ने जिम्मा दिनुभयो । ओल्गा मुर्रेलाई अमेरिकामा रहेका प्रतिष्ठित शैक्षिक संस्था पहिचान गर्न भन्नुभयो, जहाँ नयाँ विद्यालयको भावी प्राचार्य, शिक्षकहरुलाई शिक्षण विधिबारे तालिम गर्न र पढ्न पठाउन सकियोस् । यसै क्रममा सोम पनेरुलाई भविष्यमा बनाइने प्राचार्य पहिचान गर्न भनियो । ओल्गा मुर्रेले न्यूयोर्कस्थित बैंक स्ट्रीट कलेजसँग सम्पर्क स्थापित गर्नुभयो र सोम पनेरुले भावी प्राचार्यका रुपमा मेदिन बहादुर लामिछानेलाई चयन गर्नुभयो । सन् २००३ मा मेदिन लामिछानेलाई “मास्टर्स इन एजुकेसन लिडरशीप” पढ्नका लागि अमेरिका पठाइयो ।
विद्यालयलाई आर्थिक रुपमा बलियो बनाउन विद्यालय संचालन मोडल तयार गर्ने क्रममा नेपाली तथा विदेशी विभिन्न विद्वान एवं समाजसेवीहरुसँग घनिभूत छलफल शुरु भयो । त्यसक्रममा विद्यालयलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि हुनेहरूसँग शुल्क लिने र कम हुने वा नहुनेलाई त्यसैबाट पुर्ताल गर्ने अवधारणा विकास गर्दै विद्यालयमा ८० प्रतिशतसँग शुल्क लिने र २० प्रतिशत आय नै नभएका या न्यून आय भएका या सामान्य आय भएका परिवारका बालबच्चालाई छात्रवृत्ति दिने मोडल तयार भयो । जो आजपर्यन्त निरन्तर छ ।
त्यसरी विद्यालय सञ्चालन गर्न सन् २००६ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा युलेन्स एजुकेसन फाउण्डेशन दर्ता भयो । युलेन्स एजुकेशन फाउण्डेशनको नाम उनै परोपकारी व्यक्तित्व मिरियम युलेन्स र गाई युलेन्सको पारिवारिक नामबाट राखिएको थियो । विद्यालय स्थापनार्थ उहाँहरुको उदारता, कर्मशीलता र सहायताप्रतिको कृतज्ञता पनि थियो यो । फाउण्डेशन दर्ताको क्रममा पाँचजना ट्रस्टी रहने गरि सोम पनेरुको नेतृत्वमा बोर्ड अफ ट्रस्टी गठन भएको थियो ।
अमेरिका पढ्न पठाइएका प्राचार्य मेदिन बहादुर लामिछाने सन् २००४ मा फर्किनुभयो । उहाँले आफुले पढेको शिक्षाको अनुभवमा टेकेर बालमैत्री प्रगतिशील शिक्षालाई केन्द्रमा राखेर नवोदित विद्यालयको प्राज्ञिक खाका तयार गर्नुभयो । सेप्टेम्बर २००५ मा पहिलो समूहको शिक्षक लिएर समिट होटलको हलमा तालिम शुरु भयो ।
विद्यार्थीका लागि बाहिर भर्नाको विज्ञापन गरिएको थिएन । ह्याप्पी होम र नेपाल युथ फाउण्डेशनले संचालन गरिरहको बालगृहका बालबालिका समेटेर युलेन्स एजुकेसन फाउण्डेशनले सन् २००६ अप्रिलमा युलेन्स स्कुल खडा गरि खुमलटारमा कक्षा संचालन आरम्भ भयो । जसको औपचारिक उद्घाटन तत्कालीन शिक्षामन्त्री प्रा.डा. मङ्गलसिद्धि मानन्धरबाट ११ नोभेम्बर, २००६ मा भयो ।
सन् २००७ देखि समुदायका नयाँ विद्यार्थीलाई पनि भर्ना खुला गरियो । १२० जना बाहिरबाट शुल्क तिर्ने गरि विद्यार्थी भर्ना लिएर बाँकी बालगृहकै बालबालिकासहित कक्षा सञ्चालन गरियो । युलेन्सको जग यही हो । युलेन्सको यथार्थ यही हो ।
त्यही जगबाट उठेर युलेन्स पछिल्ला दिनहरुमा विश्वविद्यालय बन्ने बाटोमा अग्रसर थियो । स्थापनाकालदेखि नै सोम पनेरुको नेतृत्वमा युलेन्स एजुकेसन फाउण्डेशनको बोर्ड अफ ट्रस्टीमा रहेका व्यक्तित्वहरु, विद्यालयको शैक्षिक नेतृत्व गर्ने प्रतिवद्ध टीमले चुस्त व्यवस्थापन क्षमता प्रदर्शन गर्दै अहोरात्र खटिएर गर्व गर्न लायक अत्याधुनिक भव्य भवनहरुसहितको शैक्षिक प्रतिष्ठान निर्माण गरियो । आइ.बी. जस्तो नवीनतम विश्वस्तरीय पाठ्यक्रम नेपालमा पहिलोपटक भित्र्याउने काम भयो । जुन काम देशका अन्य शैक्षिक संस्थासमेतले अनुसरण गर्ने मार्गनिर्देशक कार्यका रुपमा प्रमाणित भयो । आफ्नो शैक्षिक संस्था सञ्चालन गर्दागर्दै कैंयन सामुदायिक विद्यालयको क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान दिने कार्यसमेत युलेन्सले गर्दै आइरहेकै छ । राष्ट्रले गर्व गर्न लायक शैक्षिक प्रतिष्ठान खडा गर्ने त्यही प्रयासलाई अघि बढाउने क्रममा युलेन्स फाउण्डेशनले युलेन्स स्कुललाई किन्डरगार्टेनदेखि क्याम्पस तहसम्म विस्तार गरेको थियो । युलेन्स विद्यालय, युलेन्स कलेज, युलेन्स सेन्टर फर एजुकेटर डेवलपमेन्ट, युलेन्स लिप–ग्याप इअर प्रोगाम सबै संस्थालाई विश्वविद्यालय बनाउने योजना अन्तर्गतका उपलब्धिहरु थिए । आज यी सबै आधारहरु ध्वस्त भएको छ । युलेन्स अस्तित्व संकटको मोडमा उभिएको छ ।
डा. आरजु राणा देउवाको संलग्नता
डा. आरजु राणा देउवा सामाजिक संस्थाहरू सञ्चालन गर्नुहुन्थ्यो, खास गरी महिला विकास र सशक्तिकरणमा केन्द्रित । उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थिएन, सामाजिक ख्याति चुलिएको अवस्थामा हुनुहुन्थ्यो । देश सशस्त्र द्वन्द्वमा थियो । शिक्षालयहरूसमेत बन्दुकको दोछायामा परेका थिए । जुन स्तरको विद्यालयको परिकल्पना युलेन्स फाउण्डेशनले गरेको थियो, त्यसलाई छहारी दिन सार्वजनिक परिचय भएको व्यक्तित्व चाहिएको थियो । ठीक त्यही समयमा हो, युलेन्स फाउण्डेशनले डा. आरजु राणा देउवासँग विद्यालय सञ्चालनमा मदत मागेको ।
फाउण्डेशनको प्रस्तावमा डा. देउवा विद्यालय व्यवस्थापनको नेतृत्व गर्न तयार हुनुभयो । युलेन्स एजुकेशन फाउन्डेशनले युलेन्स स्कुल सुरु गरेपछि साबिक शिक्षा ऐन–नियमावलीको अधीनस्थ रहेर विद्यालय व्यवस्थापन समिति गठन गर्नुप¥यो । फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले शिक्षा ऐन मुताबिक डा. देउवालाई विद्यालय व्यवस्थापन समितिमा नियुक्तिका लागि सिफारिस ग¥यो । साबिकको जिल्ला शिक्षा कार्यालयले उहाँलाई यस युलेन्स स्कुलको व्यवस्थापन समितिकोे अध्यक्षमा नियुक्त ग¥यो । त्यो क्रम आजसम्म निरन्तर छ ।
यो ठ्याक्कै त्यस्तै अध्यक्षता हो, जसरी सामुदायिक विद्यालयको व्यवस्थापनमा स्थानीय व्यक्तिहरू हुन्छन् । सामुदायिक विद्यालयहरू व्यवस्थापन समितिका पनि हुन त हुन्छन्, तर अपनत्वको हदसम्म मात्रै, स्वामित्वको हदमा होइन । स्वामित्व त सरकारको अधीनस्थ हुन्छ । युलेन्सको सवालमा पनि डा. आरजु राणा देउवाको संलग्नता त्यही सीमासम्म हो । विद्यालय युलेन्स एजुकेशन फाउन्डेशनले सञ्चालन गर्छ । डा. देउवा फाउन्डेशनमा ट्रस्टी हुनुहुन्न । व्यवस्थापन समितिमा मात्र हुनुहुन्छ, जो सामुदायिक विद्यालयको व्यवस्थापन समिति सरहको अधिकारमा क्रियाशील रहन्छ । युलेन्ससँगको उहाँको सम्बद्धताको सीमा यति नै हो ।
पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि उहाँले विद्यालयबाट अलग हुने प्रस्ताव गर्नुभएको थियो । परराष्ट्रमन्त्री बनेपछि म विद्यालयबाट अलग हुन्छु भन्नु भएकै थियो । विद्यालयलाई उहाँको राजनीतिसँग सरोकार थिएन । उहाँबाट असजिलो समयमा प्राप्त सहयोग र संरक्षणलाई स्वार्थवश भुल्न उचित हुँदैन भन्ने संस्थालाई लागेकै हो र घटना घटेको दिनसम्म उहाँ व्यवस्थापन समितिमा बस्दा औपचारिक रुपमा युलेन्सको कुनैपनि अभिभावक वा युलेन्स समुदायबाट उहाँ संस्थाबाट हट्नुपर्छ भन्ने औपचारिक रुपमा आग्रह नआएको जानकारी गराउन चाहन्छौं । अहिले पनि उहाँ मैले छाड्दा विद्यालयको भलो हुन्छ भने मलाई विदा गरिदिए हुन्छ भनिरहनु भएकै छ ।
यो यथार्थविपरीत युलेन्सलाई “डा. आरजु राणा देउवाको नाफा कमाउने व्यवसाय” का रूपमा दुष्प्रचार गरियो । अफवाह फैलाइयो । समाजमा विष फैलाउन कति सजिलो ! डा. देउवाले यो दुष्प्रचारको पटकपटक खण्डन पनि गर्नुभयो, तर सञ्चारजगत्, नागरिक समाज, तालुकदार निकाय, समुदाय सबैले यो अफवाहको तेज यात्रालाई देखेर पनि नदेखेझैं गरे, जसको सिकार आज युलेन्स भएको छ । जस–जसले युलेन्सविरुद्ध भ्रम, अफवाह र दुष्प्रचार फैलाए, ती सबैलाई हाम्रो चुनौती छ— हामीले उल्लेख गरेको विवरण गलत भए प्रमाणित गर्नुस्, अन्यथा यो क्षतिको भरपाई गर्न तयार रहनुस् ।
हामी अपेक्षा गर्छौं, यो मामिला फगत युलेन्स स्कुलको मात्रै नठानी राज्य र नागरिक समाजले पनि यसको उत्तर खोज्न अग्रसरता लिने नै छन् । कुनै व्यक्तिको राजनीतिप्रतिको असहमतिलाई जोडेर उसको स्वयंसेवी योगदानको मूल्याङ्कन संस्थालाई खरानी बनाएर गरिन्छ भने यसउपरको मौनता चेतनशील समाजबाट अपेक्षित छैन । यो मौनताको सिलसिला जति लम्बिन्छ, उति सोचिरहन अभिशप्त हुनेछौं— हामी कस्तो समाजमा बसिरहेका छौं ? हामीले कस्तो समाजमा एउटा विश्वस्तरीय बालमैत्री सिकाइ केन्द्र सञ्चालनको दुस्साहस ग¥यौं ?
ललितपुर महानगरपालिकाको शिक्षा महाशाखा, शिक्षा मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभागसहित तमाम सरोकारवाला निकायलाई समेत अनुरोध गर्छौं— तपाईंहरू पनि मुख खोलिदिनुस्, युलेन्स कस्तो विद्यालय हो ? यो व्यक्तिविशेषले नाफा कमाएर लैजाने विद्यालय हो कि मुनाफा वितरण नगर्ने कम्पनी अन्तर्गत सञ्चालित विद्यालय हो ?
राज्य र समाजसँग अपिल
यस्ता संस्थामाथि आक्रमण भइरहँदा कम से कम राज्यका निकायहरू नै मौन बस्ने कल्पना हामी गर्न चाहन्नौं । यदि यो देश र समाजलाई यस विद्यालयले कुनै हानि–नोक्सानी गरेको छैन भने यस्ता संस्था जोगाउने दायित्व तपाईंहरूको पनि हो भन्ने अपेक्षा यो दर्दनाक घडीमा हामी राख्न चाहन्छौं । फेरि पनि हामीसँग प्रश्न र संशयहरूको चुली छ— के हामीले वार्षिक रूपमा तिरेको करोडौं रकम बराबरको कर र निर्वाह गरेको सामाजिक योगदानको मोलमा राज्य हाम्रो विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयको पूर्वाधारलाई सुरक्षा दिने सामथ्र्य राख्छ ? त्यस्तो विश्वास दिलाउने क्षमता हाम्रो राज्यसँग छ ? हाम्रा प्रत्येक विद्यार्थी, शिक्षक, कर्मचारी र यसका सदस्यहरू सबैको जीवन सुरक्षित हुन्छ ? र, फेरि उही नियतिबाट गुज्रिनुपर्ने छैन भन्ने विश्वास हामीले कसबाट प्राप्त गर्न सक्छौं ? यो विश्वास हामीले प्राप्त गर्न के सरकार विद्यालयमा विध्वंस मच्चाउने अपराधीहरूलाई कानुनी दायरामा ल्याउन अग्रसर हुन्छ ?
विद्यालयहरूको हितरक्षाका लागि खोलिएका सङ्घसंस्थाहरू, अभिभावकसम्बद्ध सङ्घसंस्थाहरू, विद्यार्थीको हित र सुरक्षाका खातिर क्रियाशील भनिएका सङ्घसंस्थाहरू विद्यालयलाई जलाएर खरानी बनाउँदा बोल्नु पर्छ कि पर्दैन भन्ने सवाल पनि उत्तिकै संवेदनशील छ । विद्यालय छेउछाउको स्थानीय समुदाय, विद्यालयसँग सहायता आदानप्रदान भएका क्लबहरू, सङ्घसंस्थाहरूको सक्रियताको अपेक्षा पनि यस घडीमा अनुचित ठहरिँदैन भन्ने हाम्रो विश्वास छ ।
विद्यालयको बारेमा यथार्थ तमाम सरकारी निकायलाई अवगत छ । कर कार्यालयलाई थाहा छ । नियामक निकायहरूलाई थाहा छ । अभिभावकलाई थाहा छ । विद्यालयमा छोराछोरी पढाउने तमाम पत्रकार, नेता, सामाजिक अगुवाहरूलाई थाहा छ । तर, अफवाहले सिङ्गो समाजलाई सिकार बनाउँदा सत्यलाई उजागर गर्न कोही अग्रसर भइदिएन । “हामी बोल्नुपर्दैन, काम आफैं बोल्छ” भन्ने हाम्रो विश्वास सम्भवतः समाजले रुचाएन । या हाम्रो समाज सत्यलाई सहन गर्न सक्ने स्तरमा उठेको रहेनछ भनेर स्वीकार गर्नुको विकल्प आज हामीसँग छैन ।
हाम्रो विद्यालयले अभिभावकलाई कहिल्यै पैसा तिर्ने ग्राहकका रूपमा लिएन, परिवारको सदस्यका रूपमा लियो । विद्यालयले कहिल्यै अभिभावकहरूलाई रकमी शैलीमा पैसा तिर्न ताकेता गरेन । विनम्रतापूर्वक अनुरोध गर्नु विद्यालयको संस्कार हो र हामीले त्यसै ग¥यौं । अधिकांश अभिभावकहरुले विद्यालयलाई समयमै शुल्क तिरेर सहयोग गर्नु भएकै हो यद्यपी कोभिड महामारीको समयदेखि नै केही अभिभावकहरुले समयमा शुल्क नतिरी विद्यालयलाई अफ्ठ्यारो पार्ने काम भइआएकै छ । परिणाममा विद्यालयले अभिभावकबाट प्राप्त गर्नुपर्ने नियमित शुल्कको १० करोड भन्दा बढी रकम भदौ मसान्तसम्म अझैं बक्यौताको रुपमा रहेको छ । सायद कमजोरी यहाँ पनि भयो होला र परिणाममा यत्रो ठूलो रकम अभिभावकका नाममा बाँकी–बक्यौताका रूपमा रहेको छ । यति बेला विद्यालय आर्थिक, भौतिक, मानसिक सबै रूपले जराजीर्ण अवस्थामा पुगेको समयमा हामी आफैंतिर फर्केर हेरिरहेका छौं, यति आत्मीय र लचक व्यावहार गर्ने विद्यालयले अभिभावकहरूबाट पनि सोही बमोजिम योजनावद्ध तवरले फिँजाइएको अफवाहरुपी सामाजिक भाष्य भत्काउने र आर्थिक आडभरोसाका लागि यथेष्ट सहायता प्राप्त गर्न सक्यो कि सकेन ?
यो खरानीबाट उठ्न सजिलो छैन । ढलेको आत्मविश्वास उठाउन सजिलो छैन । उठे पनि फेरि ढल्नुपर्दैन भन्ने सुनिश्चितता छैन । यो अनिश्चयबाट कसरी निस्कने ? पुर्ननिर्माणपछि फेरि ध्वंसको सामना गर्नुपर्दैन भनेर कसरी ढुक्क हुने ? कक्षाकोठामा हाम्रा बालबालिका र शिक्षक, कर्मचारीको जीवनको सुरक्षामा कसरी विश्वस्त हुने ? सडकमा बालबालिका लिएर गुड्ने हाम्रा सवारीसाधन निर्वाध र सुरक्षित रुपमा गन्तव्यमा पुग्ने प्रत्याभूति हामीले कसबाट, कसरी प्राप्त गर्ने ? यी तमाम संवेदनशील विषयहरुमा सार्वजनिक प्रत्याभूति प्राप्त नगरी कसरी विद्यालयको पठनपाठन अघि बढाउने भन्ने संशय, त्रास र अनिश्चयको अवस्थामा संस्था उभिएको छ । यो जटिल घडीमा संस्थालाई उपयुक्त मार्गनिर्देशनका लागि हामी सिङ्गो मुलुक, राज्य व्यवस्था, नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवालाहरूलाई सार्वजनिक अपिल गर्छौं ।
–युलेन्स एजुकेशन फाउन्डेशन