विद्यालय शिक्षा ऐन छिटो भन्दा छिटो अघि बढाउनु पर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं/४ असार – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सदन सुचारु गरेर सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गरेका छन् । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जाल एक्स मार्फत यस्तो बताएका हुन् ।


उनले लेखेका छन्,” सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफती सञ्चालन गर्ने कोसिस भइरहेको छ । यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । त्यस प्रकारले सदन सुचारु गरेर सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु ।”