परीक्षा र कक्षाकोठाको सिकाइबिच अन्तरसम्बन्ध

काठमाडौं/३१ जेठ – कक्षाकोठाको सिकाइको अवस्था र परीक्षाको नतिजा एक आपसमा सम्बन्धित हुन्छन् । विद्यार्थीले कस्ता पाठ्यसामग्रीहरूको अध्ययन गर्छन् र त्यस्ता सामाग्रीहरूले परीक्षाको प्रणाली विकास र विद्यार्थीको नतिजामा के–कस्ता असर पारेका छन् भनी समय मै ध्यान दिनु आवश्यक छ । राम्रो प्रश्न बनाउनेले राम्रो उत्तर दिन्छ भन्ने कुरा मनन गरी कार्यान्वयन गर्नु आवश्यक छ ।


परिचय
शिक्षण सिकाइ क्रियाकलापको एक महत्वपूर्ण एवं अनिवार्य पक्ष मूल्याङ्कनलाई मानिन्छ । नेपालमा विद्यालय स्तरमा सञ्चालन गरिने शिक्षक निर्मित परीक्षा (Teacher made test) र राज्यस्तरबाट सञ्चालित स्तरीय परीक्षाहरू (Standard achievement test) को प्रतिबिम्ब निर्माणात्मक (Formative) र निर्णयात्मक (Summative) मूल्याङ्कनका प्रावधान र विशेषताहरूसँग मेल खान आउँछ ।


हाल कक्षा ८ को अन्त्यमा, कक्षा १० को अन्तमा र कक्षा १२ को अन्तमा लिइने परीक्षाको स्वरूप र अवस्था हेर्दा एस.एल.सी.को इतिहासलाई सम्झनुपर्ने देखिन्छ । विभिन्न समय र विभिन्न व्यक्तिहरूद्वारा लिखित सामाग्रीहरूको आधारमा भन्नु पर्दा एस.एल.सी.को आरम्भ कलकत्ता विश्वविद्यालय हुँदै शिक्षा विभाग (नेपाल) को व्यवस्थापनमा सुरुआत भएको पाइन्छ । कक्षा १२ मा लिइने परीक्षा पनि तीन दशक पार गरिसकेको अवस्था छ । एस.एल.सि.ई. (SLCE) र एस.ई.ई. (SEE) को सुधारका लागि गरिएका विभिन्न अध्ययन प्रतिवेदनहरूले परीक्षाको नतिजामा असर पार्ने प्रमुख कारक कक्षाकोठाको सिकाइ हो भनि औँल्याएको अवस्था छ ।


कक्षाकोठाको सिकाइ र परीक्षा (Class room teaching learning and Examination)


दक्षिण एसियाली देशहरूमा परीक्षालाई केन्द्रित गरि तयार पारिएका सामाग्रीहरूको प्रयोग अन्य देशहरूको तुलनामा धेरै भएको पाइन्छ । नेपालमा यस्ता सामाग्रीहरूको प्रयोगको प्रतिशत पाठ्यक्रम र पाठ्यपुस्तकको प्रयोग भन्दा बढि देख्नमा आउँछ । सिकाइ सिद्धान्त र असल परीक्षाका गुणहरूका आधारमा यस्ता सामाग्रीहरूको पर्याप्त प्रयोग सिकाइका लागि घातक मानिन्छन् । यस्ता सामाग्रीहरूको पर्याप्त प्रयोगले सिकाइ स्वतन्त्र नभई यान्त्रिक (mechanical) हुन आउँछ र सिकाइमा यसको नकारात्मक प्रभाव दीर्घकालीन रूपमा देखिन्छ । कक्षा १० सम्म जुन विषयमा यी सामाग्रीहरूको प्रयोग पर्याप्त हुन्छ, ती विषय पढ्ने विद्यार्थीहरूको सङ्ख्या माथिल्ला कक्षाहरूमा कम हुन जान्छ र अन्तर्राष्ट्रिय स्तरमा यस्तो कार्यले राष्ट्रको छविमा नकारात्मक असर पार्दछ । सिकाइको व्यवहारवादी (behaviourism), संज्ञानवादी (cognitivism) र संरचनावादी (constructivism) सिद्धान्तहरूको अनुसार सिकाइ एक निरन्तर अपेक्षित प्रक्रिया हो । परीक्षामा नतिजामूलक र गुणस्तरीय प्रतिफल पाउन कक्षाकोठामा सिकाइ कसरी भएको छ ? कस्तो प्रकारको सिकाइ सान्दर्भिक छ ? के–के तत्वले सिकाइमा असर पारेका छन् भन्ने बुझ्नु आवश्यक छ । सिकाइमा स्मृती (smriti), स्मरण (smaran), झल्को (jhalko), स्मरण शक्ति (smaran sakti) जस्ता व्यवहारको भूमिका सक्रिय हुन्छ । कक्षाकोठाको सिकाइलाई प्रभावकारी बनाउन सरोकारवाला पक्षहरूको अर्थपूर्ण सक्रिय भूमिकाको खाँचो देखिन्छ । नेपालको वर्तमान सिकाइको अवस्थालाई हेर्दा कक्षा १ देखि कक्षा १२ सम्म निम्न तत्वहरूको सक्रिय रूपमा प्रयोग र प्रभावका बारेमा अध्ययन गर्नु आवश्यक हुन्छ ।


(क) सिद्धान्तहरूको स्पष्टीकरण (Clarification of concepts/principles)


कुनै पनि विषयवस्तुको बारेमा विद्यार्थीले राम्रोसँग व्याख्या गर्न सक्ने हुनु पर्दछ । विषय वस्तुको राम्रोसँग व्याख्या गर्न सक्ने हुनका लागि पर्याप्त अध्ययन, छलफल र खोजको आवश्यकता पर्दछ । विद्यार्थीहरूलाई पुस्तकालयमा गएर स्तरीय पुस्तकको अध्ययन तथा क्रियाकलापमुखी शिक्षण गर्नु र प्रश्न सोध्ने कलाको विकास गराउनाले सिद्धान्तहरूको स्पष्टीकरणमा टेवा पुग्दछ । वर्तमान अवस्थामा विद्यार्थीहरूको नतिजाको प्रतिफललाई हेर्दा सिद्धान्तको स्पष्टीकरण बिना नै विद्यार्थीहरू धेरै जस्तो परिक्षामा सम्मिलित भएको पाइन्छ ।


(ख) पढाउने विधिहरूको प्रयोग (Use of teaching methods)


सुन्ने, बोल्ने र लेख्ने पूर्वीय दर्शनका आधारमा पढाउने विधिहरूको प्रयोग गर्नु आवश्यक छ । विद्यार्थीको स्तर, शैक्षिक सामाग्रीहरूको उपलब्धता, भौगोलिक र वातावरणीय अवस्था तथा विद्यार्थीको मानसिक क्षमताका आधारमा पढाउने विधिहरूको प्रयोग गर्नु उपयुक्त मानिन्छ । विद्यालय तहको पाठ्यक्रमको उद्देश्यहरू पुरा गर्न विद्यार्थीलाई केन्द्रमा राखि विधिहरूको छनौट गर्नु आवश्यक देखिन्छ । वर्तमान अवस्थामा प्रवचन (Lecture), मार्गदर्शित खोज प्रक्रिया (guided discovery), निरन्तर/दोहो¥याई, पुनरावृत्ति अभ्यास (drilling), पुनरावलोकन/समीक्षा (reviewing), छलफल (discussion), समस्या समाधान (problem solving), प्रश्नोत्तर (Question-answer) र मूल्याङ्कन (evaluation) जस्ता विधिहरू प्रभावकारी मानिन्छन् । यी विधिहरूको मनोरञ्जनात्मक रूपमा प्रयोग गर्दा सिकाइ अझै प्रभावकारी हुन्छ । विद्यार्थीहरूबाट गृहकार्यको त्रुटि विश्लेषण (Error analysis) गरी सुधार गर्न सकेमा सिकाइ अति उत्तम हुन जान्छ । यस्ता क्रियाकलापहरू विगतमा राम्रो नतिजा भएका विद्यालयहरूमा प्रयोग हुने गरेको पाइन्छ ।


(ग) शिक्षक र विद्यार्थीको सहभागिता (Teachers and students participation)


सिकाइमा शिक्षक र विद्यार्थीको कक्षामा सहभागिताको अनुपात २:१ भएमा शिक्षक सहजकर्ता र विद्यार्थी सिकारुको भूमिकामा सुहाउँछन् । सिकाई एक विकासात्मक (developmental) प्रक्रिया भएकाले विद्यार्थी सक्रिय (Active) हुनु आवश्यक छ । समस्या समाधानमा विद्यार्थीको सक्रियता र शिक्षकको सहजीकरणलाई पर्याप्त मात्रामा कक्षाकोठामा प्रयोग गरि विद्यार्थीलाई तुरुन्त जवाफ दिने भन्दा खोजी गर्ने बानीको विकास गराउनु पर्दछ । शिक्षकले सबै प्रश्नहरूको समाधान आफैले गर्दा विद्यार्थीको स्व–अध्ययन र व्यक्तिगत सिकाईमा नकारात्मक असर पर्दछ । नेपालमा अधिकांश विद्यालयहरूमा विद्यार्थीहरूभन्दा शिक्षक सिकाईमा सक्रिय भई कक्षाकोठा सक्रिय रूपमा अघि बढेको कम देखिन्छ । यो अवस्थालाई जति सक्दो छिटो परिवर्तन गर्नु अति आवश्यक छ ।


(घ) मूल्याङ्कनका प्रविधिहरूको प्रभावकारी उपयोग (The effective use of evaluation technique)


विद्यार्थीहरूको निरन्तर तथा प्रभावकारी मूल्याङ्कन आजको आवश्यकता हो । हरेक विद्यार्थीको सङ्ख्यात्मक (numerical), स्थानिक (spatial), गुणात्मक (quantitative) र तार्किक (Logical) क्षमताको मूल्याङ्कन मौखिक (oral), लिखित (written) र प्रयोगात्मक (practical) तरिकाले हुँदा मूल्याङ्कनका प्रावधानहरू प्रभावकारी रूपमा सम्पन्न भएको मानिन्छ । सन्दर्भ सहितका व्याख्यात्मक र विश्लेषणात्मक प्रश्नहरूले विद्यार्थीहरूको ज्ञान र सिपको मूल्याङ्कन गर्ने काम कक्षाकोठा देखिनै सुरुवात गर्नुपर्दछ ।


(ङ) शिक्षकको व्यत्तित्व (Personality of teacher)


सिकाइमा शिक्षकको व्यक्तित्वले महत्वपूर्ण भूमिका खेल्दछ । विषयवस्तुको अधिकतम ज्ञान तथा अर्थपूर्ण प्रयोग, प्रभावकारी शिक्षण विधिको ज्ञान तथा समय र परिस्थित अनुरूप भएको प्रयोग, विद्यार्थीको सिकाइ क्षमताको जानकारी तथा उपयुक्त सहजीकरण र पाठ्यक्रम तथा परीक्षाको गहन अध्ययन र विश्लेषण कक्षाकोठाको सिकाइसँग सम्बन्धित शिक्षकको व्यक्तित्व हुन् । नेपालमा यी गुणहरू शिक्षकमा छ/छैन भनि हेनु पर्ने देखिन्छ ।


पाठ्यक्रम र परीक्षा दस्तावेजका आधारमा कार्यान्वयन हुन्छन् र समयमा परिमार्जन तथा सुधार गर्न सकिन्छन् । तर कक्षाकोठाको सिकाइ शिक्षक, विद्यार्थी र कक्षाको वातावरणमा आधारित जीवन्त प्रक्रिया हो । प्रविधि र दिमागको सन्तुलन गरि कक्षाकोठाको सिकाइलाई प्रभावकारी तरिकाले अघि बढाएमा परीक्षाको नतिजालाई थप सुधार गर्न सकिन्छ ।


निष्कर्ष
प्रभावकारी कक्षाकोठाको सिकाइ र परीक्षाको नतिजामा देखिने उपलब्धिको सकारात्मक सम्बन्ध हुन्छ । विद्यार्थीलाई कक्षाकार्य र गृहकार्यका माध्यमबाट प्रश्न निर्माण गर्ने र त्रुटि विश्लेषण गराउने कार्यमा संलग्न गराउनु उपयुक्त मानिन्छ । परीक्षाको नतिजा विश्लेषण गरी प्रतिक्रिया देखाउन पूर्व कक्षाकोठाको सिकाईको अवस्था सुधार गर्नु आवश्यक छ । कक्षाकोठाको सिकाइमा विद्यार्थीको अनुभूति (Perception), आचरण (Behaviour) र भावना (Emotion) लाई अवालेकन गरि अवलोकनबाट प्राप्त नतिजा सकारात्मक देखिएमा मात्र परीक्षामा समावेश गराउने कार्य अति उत्तम हुने देखिन्छ ।


सन्दर्भ सामाग्री
१.अवस्थी रमेश प्रसाद, आचार्य श्याम प्रसाद, (वि.सं. २०७३), निम्न माध्यमिक शिक्षक अध्ययन सामाग्री, सारा प्रकाशन काठमाडौँ ।
२. कुँवर, राजेन्द्र, (वि.सं. २०६६) पाठ्यव्रmम र मूल्याङ्कन, काठमाडौँ अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन ।
३. कोइराला, प्रा.डा. विद्यानाथ, (वि.सं. २०६४), शिक्षामा वैकल्पिक चिन्तन, सामाजिक अनुसन्धान र सामाग्री विकासका लागि प्राज्ञिक मञ्च, काठमाडौँ नेपाल ।
४. Shrestha Madan Man, Koirala Hari Prasad, Alan J. Melinenny, 1985, Teaching Mathematics to Large Classes in Nepal, Institute of Education, United mission to Nepal.


(लेखक डा. रमेश प्रसाद अवस्थी पाठ्यक्रम तथा परीक्षा विज्ञ हुन् ।)