बजेटले शिक्षकका माग सम्बोधन गरेन, शिक्षाका रूपमा निराशाजनक छ : शर्मा

काठमाडौं/१७ जेठ – पूर्व प्रधानाध्यापक तथा शिक्षाविद् धनञ्जय शर्माले आर्थिक वर्ष २०८२/०८३ को बजेटले शिक्षक महासङ्घसँग भएका सहमतिहरूलाई पालना नगरेको बताएका छन् । तुलनात्मक रूपमा समग्र बजेट सन्तुलित रहेको देखिएपनि शिक्षालाई सरकारले कहिल्यै प्राथमिकता नदिएको शिक्षाका रूपमा बजेट निराशाजनक रहेको बताएका हुन् ।


शर्माले शिक्षामा बजेट नबढी आएकोले खुसी हन नसकिने बताउँदै महासङ्घसँग गरिएका सहमति समेत पालना नभएको दाबी गरे । उनले इसिडी शिक्षकको थोरै अनुदान थपिए पनि विद्यालय संरचनाभित्र ल्याएर दरबन्दी दिने काम नगरिएको, नतिजाका आधारमा केही विद्यालय २५ लाख दिने भनिएपनि त्यो रकम निकै कम भएको, सहमति अनुसार राहत तथा अस्थायी शिक्षकहरूका पुरै माग सम्बोधन नभएको बताए ।


सरकारले यसभन्दा अगाडी शिक्षकसँग पटक पटक गरेका कुनै पनि सहमति कार्यान्वयनमा नल्याएको उल्लेख गर्दै ९ बुँदे प्रतिबद्धता पनि त्यस्तै रहेको बताए । गर्यौनी भनेर देखाउनलाई थोरै गरेपनि शिक्षकका माग पुरा नभएको उनको भनाई छ । देशमा भ्रष्टाचार र नेताले बेइमानी गर्दा राज्यको ढुकुटी सकिएर शिक्षकका माग पुरा नगरेको हुन सक्ने बताए ।


यसैगरी अस्थायी शिक्षकहरूलाई स्वतः स्थायी गर्नुपर्ने, संविधानमा उल्लेख भएबमोजिम पालिका अन्तर्गत बस्दैनौँ भन्ने शिक्षकहरूको माग ठिक नभएको शर्माले बताए । शिक्षकले राजनीतिक पूर्वाग्रह राख्दा पालिकाले पनि राजनीतिक पूर्वाग्रह राख्ने गरेकोले शिक्षकहरूलाई समस्या हुने गरेको बताए । यसका लागि शिक्षकहरूले राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा जोड् दिए ।