काठमाडौं/५ पुस – नेपालको सन्दर्भमा उद्यमशीलताको अवसरहरू रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले वातावरणमैत्री निर्माण सामाग्रीमा उद्यमशीलता विषयमा गरेको छलफल कार्यक्रमका वक्ताहरूले रोजगारीको लागि भन्दै विदेश नै भौँतारिनु नपर्ने बताएका हुन् ।
कार्यक्रममा युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले आफ्नो उद्यमशीलताको यात्राकोबारेमा जानकारी गराउँदै आफ्नो अनुसन्धान, उत्पादका प्राविधिक पक्षहरू, र नवीन प्रविधिहरू अपनाउँदा आउने चुनौतीहरूका बारेमा पार गरेको अनुभवबारे बताए । कार्यक्रममा प्रस्तुतिपछि दोस्रो चरणको अन्तरक्रियामा इन्जिनियर दुवालले विद्यार्थीहरूको जिज्ञासालाई सम्बोधन गर्दै व्यावहारिक र महत्वपूर्ण उत्तर दिएका थिए ।
नेपालमा ईको प्यानलको उपयोगिता र सम्भावनाहरूको लगायत हरित निर्माण सामाग्रीहरूको प्राविधिक पक्ष समेत प्रस्तुतीकरणमा राखिएको थियो । सत्रका मुख्य बुँदाहरूमा हरित निर्माण सामग्रीको सम्भावना र फाइदाहरू, परम्परागत अभ्यासमा नवीन प्रविधि समावेश गर्दा आउने चुनौतीहरू र समाधानहरू रहेका थिए ।
यस सत्रले उद्यमशील भूमिकामा करियार बनाउने चाहना राख्ने धेरै विद्यार्थीहरूलाई प्रेरित ग¥यो । दिगो विकासको गतिशील क्षेत्रमा अघि बढ्न मार्गचित्र प्रदान गरेको विद्यार्थीहरुको प्रतिक्रिया रहेको थियो ।
कार्यक्रमलाई सिभिल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओलीले सहजीकरण गरेका थिए । कार्यक्रममा आयोजक कलेजका प्रिन्सिपल विरोध रिजालले नियमित रूपमा प्रत्येक हप्ता बिहीबारको दिन विभिन्न प्रविधिका विषयमा छलफल र अन्तरक्रिया गर्दै आइरहेको जानकारी गराए । सिभिल इन्जिनियरहरूलाई आधुनिक सूचना प्रविधिको उपयोगले कसरी सक्षम बनाउन सक्छ भन्ने विषयमा महत्वपूर्ण सुझाव उनको थियो ।