काठमाडौं/१७ मंसिर – हरित शिक्षा (Green Education) वातावरणीय शिक्षा प्रणाली हो । जसले दिगो विकास, प्रकृति संरक्षण र हरित जीवनशैलीप्रति चेतना जगाउँछ । यसले विद्यार्थीलाई वातावरणीय समस्याहरू बुझ्न, समाधान खोज्न र जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ । ग्रिन एजुकेशनले पुनः प्रयोग, पुनःचक्रण र प्राकृतिक स्रोतहरूको संरक्षणमा जोड दिन्छ । यो शिक्षाले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र प्रदूषण जस्ता विषयमा जानकारी प्रदान गर्दै वातावरणीय चेतना वृद्धि गर्दछ । विद्यालयमा हरित गतिविधि, वृक्षारोपण, ऊर्जा बचत र फोहोर व्यवस्थापनका माध्यमबाट यो शिक्षा प्रवद्र्धन गरिन्छ । ग्रिन एजुकेशनले भविष्यका लागि सन्तुलित र दिगो समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।
विद्यालय शिक्षामा हरित शिक्षाको महत्व
हरित शिक्षा पर्यावरणीय सचेतना, दिगो विकास र प्रकृतिसँग सह–अस्तित्वको ज्ञान प्रदान गर्ने शिक्षाको प्रक्रिया हो । यो शिक्षाले विद्यार्थीहरूलाई वातावरणको संरक्षण, प्राकृतिक स्रोतहरूको उपयोगमा सावधानी र जलवायु परिवर्तनका प्रभावबारे सचेत बनाउँछ । विद्यालय स्तरमै हरित शिक्षाको समावेशले दीर्घकालीन प्रभाव पार्छ । यसको महत्व निम्नानुसार रहेको छ :
१. पर्यावरणीय सचेतना वृद्धि : हरित शिक्षाले विद्यार्थीहरूलाई जलवायु परिवर्तन, प्रदूषण, वन संरक्षण र जैविक विविधताको महत्वबारे जानकारी दिन्छ । यसले उनीहरूमा वातावरणीय समस्याबारे सोच्न र समाधान खोज्न प्रेरित गर्दछ ।
२. दिगो जीवनशैलीको विकास : विद्यालय शिक्षामा हरित शिक्षा समावेश हुँदा विद्यार्थीहरूमा दिगो जीवनशैलीको विकास हुन्छ । उनीहरूले स्रोतहरूको उपयोग गर्दा अनावश्यक फजुल खर्च कम गर्न र प्रकृतिप्रति जिम्मेवार बन्न सिक्छन् ।
३. भविष्यका जिम्मेवार नागरिक उत्पादन : विद्यार्थीहरू बाल्यकालमै हरित सोच र पर्यावरणप्रति प्रेम गर्न अभ्यस्त भए तिनीहरू भविष्यमा जिम्मेवार नागरिकका रूपमा विकास हुन्छन् । यसले समाज र राष्ट्रको समग्र विकासमा योगदान पु¥याउँछ ।
४. व्यवहारिक शिक्षाको अवसर : हरित शिक्षाले विद्यार्थीहरूलाई बाहिरी गतिविधिहरू, जस्तै– वृक्षारोपण, फोहोर व्यवस्थापन, पुनःप्रयोग र पुनःचक्रण जस्ता क्रियाकलापमा संलग्न गराउँछ । यसले उनीहरूको व्यवहारिक ज्ञानमा सुधार ल्याउँछ ।
५. जलवायु परिवर्तनको सामना गर्ने क्षमता : हरित शिक्षा विद्यार्थीहरूलाई जलवायु परिवर्तनको असर बुझ्न र त्यसको सामना गर्ने उपाय अपनाउन सक्षम बनाउँछ । यसले उनीहरूलाई जलवायु–मैत्री प्रविधि र सोच विकास गर्न प्रेरित गर्छ ।
६. सामाजिक उत्तरदायित्वको बोध : हरित शिक्षाले विद्यार्थीहरूलाई आफ्नो समुदाय र समाजप्रति उत्तरदायित्वबोध गराउँछ । उनीहरूले वातावरणीय संरक्षणका महत्वपूर्ण विषयहरूमा जनचेतना फैलाउने र सहभागी हुने काम गर्न सिक्छन् ।
७. वैज्ञानिक सोचको विकास : हरित शिक्षाको माध्यमबाट विद्यार्थीहरूमा वैज्ञानिक सोच र अनुसन्धान गर्ने क्षमताको विकास हुन्छ । उनीहरू पृथ्वीको जैविक र भौतिक प्रणालीबारे गहिरो बुझाइ राख्न सक्षम हुन्छन् ।
विद्यालय तहमा हरित शिक्षाका बारेमा जान्नै पर्ने विषयवस्तुहरु
विद्यालय तहमा हरित शिक्षा निकै महत्वपूर्ण छ । किनकि यसले बालबालिकामा वातावरणप्रतिको जिम्मेवारी र दिगो जीवनशैलीको मूल्यबोध विकास गर्न मद्दत गर्छ । हरित शिक्षामा ध्यान दिनुपर्ने केही प्रमुख विषयवस्तुहरू निम्नानुसार रहेका छन् :
१. पर्यावरणीय चेतना
(क) वातावरणको संरक्षणको महत्व ।
(ख) जलवायु परिवर्तनको प्रभाव र त्यसको परिणाम ।
(ग) वनस्पति, वन्यजन्तु र जैविक विविधताको महत्व ।
(घ) स्थानीय र विश्वव्यापी पर्यावरणीय मुद्दाहरू ।
२. स्रोतहरूको दिगो प्रयोग
(क) प्राकृतिक स्रोतहरूको सीमितता र तिनको जिम्मेवार प्रयोग ।
(ख) पुनः प्रयोग, पुनर्चक्रण र न्यून उपयोगको महत्व ।
(ग) पानी, ऊर्जा र अन्य स्रोतहरूको बचत गर्ने तरिकाहरू ।
३. अपशिष्ट व्यवस्थापन
(क) फोहोर वर्गीकरण (जैविक, अजैविक र पुनर्चक्रण योग्य फोहोर) ।
(ख) घर र विद्यालयमा अपशिष्ट व्यवस्थापनका उपायहरू ।
(ग) कम्पोस्टिङ र जैविक मल बनाउने विधिहरू ।
४. हरित प्रविधि
(क) नवीकरणीय ऊर्जा स्रोतहरू (सौर्य ऊर्जा, पवन ऊर्जा, जैविक ग्यास) ।
(ख) वातावरणमैत्री प्रविधिहरूको महत्व ।
(ग) प्रदूषण नियन्त्रण प्रविधिहरू ।
५. वन संरक्षण र वृक्षारोपण
(क) वनहरूको महत्व र संरक्षणका उपायहरू ।
(ख) वृक्षारोपण कार्यक्रम र त्यसको फाइदा ।
(ग) स्थानीय प्रजातिका बोटबिरुवा लगाउनको आवश्यकता ।
६. जल स्रोतको संरक्षण
(क) पानी बचाउने तरिका र पानीको महत्व ।
(ख) पानीको पुनः प्रयोग र संरक्षण प्रविधिहरू ।
(ग) जल प्रदूषणका कारण र नियन्त्रणका उपायहरू ।
७. जलवायु परिवर्तन र यसको प्रभाव
(क) ग्रीनहाउस प्रभाव र कार्बन फुटप्रिन्टको अवधारणा ।
(ख) चरम मौसमी घटनाहरू (बाढी, खडेरी) को प्रभाव ।
(ग) जलवायु परिवर्तन रोक्न बालबालिकाले गर्न सक्ने उपायहरू ।
८. स्थानीय वातावरणीय चुनौतीहरू
(क) आफ्नो समुदाय वा क्षेत्रको पर्यावरणीय समस्याहरू ।
(ख) स्थानीय स्रोतहरूको संरक्षणका लागि सामूहिक प्रयास ।
९. दिगो जीवनशैली
(क) प्लास्टिकको न्यूनतम प्रयोग ।
(ख) स्थानीय उत्पादन र जैविक खाद्य पदार्थको उपभोग ।
(ग) आवागमनमा साइकल वा सार्वजनिक यातायातको उपयोग ।
१०. सक्रिय सहभागिता
(क) विद्यालय र समुदायमा वातावरणीय कार्यक्रमहरू (वृक्षारोपण, सफाइ अभियान) ।
(ख) जलवायु र वातावरणीय अभियन्ताहरूको कार्य ।
(ग) पर्यावरणीय संगठनहरूसँग साझेदारी र समर्थन ।
हरित शिक्षाको कमीले जनजीवनमा पर्न सक्ने असर
हरित शिक्षा वातावरणीय ज्ञान, जागरूकता र दिगो जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने शिक्षा हो । विद्यालयमा हरित शिक्षाको कमीले समाज र जनजीवनमा गम्भीर असरहरू पर्न सक्छन् । केही मुख्य पक्षहरू निम्नानुसार रहेका छन् :
१. पर्यावरणीय समस्याको गहिरो प्रभाव
हरित शिक्षाको अभावले विद्यार्थीहरूमा पर्यावरणीय मुद्दाहरूको ज्ञान र सचेतनाको कमी हुन सक्छ । यो कारणले गर्दा वायु प्रदूषण, जलवायु परिवर्तन, वन विनाश र जैविक विविधता ह्रासजस्ता समस्याहरू झन् गहिरिन सक्छन् ।
२. दिगो विकासको अभाव
हरित शिक्षा नपाएका व्यक्तिहरू दिगो विकासका सिद्धान्तहरूलाई व्यवहारमा लागू गर्न असफल हुन सक्छन् । उदाहरणका लागि, उर्जा संरक्षण, जल स्रोतहरूको उचित प्रयोग र पुनःचक्रणको महत्व नबुझ्दा स्रोतहरूको अनावश्यक खर्च हुने सम्भावना हुन्छ ।
३. स्वास्थ्यमा असर
पर्यावरणीय शिक्षाको कमीले प्रदूषण र अस्वस्थ वातावरणले स्वास्थ्यमा पर्ने प्रभावबारे जनचेतना कम हुन्छ । यसले मानिसहरूलाई फोहोर व्यवस्थापन, स्वच्छ खानेपानीको आवश्यकता र हानिकारक रसायनको प्रयोगप्रति संवेदनशील हुनबाट रोक्छ ।
४. आर्थिक असर
प्राकृतिक स्रोतहरूको असन्तुलित उपयोगले देशको आर्थिक अवस्थालाई कमजोर बनाउन सक्छ । हरित शिक्षा नहुँदा वातावरणीय क्षति रोक्न नसकिने र त्यसको पुनर्निर्माणमा ठूलो आर्थिक भार पर्न सक्छ ।
५. सामाजिक मूल्य र नैतिकताको ह्रास
हरित शिक्षाको अभावले मानिसहरूलाई आफ्नो वातावरणप्रति जिम्मेवार बनाउने भावनाको विकास गर्न बाधा पु¥याउँछ । यसले समाजमा साझा उत्तरदायित्व र सहकार्यको अभाव गराउँछ । जसले गर्दा दिगो समाजको निर्माण गर्न कठिनाई हुन्छ ।
विद्यालय तहमा हरित शिक्षालाई निरन्तरता दिन अपनाउनु पर्ने उपायहरु
विद्यालय तहमा हरित शिक्षालाई निरन्तरता दिन निम्न उपायहरू अपनाउन सकिन्छ
१. पाठ्यक्रममा हरित शिक्षा समावेश गर्ने
(क) वातावरण संरक्षण, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको दिगो उपयोगबारे पाठ्यक्रममा समावेश गर्नुपर्छ ।
(ख) विभिन्न विषयसँग हरित शिक्षाका विषयहरू जोड्न सकिन्छ ।
२. व्यवहारिक गतिविधि सञ्चालन गर्ने
(क) विद्यार्थीलाई विद्यालयमा बगैँचा बनाउन र संरक्षण गर्न प्रेरित गर्नुपर्छ ।
(ख) वृक्षारोपण कार्यक्रम आयोजना गर्नु ।
(ग) विद्यार्थीहरूलाई फोहोर व्यवस्थापन, पुनः प्रयोग र पुनः चक्रण प्रक्रियामा संलग्न गराउनुपर्छ ।
३. प्रेरणादायी अभियानहरू सञ्चालन गर्ने
(क) “हरित विद्यालय अभियान“ जस्ता कार्यक्रम सञ्चालन गरी वातावरणमैत्री अभ्यासहरूलाई बढावा दिनुपर्छ ।
(ख) विद्यार्थीहरूलाई विद्यालय भित्र र बाहिर स्वच्छता अभियानमा सहभागी गराउनुपर्छ ।
४. जागरूकता कार्यक्रम सञ्चालन गर्ने
(क) वातावरण संरक्षण र जलवायु परिवर्तनबारे सेमिनार, गोष्ठी र कार्यशाला आयोजना गर्नुपर्छ ।
(ख) विद्यालयमा वातावरणसँग सम्बन्धित चित्रकला, निबन्ध लेखन र नाटक प्रतियोगिता आयोजना गर्नुपर्छ ।
५. प्राविधिक साधनहरूको उपयोग गर्ने
(क) वातावरण संरक्षणसँग सम्बन्धित भिडियो र डिजिटल सामग्री प्रस्तुत गरी ज्ञान प्रदान गर्नुपर्छ ।
(ख) ऊर्जा बचतका लागि सौर्य ऊर्जा,ीभ्म् बत्ती र पानी बचत प्रणालीको प्रयोगबारे जानकारी दिनुपर्छ ।
६. स्थानीय स्रोतसाधनको उपयोग गर्ने
(क) स्थानीय समुदाय र वातावरणविद्हरूसँग साझेदारी गरी वातावरणीय शिक्षामा सहकार्य गर्नुपर्छ ।
(ख) विद्यार्थीलाई स्थानीय जैविक विविधता र संरक्षणका उपायबारे जानकारी गराउनुपर्छ ।
७. विद्यार्थी नेतृत्व विकास गर्ने
(क) हरित क्लब स्थापना गरी विद्यार्थीलाई जिम्मेवारी तोक्नु ।
(ख) विद्यार्थीलाई पर्यावरण सम्बन्धी समस्या समाधानमा नेतृत्व दिन प्रोत्साहन गर्नु ।
८. अनुगमन र मूल्याङ्कन प्रणाली लागू गर्ने
(क) विद्यालयमा हरित शिक्षाका गतिविधिहरूको नियमित अनुगमन र मूल्याङ्कन गर्नुपर्छ ।
(ख) विद्यार्थीहरूको व्यवहार र ज्ञानमा आएको परिवर्तनको विश्लेषण गरी आवश्यक सुधारको योजना बनाउनुपर्छ ।
निष्कर्ष
विद्यालय तहमा हरित शिक्षा वातावरणीय चेतना र दिगो विकासको आधारशिला हो । यसले विद्यार्थीहरूलाई वातावरणीय समस्याहरू बुझ्न, तिनको समाधान खोज्न र जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ । हरित शिक्षाले ऊर्जा संरक्षण, फोहोर व्यवस्थापन, जैविक विविधताको संरक्षणजस्ता दिगो अभ्यासलाई प्रोत्साहन गर्दछ । यसले बालबालिकामा वातावरणीय सहअस्तित्वको भावना जागृत गराउँदै स्वच्छ र हराभरा भविष्य निर्माणमा योगदान दिन्छ । विद्यालयहरूमा हरित शिक्षाको समावेशले केवल पाठ्यक्रमलाई नै सबलीकरण गर्ने मात्र नभएर व्यवहारिक जीवनमा पनि वातावरणमैत्री आदतहरूको विकास गर्छ । यसले वातावरणीय समस्या समाधानका लागि नयाँ पुस्तालाई सक्षम र उत्तरदायी बनाउने मार्ग प्रशस्त गर्दछ । खिलानाथ धमला



