विगतमा उपकुलपति हिरा ल्याउँछौ भन्थे तर ठगी गर्ने कुख्यात व्यक्ति ल्याउथे

काठमाडौँ /१८ वैशाख – रास्वपाका सांसद राजीव खत्रीले त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले आफैले जानेर राजीनामा दिनु ठिक भएको प्रतिक्रिया दिएका छन् । सबै नियुक्ति पार्टीगत भागबन्डाको आधारमा नभई मेरिटको आधारमा नियुक्त गर्न जरुरी रहेको उल्लेख गर्दै उपकुलपति, राजदूत र गभर्नर जस्ता पद गैरदलीय व्यक्तिलाई सुहाउने बताए ।


सरकारले ल्याउन लागेको अध्यादेशले राजनीति नियुक्ति लिएका व्यक्तिलाई हटाउने तयारी भईरहेको उनको भनाई छ ।


उनले भनेका छन् “गुड जब १ सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा आफैले जानेर राजीनामा दिनु राम्रो हो । पार्टीको विचार र नीतिमा प्रशिक्षित, पार्टीप्रति वफादार, पार्टीमा निष्ठावान् मान्छे राजनीतिज्ञ चै बनेको राम्रो । न कि उपकुलपति, राजदूत र गभर्नर । यस्ता पद गैरदलीय व्यक्तिलाई सुहाउँछ ।”


यसैगरी विगतमा उपकुलपति हिरा ल्याउँछौ भन्दै बौद्धिक चोरीमा संलग्न, निजी कलेजहरूलाई नियमविपरित सम्बन्धन दिने, विद्यार्थी ठगी गर्ने, मेडिकल कलेज सञ्चालकको संरक्षण गर्ने, राजनीतिक भागबन्डालाई निरन्तरता दिने, त्रिविको जग्गा गैरशैक्षिक र नीजि क्षेत्रलाई दिने कुख्यात व्यक्ति ल्याउने गरेको उनको आरोप छ ।


“अब सबै नियुक्ति पार्टीगत भागबन्डाको आधारमा नभई मेरिटको आधारमा नियुक्त गर्न जरुरी छ । यो उपकुलपति बनाउने कुरा आइपीएलको ‘अक्सन’ जस्तो पनि बन्न हुदैन, बढी दाम दिनेले पाउने । जहाँ राजनीतिक भागबन्डा वा किनबेच चल्छ, त्यहाँ सुन तस्करी, खाग तस्करी, काठ तस्करी, बालुवा तस्करी, मानव तस्करी बारेमा नैं पढाइन्छ । मतलब तस्करी गर्न सिकाइन्छ” उनले भनेका छन् ।