छात्रवृत्ति कार्यक्रममा निःशुल्क अध्ययनका लागि आवेदन माग

काठमाडौं/३० साउन – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहमा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षाको आवेदन माग गरेको छ । प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राका लागि आवेदन माग गरेको हो ।


नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राहरूबाट प्रि–डिप्लोमा तहमा १४ जना र डिप्लोमा/प्रमाणपत्र तहका देहायका कार्यक्रमहरूमा १०६ जना गरी जम्मा १२० सिटहरूमा आवेदन माग गरेको छ ।


निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्नका लागि योग्य नेपाली नागरिकहरूबाट रीतपूर्वकको प्रवेश परीक्षाको आवेदन फाराम भरी आवेदन फाराम सङ्कलनका लागि तोकिएका शिक्षण संस्था/कार्यालयहरूमा बुझाउनु पर्ने छ ।