मकवानपुर/२३ साउन – मकवानपुरको बकैया गाउँपालिकाले माध्यमिक र निम्न माध्यमिक तह तृतीय श्रेणीमा शिक्षक पदपुर्तिका लागि आवेदन माग गरेको छ । पालिकाले अंग्रेजी, नेपाली, गणित, विज्ञान, अर्थशास्त्रका लागि विषयगत शिक्षकहरुका लागि आवेदन माग गरेको हो ।
सामुदायिक विद्यालयहरुमा रिक्त हुन आउने शिक्षक दरबन्दी, राहत अनुदान कोटा, संघिय, प्रादेशिक तथा गाउँपालिका अनुदान कोटामा पदपुर्ति गर्न गाउँपालिकाको करार शिक्षक छनौट कार्यविधि २०८० अनुसार आवेदन मागिएको पालिकाले जनाएको छ ।
मावि तहमा रिक्त हुने पदहरुमा अंग्रेजीमा ८, नेपालीमा ८, गणितमा ९, विज्ञान १०, अर्थशास्त्रमा ९ रहेको छ भने निम्न माध्यमिक तहमा अंग्रेजीमा १०, नेपालीमा ८, गणितमा १०, विज्ञान १० गरी कुल ८२ जनाको संख्यामा शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ ।
साथै योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले भदौं ११ गतेभित्र आवेदन पेस गर्न सकिने छ । छनोटका लागि परीक्षाको किसिम शिक्षक सेवा आयोगले निर्धारण गरे अनुसार हुने जनाएको छ ।