काठमाडौँ /२१ साउन – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको रिक्त दरबन्दी विवरण सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगबाट हुने विज्ञापन प्रयोजनार्थ साथै बढुवाद्वारा पदपूर्ति शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित रिक्त विवरण सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोगबाट हुने विज्ञापनका लागि २०८१ चैत्र मसान्तसम्मको रिक्त दरबन्दी विवरण सार्वजनिक गरेको केन्द्रले जनाएको छ ।
केन्द्रले उक्त विवरणमा थप घट गर्नुपर्ने अवस्था भए उचित र पर्याप्त कारण सहित पाँच दिन भित्र खुलाई पठाउनु सबै शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ । साथै हालसम्म पनि विवरण नपठाएका शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पाँच दिन भित्र पठाउन निर्देशन दिएको छ ।
उक्त समय भित्र विवरण नपठाए सम्बन्धित इकाइ नै जिम्मेवार हुने शाखा अधिकृत हरिबहादुर श्रेष्ठले जनाएका छन् ।
सार्वजनिक गरिएको रिक्त दरबन्दी विवरणमा प्राथमिक तहमा १ हजार ९ सय १६, निम्न माध्यमिक तहमा ४ सय ४४ र मावि तहमा ३ सय २ रहेको छ ।