अहिलेकै अवस्थामा विद्यालय शिक्षा ऐन ल्याउनुको अर्थ छैन : सभापति थापा

काठमाडौँ/२२ साउन – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले अहिले कै अवस्थामा विद्यालय शिक्षा ऐन ल्याए कार्यान्वयन नहुने बताएका छन् । संविधानमा विद्यालय शिक्षा स्थानीय तहको मातहत रहने व्यवस्था भएकोले सङ्घीय सरकारको मातहतमा ल्याउन संविधान नै संशोधन गर्नुपर्ने बताएका हुन् ।


राजनीतिक दलहरूले शिक्षा सुधार गर्नका लागि संविधान संशोधन गरेर मात्रै विधेयक ल्याउनुपर्ने अन्यथा शिक्षा ऐन ल्याउनुको अर्थ नरहने सभापति थापाले खबर एजुकेशनसँगको संवादमा भनेका छन् । संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरिसकेकोले अहिलेकै अवस्थामा विधेयक ल्याए स्वतः खारेज हुने उनको ठहर छ ।


सरकारले आन्दोलनका भरमा शिक्षकहरूसँग सम्झौता गरेको बताउँदै अहिलेको विधेयकमा सम्झौताका विषयमा केही नआएको र सरकारले पटक पटक सम्झौता गरेपनि कार्यान्वयनका विषयमा बेवास्ता गरेको बताए ।


उनले भने, “सकेसम्म संविधानमा समेत संशोधन गर्नुपर्ने देखिन्छ । सरकारले शिक्षकहरूसँग सम्झौता गर्दा कानुन र संविधान नहेरी गर्ने र विधेयक ल्याउँदा त्यो कुरामा नटेकिदिने स्थिति सिर्जना भएको छ । त्यसैले विधेयक ल्याउँदा खारेज नहुने तरीकाले ल्याउनु पर्छ । विधेयक खारेज नहुने तरीका भनेको संविधान संशोधन नै हो ।”


शिक्षकलाई चक्रीय प्रणालीबाट सरुवा गर्नुपर्छ


शिक्षकहरू लामो समयसम्म एउटै विद्यालय रहँदा शिक्षामा गुणस्तर नआएको बताउँदै चक्रीय प्रणालीबाट सरुवा गर्नुपर्ने विचार व्यक्त गरेका छन् । उनले चक्रीय प्रणाली अनुसार शिक्षकले पढाई रहेको विद्यालयबाट सीमित समयपछि देशको कुनै पनि ठाउँमा सरुवा गर्नुपर्ने र त्यसका लागि भएपनि सेवा सुविधामा वृद्धि गर्नुपर्ने बताए ।


त्यसैगरी गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूलाई निजामती कर्मचारीहरूको भन्दा राम्रो सेवा सुविधा दिनुपर्ने र शिक्षालाई दलीयकरणबाट अलग गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, “घरको काम गर्ने अनि मास्टर भएर आफ्नो टोलको विद्यालय पढाएर हुँदैन । उनिहरूले आफूले भोलि के पढाउने हो भन्ने कुराको ज्ञान गर्न सक्दैनन् । घरमा गए पछि छोराछोरी, खेतीकिसानी मै मक्ख भै हाल्छन । एकैचोटि हतार हतार गरेर कक्षा कोठामा जाने र जे जे मन लाग्छ त्यो पढाउने अनि विदा हुने अवस्था अहिलेको शिक्षामा छ ।”


स्थायी भइसकेका शिक्षकहरूको पनि परीक्षा लिनुपर्छ


सभापति थापाले स्थायी भइसकेका शिक्षकहरूको पनि परीक्षा लिनुपर्ने बताएका छन् । स्थायी शिक्षकहरूको प्रयोगात्मक परीक्षा लिनुपर्ने र यदी त्यो परीक्षा पास नभएको खण्डमा पेन्सन सहित घर पठाउने अथवा पेन्सन हुने समय भएको छैन भने उपदान दिएर भएपनि विदा गर्नुपर्ने व्यवस्था गर्न आवश्यक रहेका बताए ।


त्यसैगरी २५ वर्ष हुँदा पनि अस्थाई शिक्षक अस्थाइमा नै रहेको बताउँदै धेरै थरिका शिक्षकहरूको आवश्यक नरहेको धारणा व्यक्त गरेका छन् । लामो समयसम्म पढाएका शिक्षकहरूलाई घर जाउ भन्न नमिल्ने भन्दै बरु उनीहरूलाई सेवा सुविधा दिनुपर्नेमा जोड् दिए । साथै धेरै थरीका शिक्षकहरूलाई हटाएर स्थायी, अस्थायी र विद्यालय कर्मचारी मात्रै हुने व्यवस्था विधेयकमा गर्न आवश्यक रहेको बताए ।