काठमाण्डौं /४ चैत्र– काठमाण्डौं उपत्यकाभित्र बढ्दो सवारी चापलाई नियन्त्रण गर्न भनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि नै विद्यालय सञ्चालन गर्नुपर्ने नियम लागू गर्ने भनिएको छ ।
ट्राफिक जामको समस्या समाधानका लागि भन्दै सरकारले आगामी नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ४ बजे सम्म तोक्ने तयारी गरेको छ । तर, बिहान नौ बजेदेखि नै विद्यालय सञ्चालन गर्न व्यवहारिक कठिनाइ हुने प्याब्सन अध्यक्ष टिकाराम पुरीको तर्क छ ।
अध्यक्ष पुरीका अनुसार सरकारको यो निर्णयबाट उपत्यका तथा ठूला शहरमा सवारी चाप र सवारीको व्यवस्थापन त गर्न सकिएला तर यसबाट स–साना बालबालिकाहरूको दैनिकीमा भने बाधा पर्न जान सक्ने परिस्थिती सिर्जना हुनसक्छ ।
यसबाट स– साना बालबालिकाहरूलाई मात्र नभई अभिभावकहरूलाई समेत तिनीहरूको दैनिकी कार्यमा समस्या पर्न जान्छ । ‘साना बालबालिका कति बजे उठ्ने, कति बजे खाने र कतिबेला तयार भएर स्कुल जाने ?’ उनले भने । साना बालबालिकालाई नौ बजेभित्र नै विद्यालय पु¥याउन र उनीहरुलाई दिउँसोको खाजा खुवाउन समेत गाह्रो हुने पुरीको भनाइ छ ।
हामीले बालबालिकालाई कसरी सजिलो हुन्छ भनेर सोच्नुपर्छ, आफूलाई सजिलो बनाउन बालबालिकालाई दुःख दिने कार्य गर्नुहुँदैन प्याब्सन अध्यक्ष पुरी बताउँछन् ।
उनले विद्यालयहरू नौ बजेबाटै सुरु गर्नुभन्दा पनि सरकारी तथा निजी कार्यालयहरू आठ बजेबाट नै सञ्चालन गर्न उपयुक्त हुने बताए । ‘साना नानीहरुलाई अनाश्यक दुःख दिनुभन्दा बरु हामीले नै दुःख गरौं र कार्यालयहरू ८ बजे देखि नै खोलौं’ उनले भने ।
सो निर्णयलाई कार्यान्वयनमा ल्याउने क्रममा आउने व्यवहारिक कठिनाइ पनि विचार गर्नुपर्ने, एकोहोरो निर्णय मात्र गर्न नहुने, बालबालिकाको सहजताकाे विषयमा पनि सोच्नुपर्ने पुरीको भनाई छ ।
सरकारी कार्यालय ८ बजे खोलौं, स्कुलको समय यथावत् नै राखौंं : अध्यक्ष पुरी
