कक्षा ११ को भर्नामा चर्को शुल्क असुलेको भन्दै विरोध

काठमाडौँ /२७ असार – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रूपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माविमा कक्षा ११ को भर्ना र ड्रेसको नाममा चर्को शुल्क असुलेको भन्दै विरोध गरेको छ । विद्यार्थीसँग २१ हजार ४ सय ५० रुपैयाँ असुलेको भन्दै विरोध गरेको हो ।


विद्यालयले बिना बिल÷रेकर्ड विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क असुल गरेको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ ।


त्यसैगरी कक्षा ११ र १२ को नयाँ शैक्षिक सत्र सुरुभए सँगै सामुदायिक तथा निजी शिक्षण संस्थाहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क उठाउने अभिभावकले तिर्न नसक्ने गरि सामुदायिक विद्यालयले अभिभावक सहयोगको रूपमा चर्को शुल्क असुली गरि पढ्न पाउने अधिकारबाट बन्चित गर्ने, जस्ता अनैतिक र अवैधानिक गतिविधि गरिरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले उल्लेख गरेको छ ।


नेपालको संविधानको धारा ३१ को उपधारा २ मा व्यवस्था भए अनुरूप माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि कार्यान्वयन नभएको, निम्न आयस्तर भएका नागरिकका छोराछोरी विद्यालय शिक्षाबाट बन्चित हुनुपर्ने बाध्यता रहेको र राज्य आफैले संविधानमा व्यवस्था गरिएको निःशुल्क शिक्षाको प्रावधानका विरुद्धमा रहेको बताउँदै संगठनले विरोध गरेको छ ।


शैक्षिक संस्थाले नियम कानून विपरीत लिदै आइरहेको शुल्क तत्काल बन्द गर्न भन्दै शुल्क लिने कार्य बन्द नगरिए संगठन आन्दोलन गर्न बाध्य हुने अध्यक्ष मनोज थापाले बताए । साथै आन्दोलनबाट आउने परिणामको जिम्मा सम्बन्धित निकाय नै हुने समेत चेतावनी दिएका छन् ।