अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको पुष्टि

काठमाण्डौं/२९ फागुन– अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसले संक्रमण गरेको त्यहाँका स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् ।
गत २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलियाको तास्मानिया पुगेका सो नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा मार्क भेइचले सेल्फले बताएको छ ।
अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार कोरोनाले संक्रमण गरेपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेकोे जानकारी दिएका छन् ।
ती विद्यार्थी फेब्रुवरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होवार्ट पुगेका थिए । स्वास्थ्य अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा सो रोगको लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए ।
शुक्रबार रोयल होवार्ट अस्पतालमा परीक्षण गर्दा ती नेपाली विद्यार्थीलाई कोरोना भाईरसको संक्रमणको पुष्टि भएलगत्तै उनलाई आइसोलेसनमा राखिएको त्यहाँको स्थानीय समाचारमा उल्लेख छ ।