कोरोनाका कारण विश्वका १४ देशका विद्यालयको पढाई पूर्ण रूपमा ठप्प

काठमाण्डौं/२३ फागुन– विश्वमै आतंक मच्चाइरहेको कोरोना भाईरस संक्रमणका कारण विश्वका १४ देशले विद्यालय पुर्ण रुपमा बन्द गरेको छ ।
अहिले विद्यालय बन्द गर्ने देशहरूमा चीनलगायत जापान, इरान, इटली, इराक शीर्ष स्थानमा छन् । अन्य ९ वटा मुलुकमा आवश्यकता अनुसार शैक्षिक संस्था बिदा गरेका छन् ।
चीनका केही प्रान्तमा फेब्रुअरी मध्यदेखि नै विद्यालयहरू बन्द गरिसकेको छ । चीनमा मात्र करिब २३ करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । चीनका केही विद्यालयमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ भने टेलिभिजनमार्फत् प्राथमिक तहका कक्षाहरू सञ्चालन गरिरहेको छ ।
कोरोनाभाइरसको संक्रमणका कारण अहिले सबैभन्दा धेरै विद्यार्थी प्रभावित भएका छन् । युनेस्कोले जारी गरेको तथ्याङ्कअनुसार विश्वमा करिब ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । जापानमा एक करोड ६० लाख, इरानमा एक करोड ४० लाख, इटलीमा ९० लाख र इराकमा ७० लाख विद्यार्थीहरू अहिले घरमा बस्न बाध्य छन् । यस्तै, फ्रान्सले एक सय २० वटा विद्यालय बन्द गरेको छ ।
चीनमा कोरोनाभाइरसको संक्रमण भएर निको भइसकेकाहरूमा फेरि संक्रमण देखापरेको जनाइएको छ । वुहानका चिकित्सकहरूका अनुसार संक्रमण निको भएर पठाइएका मानिसहरूलाई फेरि संक्रमित भएको पाइएको छ ।
कोरोनाभाइरसको संक्रमणको त्रास अहिले विश्वभरि नै फैलिरहेको छ । विभिन्न संघ–संस्थाहरूले कोरोना सम्बन्धि सतर्कता अपनाउन विभिन्न कार्यक्रम समेत गरिरहेको छ ।