कक्षा ११ मा संकाय अनुसार भर्ना गर्न नपाइने

काठमाडौं/२३ फागुन–आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा संकाय अनुसार भर्ना गर्न नपाइने भएको छ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराईले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना गर्दा विद्यालय वा कलेजले विज्ञान, व्यवस्थापन र मानविकी संकाय भनेर विद्यार्थी भर्ना गर्न नपाउने बताए । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारुप २०७६ कार्यान्वयनमा ल्याउन लागेसँगै कक्षा ११ बाट संकाय प्रणाली हट्ने भएको हो ।
आगामी शैक्षिक सत्र देखि कक्षा ११ मा एकल पक्षीय पाठ्यक्रम कार्यान्वयन गरिने भएकाले संकाय अनुसार भर्ना गर्न नपाउने उनको भनाई छ । अबदेखि कक्षा ११ मा तीन वटा अनिवार्य विषय र ३ वटा ऐच्छिक गरी ६ वटा विषय पढाई हुने छ । कक्षा ११ का विद्यार्थीहरुले नेपाली, अंग्रेजी र सामाजिक अध्ययन अनिवार्य पढ्नुु पर्छ भने तीन वटा ऐच्छिक समूहबाट एक एक विषय छनोट गरी पढ्नुु पर्ने हुन्छ । उनका अनुसार विद्यार्थीहरुले पढ्न चाहेमा बाँकी रहेको समूहबाट थप ऐच्छिक विषय समेत पढ्न सक्नेछन् ।
कक्षा ११ र १२ विद्यालय तहमा गाभिएकाले संकाय प्रणाली हटाईएको बताउँदै उनले भने,“संकाय प्रणाली मात्र हटाइएको हो । विद्यार्थीहरुले विषय छनोट गरेर पढ्न पाउँछन् ।” ऐच्छिक विषयहरुमा विज्ञान, व्यवस्थापन र मानविकीमा पढाई हुँदै आएका विषयहरुलाई नै समेटिएको छ । विद्यार्थीहरुले ऐच्छिक विषय छनोट गर्दा आफूू पछि गएर कुन क्षेत्रमा जाने हो सोही अनुसार छनोट गर्न सक्ने उनको भनाई छ ।
कक्षा ११ मा १ सय ९ वटा ऐच्छिक विषयहरु रहेका छन् । विद्यालय÷कलेजहरुले आफूलाई उपयुक्त हुने विषय पठनपाठन गराउन सक्ने उनले खबर एजुकेशनलाई जानकारी दिए । आफूले कुन कुन विषयको कार्यक्रम सञ्चालन गर्ने हो । त्यही अनुसार शिक्षक व्यवस्थापन र शैक्षिक वातावरण निर्माण गर्न उनले विद्यालयलाई सल्लाह समेत दिएका छन् ।
यस वर्ष एसईई दिएका विद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार पढ्नुपर्ने हुन्छ । उनका अनुसार कक्षा ११ को ४३ विषयका पाठ्यक्रम विकास भई स्वीकृत भएका छन् भने थप ३२ ओटा पाठ्यक्रमको मस्यौदा तयार भई अन्तिम रुपमा विकास गर्ने कार्य भइरहेको छ ।