काठमाडौँ महानगरपालिका शिक्षा विभाग किन दिनदिनै विभादमा फसिरहेको छ ?

काठमाडौँ /११ मंसिर – झट्ट हेर्दा, सुन्दा काठमाडौँ महानगरपालिका समग्रमा विद्यार्थी र विद्यालयको शैक्षिक वातावरण सुन्दर बनाउन पर्छ भन्ने सोचमा लागेको छ । राम्रा कार्यक्रमको सुरुवात पनि गरेको छ । शिक्षामा सीप कति उपयोगी कार्यक्रम छ । यस कार्यक्रमले विद्यार्थीहरूको हात हातमा सीप हुनेछ । यस शिक्षामा सीप कार्यक्रम काठमाडौँ महानगरपालिका शिक्षा विभागले सुरु गरेको छ । यस कार्यक्रमले समग्र महानगरको इज्जत उचो पारेको छ ।


गत वर्ष २०७९ देखि सञ्चालनमा आएको यो कार्यक्रम उपयोगी छ तर व्यवस्थापनमा भने केही जटिलता रहेको छ । काठमाडौँ महानगरपालिकाले थालेको सुन्दर कार्यहरू देहाय बमोजिम रहेको छन :


१ . गत वर्ष २०७९ मा एसईईको नतिजा वृद्धिको लागि गरिएको लगानी


२. शिक्षामा ९ वटा सिपका देहाय बमोजिमका कार्यक्रम सञ्चालन गर्नु :


क) फेसन डिजाइन र टेलरिङ
ख) कुलिनरी आर्टस्
ग) कृषि तथा सहरी खेती
घ) कार्पेन्टरी र उड कार्भिङ
ङ) मोबाइल र इलेक्ट्रोनिक्स
च) प्लम्बिङ
छ) इन्डिजिनस र क्रन्टेम्पोररी मेसिनरी डिजास्टर रेडिनेस
ज) हाउस वाइरिङ्ग र इलेक्ट्रिकल
झ) ब्युटिसियन र हेयर स्टाइल


३. भोको पेटमा विद्यार्थी पढ्न सक्दैनन भन्ने सोचलाई आत्मबोध गरी कक्षा १० सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था ।


४. काठमाडौँ महानगरपालिका भित्रका प्रधानाध्यापकहरूलाई समय समयमा १ रात बाहिर रहने गरी गरिएको प्रशिक्षण ।


५. भर्खरै मात्र काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका केही प्रधानाध्यापक तथा व्यवस्थापनको नजिक रहेका शिक्षकहरूलाई बङ्गलादेश भ्रमण ।


६. यस पालीको लागि शिक्षामा सीप भन्दै कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि ९० घण्टे कार्यक्रम सञ्चालन गरी ठूलो धनराशि प्रत्येक विद्यालयमा विद्यार्थीको सङ्ख्याको आधारमा रकम निकासा गर्नु ।


७. विद्यालयको आवश्यकताको लागि विद्यालयसँग आवश्यक सामग्री वा उपकरणको लागि माग गर्न लगाउनु र त्यसको कार्यान्वयनको पाटोमा लाग्नु ।


८. सुन्दर विद्यालयको अवधारणा ल्याई प्रत्येक सामुदायिक विद्यालयलाई सुन्दर बनाउनको लागि केही रकमको निकासा गरी विद्यालयलाई कामको थालनी गर्न लगाउनु ।


९. हरित विद्यालयको अवधारण सृजना गरी प्रत्येक सामुदायिक विद्यालयमा फूलहरू रोप्न लगाउने र सुन्दर मात्र नभएर प्रकृति प्रेमीको रूपमा विद्यालयलाई हरियाली विद्यालयको रूपमा विकास गर्नको लागि उदेश्य राख्नु ।


१०. विज्ञान तथा गणित ल्याबलाई ३,५०,०००। विद्यालयलाई रकम निकासा गरी कार्यान्वयन गर्नु ।


११. विद्यालयको लागि आवश्यक सामग्रीको माग गर्न लगाउन ।


१२.विद्यार्थीहरूको दिवा खाजा निकासको लागि सिधै अनलाइन मार्फत गर्नु ।


१३. प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीहरूको समूह गठन गर्न लगाइ सामाजिकीकरणमा उत्प्रेरित गर्ने बाटोमा डो¥याउने ।


चुकेको स्थान :


१. शिक्षा ऐन तथा नियमावलीको आधारमा विद्यालयमा प्रधानाध्यापकको व्यवस्था नगर्नु ।


२.सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन सही तरिकाले नगर्नु ।


३. सही अर्थमा दरबन्दी मिलान गर्न नसक्नु ।


४. विद्यालय व्यवस्थापन समितिमा प्रत्येक वडाको वडा अध्यक्ष नै विद्यालय व्यवस्थापनको अध्यक्ष बनाउनको लागि कार्यविधि तयार गरी कार्यान्वयनको पाटोमा अदालतले अवरोध गरेकोले एक रूपता हुन नसक्नु । विद्यालय सञ्चालन गर्नको लागि विद्यालय व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । काठमाडौँ महानगरपालिका आफ्नो कारणले सामुदायिक विद्यालयमा फरक फरक प्रकृतिका विद्यालय व्यवस्थापन समिति हुनु ।


५. विद्यालय व्यवस्थापन समितिमा विद्यालयका आफ्नै अभिभावक मात्र भएमा विद्यालयको गतिविधिको वारेमा यथार्थ थाह हुने भएकोले उनीहरूको पहुँच विद्यालयमा हुनुपर्छ तर काठमाडौँ महानगरपालिका भित्र त्यस्तो हुन सेकेको छैन । नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालय व्यवस्थापन समिति गठनमा शिक्षा विभाग अडिग रहन नसक्नु ।


६. स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी, प्रहरी शिक्षक लगायत नेपाल सरकारको तलब भत्ता बुझ्ने व्यक्तिहरूलाई अनिवार्य रूपमा विद्यालयमा आफ्ना सन्तानको प्रवेश गराइ अध्यापन गराउनुपर्ने बाध्यकारी बनाउन नसक्नु ।


७. प्रधानाध्यापकको विज्ञापन गराउँदा विद्यालय व्यवस्थापनले गर्नुपर्ने कार्य शिक्षा विभागले आफै गर्नु । सामुदायिक विद्यालय भित्र पनि केही विद्यालयमा प्रधानाध्यापक सङ्घीय शिक्षा वा नियमावलीको आधारमा व्यवस्था गरेको तर बाँकी विद्यालयमा दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि २०८० को निर्माण गरी प्रधानाध्यापकको लागि विज्ञापन गर्नु । जुन कार्य विद्यालय व्यवस्थापन समितिको हो तर काठमाडौँ महानगरपालिका शिक्षा विभागले त्यसको प्रयोग आफैले गरेको हुँदा बारम्बार सम्बन्धित व्यक्ति वा संस्था अदालतको ढोका ढकढकाउनुपर्ने अवस्था सृजना गर्नु ।


८. विद्यालयमा कामको बोझ थप्नु तर कर्मचारीको व्यवस्था नगर्नु ।


९.विषयगत र तहगत रूपमा शिक्षकको व्यवस्था गर्न नसक्नु ।


१०. नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक र कर्तव्य राखी धारा ३१ मा शिक्षाको हकको कुरा लेखेको छ । उपधारा १ मा आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ र माध्यमिक तहको शिक्षा निःशुल्क भनेकोले काठमाडौँ महानगरपालिका र नेपालभरी नै माध्यमिक शिक्षा निःशुल्क गर्न सकेको छैन । काठमाडौँ महानगरपालिकाको मनग्य आम्दानी भएको हुँदा थप ११ र १२ कक्षाका कक्षा सञ्चालन गर्नको लागि काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ सञ्चालन गर्नको लागि केही रकम मात्र अनुदान दिने हो भने निःशुल्क रूपमा नेपालको संविधानले ग्यारेन्टी गरको हकको उपयोग गर्न काठमाडौँ वासीले भाग गर्ने स्थानको व्यवस्था गर्न नसक्नु ।


११. विद्यार्थी र विद्यालयको पक्षमा धेरै राम्रा काम भएका छन र हुँदै छन तर शिक्षक र प्रधानाध्यापकको लागि भने सेवा सुविधा उपलब्ध गराउन कन्जुस्याइँ गरेको छ । कुनै कार्यक्रममा लैजानको लागि प्रधानाध्यापकलाई बिहान राष्ट्रिय सभागृह ७ बजे बोलाइ साँझ ७ बजे सम्म राख्दा समेत अतिरिक्त सेवा सुविधा नदिएपनि कमसेकम त्यहाँसम्म पुग्नको लागि गाडि भाडाको त व्यवस्था गर्नुपर्ने हो , त्यो समेत गर्न सकेको छैन । अतिरिक्त समयमा शिक्षक तथा प्रधानाध्यापकहरूलाई कुनै कार्यक्रममा बोलाउँदै गर्दा अतिरिक्त समयको पारिश्रमिक उपलब्ध गराउनु पर्ने हो तर त्यसो हुने गरेको छैन ।


११. प्रत्येक शिक्षकलाई पाँच पाँच वर्षमा आफ्नो स्थानीय तहमा सरुवा गर्न नसक्नु ।


नगर्नु पर्ने कार्य :


१. विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा नचुक्न पर्ने हो ।


२. अहिले काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापकको लागि आफै विज्ञापन गर्नु हुँदैनथ्यो । यसले गर्दा सङ्घीय शिक्षा ऐन तथा नियमावलीमा बाझिन पुगेको छ । जसले गर्दा शिक्षाको क्षेत्रमा बारम्बार सरोकार वाला अदालत धाउनु गलत अभ्यास सुरु भएको छ । यसको रोकथाम गनुपर्ने थियो ।


गनुपर्ने के थियो त :


१. विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्ष पदेन सदस्य रहेको समयमा वडा अध्यक्ष नै पदेन विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्दै गर्दा वडा अध्यक्षले विद्यालयलाई समय दिन नसक्ने अवस्था छ । यसकै नाममा अदालतले व्यवस्थापन समितिको अध्यक्षको कारणले सामुदायिक विद्यालयमा असहज अवस्था छ । सबै विद्यालयमा एकै प्रकारको व्यवस्थापन समिति रहनुपर्ने थियो । यहाँ शिक्षा विभाग र समग्र काठमाडौँ महानगरपालिका चुकेको छ ।


२. सामुदायिक विद्यालयमा प्रधानाध्यापकको चयनको लागि शिक्षा विभागले अहिले रहेको शिक्षा ऐन तथा नियमावलीको आधारमा ४०, ४५ दिनको समय दिएर अनिवार्य रूपमा प्रत्येक विद्यालयमा प्रधानाध्यापकको लागि चयन गर्नको लागि विद्यालयमा पत्राचार गरी त्यो काम विद्यालय व्यवस्थापन समितिको भएको हुँदा सोही अनुसार गरेको भए अदालती झन्झट हुने थिएन । कसको कारणले शिक्षा विभाग काठमाडौँ चुकिरहेको छ । यसको समाधानको मार्ग खोज्नुपर्छ ।


३.काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको लागि स्थायी शिक्षकहरू मध्ये शिक्षा ऐन २०२८ ले व्यवस्थापन तोके अनुसार प्रधानाध्यापक चयन गर्नुपर्ने थियो । जसले गर्दा शिक्षा आफ्नो गतिमा अगाडि बढ्ने थियो ।


४. काठमाडौँ महानगरपालिकाले कमसेकम आफ्ना निवासीका सन्तालनलाई यहीँ रही उच्च शिक्षा हासिल गर्ने र रोजगारीको व्यवस्था पनि यही व्यवस्थापन गराउन सक्ने मार्ग खोज्नुपर्छ.।


५. काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा सबैको पहुँच हुनुपर्छ । कुनै पनि सामुदायिक विद्यालयले भर्नाको लागि पनि जो पहिला आउँछ उसले अवसर पाउनुपर्छ र त्यो वातावरण सबै सामुदायिक विद्यालयले त्यो वातावरण सृजना गर्नुपर्छ ।


६. सामुदायिक विद्यालयमा पनि खर्च गर्न नसक्ने बालबालिकाको लागि आवासीय व्यवस्था पनि गर्न सक्नुपर्छ ।


काठमाडौँ महानगरपालिका शिक्षा विभागमा देखिएको असहजताको शंका कसमा रह्यो ?


राजनीतिमा आउने व्यक्तिहरू सुरुमा सबै ऐन कानुनहरूको बारेमा जानकार नहुन सक्छन । त्यसैले कुनै पनि तहको स्थायी सरकार भनेको नै कर्मचारी हो । सम्बन्धित स्थानमा रहेका कर्मचारीहरूले सही सन्देश, सूचना, र योजना सही तरिकाले जानकारी दिइ जननिर्वाचित प्रतिनिधिहरूलाई बाटो देखाइ काम गरेको अवस्थामा मात्र प्रतिनिधिहरूले आफूले सोचेको समयमा कबुलिएको काम गर्न सक्दछन ।


सम्बन्धित स्थानको कार्यालय प्रमुखले सही दिशा निर्देश गरेको अवस्थामा मात्र जननिर्वाचित विभिन्न पदमा आसिन विभिन्न तहका सरकारले सही रूपमा काम गर्न सक्छन तर सही दिशा बोध नगराइदिदा एक काम थालनी गर्यो अर्को अदालत पुगीहाल्छ । अनि अदालतले स्टेअर्डर दिइरहेको हुन्छ । यही भैरहेको छ काठमाडौँ महानगरपालिका शिक्षा विभाग भित्र । कहीँ कतै जन निर्वाचित प्रतिनिधिहरूलाई असहज वातावरण त सिर्जना गर्न खाजिएको त छैन ? शंका गर्ने स्थान देखापरेको छ । हो त्यसैले जन प्रतिनिधिहरूको लागि सल्लाहकार चाहिँदो रहेछ ।


कस्तो सल्लाहकारको आवश्यकता पर्दछ त ?


सरकारका प्रतिनिधिहरूलाई सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेका व्यक्ति नै सल्लाहकारको रूपमा चयन गर्न सक्नुपर्छ , सम्भव भएसम्म त्यही स्थानमा रहेको व्यक्ति सल्लाहकार भएमा उसले धेरै कुरा बुझेको हुन्छ र सही सल्लाह दिन्छ जसले गर्दा काम गर्न सहज हुन्छ । जस्तै सडकमा काम गर्नु छ भने त्यही माटो, हावा र मौसमको जानकार भएको सिभिल इन्जिनियरले सही किसिमको सल्लाह दिन सक्छ । नेपालमा सल्लाहकार राख्दै गर्दा पनि विदेशी शैक्षिक योग्यता भएका र विदेशमा लामो समयसम्म रहेका व्यक्तिलाई सल्लाहकार राखियो भने उनीहरू विदेशको लागि ठीक तर स्थानीय तहमा बेठिक हुन पनि सक्छन । जव सल्लाहकारले सही सल्लाह दिन सक्दैन राजनैतिक नेतृत्व असफल हुन्छ ।


राजनैतिक नेतृत्व असफल भएमा देश नै असफल हुन पुग्दछ । आजको काठमाडौँ महानगरपालिकाको शिक्षाको आवश्यकता नै आवश्यकताको पहिचान र त्यसको कार्यान्वयनको पक्ष हो । समस्याको पहिचान भएतापनि कार्यान्वयनको पाटोमा काठमाडौँ महानगरपालिका शिक्षा विभाग चुकिरेहेको छ । यसले राम्रो संकेत गरिरहेको छैन ।
(लेखक चन्द्र कान्त पण्डित पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका शिक्षक हुन् ।)