तलब रोकिएपछि विद्यालय बन्द गरेर शिक्षक धर्नामा

सर्लाही / १० मङ्सिर – सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन् । चालु आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दासमेत नगर सभा हुन नसक्दा शिक्षकले तलब पाउन सकेका छैनन् । साउनदेखि तलब नपाएका शिक्षकले तलब माग गर्दै नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका हुन् ।


शिक्षकको आन्दोलनले बुधबारदेखि नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालय बन्द हुँदा पाँच हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । हरिपूर्वा नगरपालिका–५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय हरिपूर्वाकी शिक्षिका रीनाकुमारी साहले तलब दिनुपर्ने एक सुत्रीय माग राखेर धर्नामा बसेको बताउनुभयो । “विद्यालय बन्द गरेर धर्नामा बस्नुपर्ने अन्य कुनै कारण छैन । भोकै पेट कति दिनसम्म पढाउने ?“ साहले भन्नुभयो ।


नगरपालिकामा पटक पटक ध्यानाकर्षण गराउँदा दसैँतहार र छठ जस्ता प्रमुख पर्वमा समेत तलब नपाएपछि बाध्य भई धर्नामा बस्नु परेको आन्दोलित शिक्षकको गुनासो छ । हरिपूर्वा नगरपालिका ४ मा रहेको जनशक्ति प्राथमिक विद्यालय डुमरियाका प्रधानाध्यापक रामजीवन रायले गएको असोज १६ गते ज्ञापनपत्र बुझाएर तलब निकासा गरिदिन माग गरे पनि अहिलेसम्म तलब नपाएको बताउनुभयो ।


ज्ञापनपत्र बुझाएर नगर प्रमुखसमक्ष गुनासो राख्दासमेत सुनुवाइ नभएपछि नगरपालिका कार्यालयमा आएर धर्नामा बसेको उहाँले बताउनुभयो । “यत्तिका महिनासम्म तलब नपाउँदा टाढा टाढाबाट यहाँ आएर पढाउने शिक्षकलाई गाहो भएको छ,” रायले भन्नुभयो । नगर सभा गर्न नसक्दा हरिपूर्वा नगरपालिकाले शिक्षक, कर्मचारी कसैलाई पनि तलब खुवाउन सकेको छैन ।


नगरपालिकाका प्रमुख विनोद साह तेलीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर सभा गर्न नसकेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नपाउँदा आफू निरिह बनेको नगर प्रमुख साहको दुःखेसो छ । “नगर सभा गर्न नसकेरै यी सबै समस्या आएका हुन्, नगर सभा गर्न प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्न । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाइदिँदा आर्थिक गतिविधि ठप्प भएको हो,“ नगर प्रमुख साहले भन्नुभयो ।


हरिपूर्वा नगरपालिकामा गएको वर्ष चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएर गएदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन । असार अन्तिमतिर तलब, भत्ता खुवाउनका लागि मात्रै भनी प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रलाई पठाइएको थियो। मिश्र केही दिन हाजिर भएर पुनः मन्त्रालयमै फर्किनुभयो । त्यसपछि विभिन्न प्रमुख प्रशासकीय अधिकृत पठाइएकोमा कसैलाई बाटोबाटै र कसैलाई केही घण्टाभित्रै अन्यत्र सरुवा गराइएको नगर प्रमुख साहले बताउनुभयो ।


आफूले कयौं पटक मन्त्रालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन लिखित तथा मौखिक रूपमा आग्रह गरे पनि सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका खानेपानीमन्त्री महिन्द्रराय यादवले हस्तक्षेप गरेर कुनै पनि प्रमुख प्रशासकीय अधिकृतलाई आउनै नदिएको नगर प्रमुख साहले आरोप लगाउनुभएको छ । गोरखापत्रमा समाचार छ ।