विप्लप समूह निकट शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाण्डौं/१९ फागुन– धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित सुखवनी खोलाबाट नेकपा विप्लप समूह निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राति १२ बजे प्रदेश नं. २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मिथिला बिहारी नगरपालिका ३ बस्ने गौरीनारायण मण्डललाई पक्राउ गरेको हो । करिब तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम बिष्फोटमा उनको संलग्न रहेको प्रहरीले जनाएको छ । सो घटनामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान समेत गएको थियो । घटना विप्लव समूहले नै गराएको प्रहरीको दावी छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवका अनुसार सखुवनी खोलामा आइतबार विप्लव समूहका नेताहरू भेला हुने कार्यक्रमको सूचना पाएपछि सादा पोशाकमा प्रहरी परिचालन भएको थियो । प्रहरी आइरहेको सूचना पाएलगत्तै उनीहरू भागेका थिए । तर प्रहरीले लखेटेर मण्डललाई मात्र पक्राउ गर्न सफल भएका थिए । मण्डल नेकपा अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष हुन् । उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह निकट समेत रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।
५० वर्षीय गौरीनारायण मण्डल बम बिस्फोट कार्य तथा संगठित अपराध जस्ता विभिन्न आपराधिक कार्यमा संलग्नता रही महिनौं सम्म फरार रहेको प्रहरीको भनाई छ । उनी विरूद्ध कर्तव्य ज्यानको मुद्दा समेत दायर गरी अनुसन्धान सुरू गरिएको छ । उक्त घटनामा संलग्न भन्दै यसअघि समेत विप्लवकै ५ जना कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।