निर्घात कुटपिटबाट नमुना मा.विका विद्यार्थीको मृत्यु

काठमाण्डौं/१९ फागुन– छाँयानाथ रारा नगरपालिका–१ स्थित नमुना माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरत दिलीप भामको छात्रावासका सहयोगीको कुटपिटबाट मृत्यु भएको छ ।
सुस्त श्रवण भएका १३ वर्षिय दिलीपलाई सोही विद्यालयका छात्रवास सहयोगी अर्जुन सेजुवालले बिहीबार निर्घात कुटपीट गरेपछि शनिबार उनको निधन भएको हो । कुटपिटकै कारण आफ्नो छोराको मृत्यु भएको मृतक दिलीप भामका बुबा जंगबहादुर भामले बताए । उनका आफन्तका अनुसार कुटपिट पश्चात् घाइते भएका दिलीपलाई उपचारका क्रममा जिल्ला अस्पतालमा लगिएको थियो । बाहिरी चोट नदेखिएपछि भने डाक्टरले औषधि मात्र दिएर भामलाई फिर्ता पठाएका थिए । तर, उनको शनिबार बिहान छात्रबासमा मृत्यु भएपछि आफन्तले शनिबार नैं प्रहरीमा सेजुवालमाथि किटानी जाहेरी दिएको थियो ।
किटानी जाहेरी लगत्तै सेजुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृत्तकको शव पोस्टमाटम गरी आफन्तलाइ बुझाइसकेको छ । पोस्टमार्टम रिर्पोट र थप अनुसन्धानपछि मात्रै घटनाबारे विस्तृत रूपमा बताउन सकिने जिल्ला मुगु प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमदत्त जोशीले जानकारी दिएका छन् ।