काठमाडौं/१ साउन-विभिन्न शिक्षालय र शिक्षाकर्मीहरुलाई सम्मान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा विभिन्न सामुदायिक शैक्षिक संस्था, निजी शैक्षिक संस्था, शिक्षाविद् र शिक्षकहरुलाई सम्मान गरेको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथि रहेको उक्त सम्मान कार्यक्रममा २१ सामुदायिक विद्यालय, ३० निजी क्षेत्रका शैक्षिक संस्थाहरु र २० जनालाई विशिष्ट शिक्षा सम्मानबाट सम्मानित गरिएको थियो ।
व्यवाहारिक शिक्षाका माध्यमबाट मुलुकले समृद्धि
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताए ।
सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुनरुपमा शिक्षाको विकास हुनुपर्ने थियो त्यसरुपमा हुन नसकेको कुरा आएको सन्दर्भमा उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै आपसी हातेमालो गरेमा शैक्षिक विकासमा योगदान पुग्न सक्ने उल्लेख गरे ।
‘‘हामीले प्राप्त गरेको ज्ञान र ज्ञानको हस्तान्तरण गर्दै शैक्षिक विकास र व्यवाहारिक शिक्षाका माध्यमबाट मुलुकले समृद्धि हासिल गर्न सक्छ ।’’, उनले भने, ‘‘कानून र नीति निर्माण गर्ने सन्दर्भमा संसद्को भूमिकाका लागि मेरो सधैँ सकारात्माक भूमिका हुने हुनेछ ।’’
त्यसैगरी कार्यक्रममा सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शैक्षिक विकास तथा नीतिगत सुधार र कार्यान्वयनमा सम्बन्धित सरोकारवालाबाट साझा पहल हुनुपर्नेमा जोड दिए ।
शिक्षामा ६० प्रतिशत योगदान निजी क्षेत्रको
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको शिक्षा क्षेत्रमा करिब ६० प्रतिशत योगदान निजी क्षेत्रको भएको बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले भने ‘आइएफसीलए एउटा अध्ययन गरेको थियो । जसमा नेपालको शिक्षामा करिब ६० प्रतिशत योगदान निजी क्षेत्रको देखिएको छ ।’ उनले उद्योग वाणिज्य महासंघले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गरे पनि शिक्षाको हकमा त्यसको कमी महसुस भएको स्मरण गर्दै भने, ‘शिक्षा क्षेत्रका विषयहरूलाई सरोकारवाला निकायसम्म पुर्याउन सधैँ तत्पर रहने छौँ ।’



