काठमाडौं/१५ फागुन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुरका एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले शिक्षक इन्द्रसिंह थापा विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक सेवामा बहाल रही लाभसमेत लिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार उनको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बाराणसी अन्तर्गतको ड्रमण्ड इन्टर कलेज पिलिमित भारतबाट हाइस्कुल तह उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र नक्कली छ । उनको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिकको सजाय हुन माग दाबी गरेको अख्तियारले जनाएको छ ।