काठमाण्डौं/१२ फागुन– कास्कीस्थित पृथ्वीनारायण क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियु सभापति उम्मेद्वार पक्राउविरूद्ध विरोध गरेका छन् ।
बिहीबार नेकपा निकट अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु) र काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच भएको झडपबाट घाईते भएका अनेरास्ववियुका विराट दवाडी र विशाल पन्तको उजुरीपछि नेविसंघका स्ववियु सभापतिका उम्मेद्वार राजेश हमाल पक्राउ परेका थिए । त्यसैको विरोधमा आज नेविसंघका विद्यार्थीले गण्डकी प्रदेशसभा अगाडी टायर बालेर आधाघण्टा चक्काजाम गरेर नाराबाजी गरेका छन् भने पिएन क्याम्पस गेटअघि सरकारी नम्बर प्लेटको गाडि समेतलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
प्रहरीले नेविसंघका कार्यकर्ता सतिश बास्तोला, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, गौरव बराल, र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।सत्ता र शक्तिको आडमा प्रतिपक्ष उत्रेको भन्दै आफ्ना सदस्यलाई झुठा मुद्दा लगाएर फसाउन खोजिएको नेविसंघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिएका छन् ।
नेविसंघका कार्यकर्ताले क्याम्पस प्रमुखको राजिनामाको मागसहित हमाललाई विना शर्त रिहाई गर्न माग गरेको छ ।