निजी र सामुदायिक विद्यालयलाई एक आपसमा गाभ्नुपर्छ : शिक्षा मन्त्री


काठमाडौं/१३ फागुन–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालमा विद्यालय संख्या धेरै भएकाले निजी र सामुदायिक विद्यालयलाई एक आपसमा गाभ्नुपर्ने बताएका छन् ।
सोमबार भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १३ औं राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले विद्यालय संख्या घटाउनका लागि निजी र सामुदायिक विद्यालयलाई एक आपसमा गाम्भ समेत सकिने बताए । नेपालको शिक्षामा सुधार गर्नका लागि घोकेर तीन घण्टा परीक्षा दिने परम्परागत प्रवृत्ति हटाउनु पर्ने उनको भनाई छ ।
त्यस्तै,उनले निजी विद्यालय सञ्चालकहरुलाई लिम्पियाधुरा र कालापानी नभएको नेपाली नक्सा पाठ्यक्रममा समावेश नगर्न आग्रह गरेका छन् । आगामी शैक्षिक सत्रबाट लिम्पियाधुरा र कालापानी नभएका नक्सा नपढाउन उनले आदेश दिएका हुन् ।
उनले राष्ट्रिय शिक्षा नीति, २०७६ मा आधारित रही विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षाको छाता ऐनको तयारी भएकाले त्यसको निर्माणमा सरोकारवालाहरुसँग निरन्तर छलफल गरिने जानकारी दिए ।
त्यस्तै, कार्यक्रम प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयप्रति राज्य पूर्वाग्रही भएको गुनासो गरे । उनले सरकारले निजी विद्यालयलाई विभेद नगर्न समेत सरकारलाई आग्रह गरेका छन् ।