काठमाडौं/१२ फागुन–गत असोज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परीक्षाको नतिजा आउन अझै केही समय लाग्ने भएको छ ।
फागुनको पहिलो साता नै माध्यमिक तहको शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गर्ने शिक्षक सेवा आयोगले तयारी गरेको भएपनि अझै केही दिन लाग्ने आयोगका प्रशासकिय प्रमुख बैकुण्ठ अर्यालले जानकारी दिए । आयोगले यसअघि माघ अन्तिममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक समस्याको कारण देखाउँदै फागुनको पहिलो साता प्रकाशित गर्ने जनाएको थियो । तर, आयोगले फागुनको पहिलो साता पनि नतिजा प्रकाशन गर्न सकेन । प्रशासकिय अर्यालले एक÷दुई दिनमा नतिजा प्रकाशित हुने बताउँदै यहि दिन भनेर तोक्न नमिल्ने खबर एजुकेशनलाई जानकारी दिए । छिट्टै नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग रहेको उनको भनाई छ ।
आयोगका अनुसार सबै तहको उत्तरपुस्तिका परीक्षणको काम सकिसकेको छ । आयोगले मावि, निमावि र प्रावि तहको नतिजा क्रमश सार्वजनिक गर्ने जनाएको छ । गत असोज ११, १२ र १३ गते आयोगले मावि तहको विभिन्न तीन, निमावि तहको एक र प्रावि तहको एक गरी पाँच किसिमको विज्ञापनमा शिक्षक लाइसेन्स परीक्षा सञ्चालन गरेको थियो । लाइसेन्स परीक्षामा प्रावि तहमा ६६ हजार ५ सय ९५, निमावि तहमा ५६ हजार १ सय ४० र मावि तहमा १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएका थिए ।