एनओसीमा नक्कली धन्दा, गलत गर्ने शैक्षिक परामर्शको नाम अनलाइनमा राखिने

काठमाडौं/१३ मंसिर-शैक्षिक परामर्श संस्थाहरुले विदेश अध्ययनमा जाने विद्यार्थीहरुको एनओसीमा नक्कली धन्दा गर्न थालेपछि वैदेशिक अध्ययन अनुमति शाखा(एनओसी)ले यसलाई रोक्ने तयारी गरेको छ । केही शैक्षिक परामर्श संस्थाहरुले विद्यार्थीको झुटो विवरण पेश गर्ने, नक्कली कागजात खडा गरेर आवेदन दिने र एउटै विद्यार्थीको नामबाट धेरै पटक एनओसी लिएपछि यसलाई रोक्ने तयारी गरेको हो ।


शैक्षिक परामर्श संस्थाहरुले एउटै विद्यार्थीको धेरै पटक एनओसी लिनका लागि एउटा व्यक्तिको नामबाट अर्कै व्यक्तिको आवेदन भरीदिने, अरु नै विद्यार्थीको नागरीकतालाई नक्कली बनाएर आवेदन हाल्ने र एनओसी लिने गरेको पाइएको शिक्षा मन्त्रालयको भनाई छ ।


मन्त्रालय स्रोतका अनुसार विद्यार्थीले अध्ययनका लागि जान चाहेको देशको भिसा नलागेपछि अर्को देशमा जान पुनः एनओसीको आवश्यकता पर्ने हुनाले शैक्षिक परामर्श संस्थाहरु आफैले अरुको नामबाट आवेदन दिने र अरुको नागरिता नम्बरलाई मिलाई नक्कली नम्बर बनाई आवेदन दिने लगाएतका नक्कली धन्दा गरेको जानकारी दिएको छ ।


“वैदेशिक अध्ययन अनुमति शाखाले विद्यार्थीहरुलाई एनओसी लिन सहज होस भनेर केही समय अगाडी दैनिक कोटा निर्धारणको अभ्यास गरेको थियोे । तर त्यसो गर्दा सबै कोटा शैक्षिक परामर्श संस्थाहरुले नक्कली आइडी खडा गर्ने, नक्कली कागजात बनाएर कोटा होल्ड गरेर राखिदिने गरेकाले सर्वसाधरणको पहुँच नहुने देखिएपछि अहिले त्यो व्यवस्था हटाइएको छ” स्रोतले भन्यो ।


एउटै विद्यार्थीले पटक पटक गरेर धेरै एनओसी निकालेपछि मन्त्रालयले आवेदन दिँदा नागरिकता नम्बर अनिवार्य राख्नुपर्ने बनाएको छ । नागरिकता नम्बरका आधारमा विद्यार्थीले एनओसी लियो लिएन वा कति पटक लियो, विद्यार्थी स्वयम्को हो वा होइन, कुन कुन आईडीबाट एनओसी लिएको छ सबै हेर्न सकिने व्यवस्था गरेको छ । यो सँगै नागरिकताको सक्कली कपि र आवेदन भरेको नम्बर समेत जुधाएर हेरिने र मिलेको खण्डमा मात्र एनओसी जारी गरिएको शाखाले जानकारी दियो । साथै एनओसी लिँदा अनिवार्य रुपमा नागरीता देखाउनुपर्ने व्यवस्था गरेको छ ।


यसका लागि मन्त्रालयले ६ मिहनाभित्र पूर्ण रुपमा अनलाइन एनओसी वितरण गर्ने लक्ष्य राखी प्राविधिक समिति समेत गठन गरेको छ । विद्यार्थीलाई कुनै पनि कठिनाई नहोस र शैक्षिक परामर्श संस्थाले नक्कली धन्दा नगरुन भनेर यसलाई व्यवस्थित गर्नका लागि अहिले काम भइरहेको समेत मन्त्रालय स्रोतको भनाई छ ।


मन्त्रालयले शाखाभित्रका केही कर्मचारी र शैक्षिक परामर्श संस्थाहरुको मिलेमतोमा छिटो र लाइन नै नबसी एनओसी निकालिदिने र आवश्यकता अनुसार एनओसी जारी गरि विद्यार्थीसँग पैसा असुलेको समेत पाए पछि कर्मचारीलाई समेत हटाइएको बताएको छ ।


त्यसैगरी पूर्ण रुपमा अनलाईन एनओसी वितरण गर्ने कार्य सुरु भएपछि विद्यार्थीको एनओसी निकाल्न दलाली गर्ने र नक्कली बनाउने शैक्षिक परामर्श संस्थाहरुको नामावली अनलाईनमा नै राखिने र नविकरण नगरीने तयारी मन्त्रालयले गरेको छ ।


एउटै विद्यार्थीको अर्को एनओसी निकाल्नु परेको खण्डमा विद्यार्थीले विश्वविद्यालय वा कलेजमा पठाएको पैसा बैङ्क मार्फत फिर्ता भएको प्रमाण पेश गरेको खण्डमा मात्र अर्को एनोसी जारी गरिने जनाएको छ । कुनै पनि विद्यार्थीले शैक्षिक परामर्श संस्थाबाट पठाएको पैसा वा फिर्ता आएको पैसाको विवरण बाट एनओसी जारी नगरीने समेत जनाएको छ ।


नक्कली धन्दा गर्ने तीन शैक्षिक परामर्शलाई स्पष्टीकरण :


वैदेशिक अध्ययन अनुमति शाखाले विदेश अध्ययनमा जाने विद्यार्थीहरुको एनओसी निकाल्न नक्कली कागजात र फरक नामबाट आवेदन दिएपछि तीन शैक्षिक परामर्श संस्थालाई स्पष्टीकरण सोधेको छ ।


उनीहरुले एउटा विद्यार्थीको नागरीता नम्बरमा फरक नम्बर भरेर नक्कली बनाएको, नक्कली आइडी खडा गरी आवेदन दिएको र एउटा विद्यार्थीको आइडी प्रयोग गरी आफुलाई आवश्यक पर्ने विद्यार्थीको एनओसीका लागि आवेदन दिएका थिए ।


चितवनमा रहेको एउटा शैक्षिक परामर्श संस्थाले नाम मिल्ने अरु नै विद्यार्थीको नागरीतालाई नक्कली बनाएर नम्बर मात्र फरक पारी आवेदन दिएको भेटिएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।


त्यसैगरी पुतलीसडक स्थित विगत १५ वर्ष भन्दा बढी अष्ट्रेलिया काम गर्दै आएको एउटा शैक्षिक परामर्श संस्थाले एक विद्यार्थीको आइडी नम्बर प्रयोग गरी एनओसीका लागि आवेदन दिएको पाइएपछि स्पष्टीकरण सोधेको थियो ।


क्यनडाका लागि काम गर्दै आएको मैतीदेवि स्थित एउटा शैक्षिक परामर्श संस्थाले वलामी थरको (नाम नखुलाउने सर्तमा) आइडी प्रयोग गरी श्रेष्ठ थरका विद्यार्थीको एनओसी लिन आवेदन दिएको पाइएको मन्त्रालयले जनाएको छ । उक्त कन्सल्टेन्सीले विगत देखिनै गैरकानूनी काम गर्दै आएको समेत पाइएको छ ।


मन्त्रालयले तीन वटै शैक्षिक परामर्श संस्थाहरुलाई सपष्टीकरण सोधिसकेको छ । उनीहरुले आगामि दिनमा गैर कानुनी कार्य नगर्ने यदी गरेको खण्डमा नविकरण रोक्न सक्ने भन्दै लिखित रुपमा स्पष्टीकरण दिएका छन् । मन्त्रालयले उक्त शैक्षिक परामर्शहरुलाई आन्तरीक रुपमा रेड लिष्टमा राखेको छ । स्रोतले गैरकानूनी कार्य गर्ने अन्य शैक्षिक परामर्शलाई पनि स्पष्टीकरण सोध्ने तयारी भइरहेको समेत जनाएको छ ।


विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, मन्त्रालय र विभागहरुसँग इन्ट्रिग्रेड गरीने :


मन्त्रालयले पूर्ण रुपमा अनलाईन एनओसी वितरण गर्ने तयारी गरेको जानकारी दिँदै विद्यार्थीको विवरण विश्वविद्यालय, अध्यागमन विभाग,चिकित्सा शिक्षा आयोग, बैङ्क, मेडीकल काउन्सिल, कुटनीतिक नियोग, नेपाली राजदुतावासहरु लगायतसँग इन्ट्रिग्रेड गर्ने गरि प्रक्रिया अगाडी बढाएको छ ।


त्यसैगरी अनलाईन सफ्ठवेर लागू भएपछि नेपालबाट विद्यार्थीहरु विश्वको कुन कुन विश्वविद्यालयमा कुन विषय, कति अवधिका लागि पढ्न गएका छन् सबै विवरण अनलाइन मै राखिने भएको छ । मन्त्रालयले विश्वविद्यालय र कलेजको विवरण अनलाइन मै राखेर पढ्न जान योग्य छ वा छैन, नेपाल सरकारले मान्यता दिएको छ वा छैन अनलाइन बाटै विद्यार्थी तथा अभिभावकले हेर्न मिल्ने बनाउन लागिएको जनाएको छ ।


साथै एनओसी लिएका कति विद्यार्थी विदेश अध्ययनमा गए वा गएनन् इमिग्रेसनसँग इन्ट्रिग्रेड गरी यसको समेत अनुगमन गरीने र विवरण रखिने भएको छ । अहिले सम्म मन्त्रालयसँग विदेश अध्ययनमा गएको विद्यार्थीहरुको कुनै रेकर्ड छैन ।


नयाँ आर्थिक वर्ष यता वैदेशिक अध्ययन अनुमति शाखाले गरेका काम :


वैदेशिक अध्ययन अनुमति शाखाले विदेश अध्ययनमा जाने विद्यार्थीहरुका लागि रीतपूर्वक कागजात संलग्न राखी अनलाइन आवेदन दिएका आवेदकहरूको ढिलोमा ४८ घण्टाभित्र एनओसी उपलब्ध गराएको जनाएको छ । आवेदन दिएको २४ घण्टाभित्र रूजू गर्ने र रूजू भएको ढिलोमा अर्को २४ घण्टाभित्र एनओसी वितरण गर्ने कार्यलाई व्यवहारतः कार्यान्वयन गरिएको दाबी गरेको छ ।


फोन, भाइबर तथा ईमेलबाट गुनासो प्राप्त गरी सोको सुनुवाई गर्ने कार्यको प्रारम्भ गरेको र दैनिक रुपमा सेवा लिन आउने सबै सेवाग्राहीहरूलाई अबेरसम्म कार्यालय खुला राखेर भएपनि सेवा प्रदान गर्दै आएको बताएको छ ।


अपाङ्ग, अशक्त र जेष्ठ नागरिक तथा विरामीहरूलाई प्राथमिकता दिई सेवा प्रवाह गर्नुका साथै महिला र पुरूषलाई छुट्टाछुट्टै लाइनबाट सेवा प्रवाह गरेको छ । योसँगै ६ मिहनाभित्र पूर्ण रुपमा अनलाइन मार्फत एनओसी वितरण गर्ने लक्ष्य राखी प्राविधिक समिति गठन गरि काम आगाडी बढाएको एनओसि शाखाले जानकारी दियो ।