सार्वजनिक विद्यालय सुधार गर्न अब यसो गरौं

नवलपुर/९ साउन-स्थानीय, प्रादेशिक वा राष्ट्रिय रुपमा सार्वजनिक विद्यालय र निजी विद्यालयको एसईई को नतिजालाई आधार मानेर राम्रो वा नराम्रोको संज्ञा दिने प्रचलन छ । वास्तवमा यो ठिक होइन । सार्वजनिक विद्यालयको नतिजा सुधार्न राज्य पक्षवाट विभिन्न शिर्षकमा लगानी नभएको पनि होइन । चाहे राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम होस् वा नमूना विद्यालय घोषणा कार्यक्रम होस् वा आईसिटी कार्यक्रम होस् लगानी भइरहेकै छ्र । शैक्षिक सुधारको लागि भौतिक सुविधा मात्र चाहिन्छ भन्ने होइन खासगरि शैक्षिक सुविधालाइ बढी फोकस गर्न जरुरि हुन्छ । हाम्रो देशको सन्दर्भमा हेर्दा शैक्षिक अवस्था सुधारको लागि मुख्यगरि ४ वटा पक्षलाई मुल्यांकन गर्न पर्दछ्र ति हुन् :


क) पहुँच
ख) व्यवस्थापन
ग) इफिसेंसी
घ) सिकाई उपलब्धि


माथि उल्लेखित बुँदाहरुमध्ये क, ख र ग का बुँदाहरुमा केहीमात्रामा सन्तुष्टी भएतापनि सिकाइ उपलब्धिमा भने हामी धेरै पछाडी नै छौं । तसर्थ म आफु एक शिक्षक भएको नाताले सार्वजनिक विद्यालयमा सिकाइ उपलब्धि वृद्धी गर्नको लागि एकदमै तल्लो तहबाट नियालेर हेर्दा निम्नानुसारको भूमिका तपसिलका संस्था वा समुहले अनिवार्य रुपमा निर्वाह गर्नुपर्दछ्र ।


शिक्षकको भूमिका :


१. कक्षा कोठामा ठिक समयमा पाठ सिकाउने मात्रै होइन कि निर्धारित उद्देश्य पुरागर्न मुस्कान सहित प्रवेश गर्ने ।


२.विद्यार्थीको चाहना, अवस्था र पाठको प्रकृतिलाइ सुक्ष्म रुपमा बुझेर शिर्षक अनुसार पढाउने शैली परीवर्तन गर्दै लागु गर्ने ।


३. पाठ अनुसारको कम्तिमा पनि २/३ वटा विशिष्ट उद्देश्य अनिवार्य लिखित रुपमै लैजाने ।


४. विद्यार्थीलाई धेरै भन्दा धेरै जोडी कार्य, सामुहिक कार्य वा समुदायसँग सम्बन्धित सामुदायिक कार्यमा समावेश गर्ने (प्रयोगात्मक / जिवन उपयोगी) ।


५. प्रश्न सोध्दा एप्पल टेक्निक प्रयोग गर्ने ।


६. आइसीटी सम्बन्धि तालिम लिएर वा आफै सिकेर निपुर्ण हुने र आइसिटीको माध्यमबाट अध्यापन गर्ने ।


७. कम्तिमा पनि हप्तामा २ पटक गृहकार्य जाँच गर्ने ।


८. म त पढाएकै यति बर्ष भयो भन्दै अपडेट हुन नखोज्ने ।


९. मुस्कान र शैक्षिक सामग्रीका साथ कक्षामा प्रवेश गर्ने ।


१०. प्रशासनले दिएको जिम्मेवारी पूर्ण रुपमा पुरा गर्ने ।


११. आफ्नो विषयको आफैले तालिका निर्माण युनिट प्लान बनाएर युनिट टेस्टको सबै प्राप्त नम्बर जोडी प्रयोगात्मक मुल्याङ्कनमा जोड्ने र नतिजा प्रकाशन गर्ने ।


१२.विद्यार्थीहरुसँग साथिको व्यवहार गर्दै उनिहरुलाई नियन्त्रण पनि गर्ने । कहिलेकाहीँ उनीहरुँंगै बसेर खाजा खाने वा खेल खेल्ने जस्ता क्रियाकलाप गर्ने ।


१३. मोडेल शिक्षकको रुपमा प्रस्तुत हुने ।


१४. एसेम्ली कन्डक्ट सकभर विद्यार्थीलाई नै गर्न लागाउने ।


१५. विद्यार्थीलाई अनिवार्य साप्ताहिक अवार्ड गर्ने ।


१६ सबैभन्दा बढी हाजिरी हुने विद्यार्थी र शिक्षकलाई मासिक रुपमा अनिवार्य पुरस्कृत गर्ने ।


१७. ईसीए संचालनमा सक्रिय भूमिका निर्वाह गर्ने ।


१९. अभिभावक भेटघाट तालिका बनाएर वा विना तालिकामा पनि समय समयमा गरिरहने ।


२०. राजनीतिमा सहभागी नहुने ।


२१. सिकेको कुरालाई कक्षा कोठामा प्रयोग गर्ने र सुधारको लागि आगामी तालिममा सुझाव पेश गर्ने ।


विद्यालय प्रशासनको भूमिका :


१. विद्यालय प्रशासनले प्रत्येक कक्षाकोठामा कर्नरको व्यवस्थापना गर्ने र उक्त कर्नरमा सम्बन्धित कक्षाको सम्पूर्ण पुस्तकहरु, आवश्यक शैक्षिक सामग्री, मार्कर एवं मार्कर इन्कको व्यवस्थापन गर्ने ।


२. पुरै समय विद्यालयमा शिक्षक स्टाफ एवं विद्यार्थीसँग बिताउने ।


३. सबैलाई न्यायोचित र समान व्यवहार गर्ने ।


४. ठिक ठिक समयमा शिक्षक एवं कर्मचारीलाइ तलब खुवाउने ।


५. मासिक रुपमा उत्कृष्ट शिक्षक अवार्डको व्यवस्थापन गर्ने ।


६. शिक्षक स्टाफलाइ सामुहिक प्रोत्साहन गर्ने /व्याक्तिगत फिडव्याक दिने ।


७. बिज्ञ वा स्रोत शिक्षकवाट कक्षा अवलोकन गराउने र उत्कृष्ट शिक्षक अवार्डको व्यावस्था गर्ने ।


८. हरेक निर्णय प्रक्रियामा शिक्षक र विद्यार्थीलाई पनि अपनत्व विकासको लागि समाबेश गर्ने ।


९. राजनीतिमा समावेश नहुने ।


१०. शिक्षकलाई तालिम वा सेमिनारमा न्यायोचित ढंगले निर्धक्क भएर अग्रिम शुभकामनाका साथ पठाउने र आएपछि प्रयोगात्मक कक्षा हेर्ने ।


११. विद्यालय शीक्षामा कक्षा ८ र १० बाहेक सेमेस्टर सिस्टम लागु गर्ने ।


१२. शिक्षक अभिभावक मनिटर एबम बिद्यार्थीसंग नियमित बैठक र अन्र्तक्रिया गर्ने ।


१३. बेलाबेलामा रिफ्रेस्मेंटका (पिकनिक, टुर,तालिम, एक्सपोजर भीजीट आदि) का कार्यक्रमहरु राख्ने ।

१४. सिकाइ उपलब्धि वृद्धीको लागि ऐन र नियमावली खाचो पर्दैन भन्ने दृढ विश्वास राख्ने ।

१५. कक्षाकोठाको मनोवैज्ञानिक तरीकाले व्यवस्थापन गर्ने ।


१६. विद्यालयमा गुनासो पेटिका, सुचना पार्टीको लगायत सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम राख्ने ।


१७. हाजिरी, सिसिटिभी निगरानी तथा नैतिक शिक्षालाई उच्च स्थान दिदै “राम्रा शिक्षक नै हाम्रा शिक्षक” भन्ने भावनाको विकास गर्ने ।

स्थानीय निकायको भूमिका :


१. प्राधनाध्यापकलाई नियमानुसार न्यायोचित परिक्षा लिएरमात्र ५ बर्षे एकेडेमीक हेड मास्टर÷मा नियुक्ति गर्ने । ५ बर्षपछी आवश्यक परेमा विद्यालय परिवर्तन गरेर नियुक्ति दिने अन्यथा कक्षाकोठाम पढाउने शिक्षकको रुपमा परिवर्तन गर्ने ।


२. विद्यालय व्यवस्थापन समिति वा स्थानीय निकायले भौतिक निर्माणका लागि छुट्टै व्यवस्था गर्ने ।


३. राजनितिमा संलग्न हुनेलाई पूर्ण कार्वाही गर्ने ।


४. बजेटको लागि राजनैतिक रंगको आधारमा स्थानीय, प्रादेशिक वा केन्द्रिय निकायमा जवर्जस्ती नमस्कार गर्दै धाउनपर्ने परिपाटीको तुरुन्त बन्देज गर्ने ।


५. नियम र आवश्यकता अनुसार अटोमेटिक बजेट विनियोजन हुने प्रणालीको विकास गर्ने ।


८. राजनीतिलाई अलग गरी उसको मेहनतको आधारमा विषयगत रुपमा उत्कृष्ट शिक्षक अवार्डको व्यवस्था गर्ने ।


मेरो अनुभवमा सामान्यतया यति मात्र गर्न सकियो भने अवश्य पनि सार्वजनिक विद्यालयको सिकाई उपलव्धिमा बृद्दी हुन्छ ।


(मनोज बिक्रम बिस्ट जनक नमूना मा बि , गैडाकोट ५ नवलपुरका अंग्रेजी शिक्षक हन् ।)