प्रा. डा. विद्यानाथ कोइराला
किन विदेशिए ? रोक्ने कसरी हो ?
१. घर छोडेर विद्या आर्जन गर्ने हाम्रो सास्कृतिक सम्पदा हो । गुरुकुलमा पढे पनि । बिहार, बही तथा गुम्बामा पढे पनि । मदरसामा पढे पनि । यो सांस्कृतिक सम्पदाले हामीलाई घर छोडाइ स्वाभाविक मान्यो । अभिभावकले स्वीकार्ने । विद्यार्थीले स्वीकार्ने । विदेशिनु पनि बसियतकै निरन्तरता हैन र ?
– त्यसो भए केही समय विदेशिने र सिकेर आउँने संस्कार बनाए के हुन्छ ? वुद्धमार्गीको केही दिनको भन्ते बन्ने अभ्यास हामीसँगै छ । युवाले देश देशान्तरको शिक्षा लिन विदेशिनुपर्छ भन्ने शुक्रनीति हामीसँगै छ । बरु के सिकेर आऊ भन्ने हो त्यो कुराको तय गर्ने तथा तालीम पो दिने हो कि ?
– त्यसो भए प्रविधिको सहायतामा शिक्षालयहरुले विदेशको शयर गराउँने प्रवन्ध गरे के हुन्छ ? मेरो सोचले भन्छ : अहिलेको प्रविधिले र्भच्युयल्ली विदेश हेर्न पाइन्छ । सुख हेरे पनि । दुःख हेरे पनि । सम्भावना हेरे पनि । यो सुविधा विस्तार गरे के हुन्छ ? त्यो हेराइको आधारमा यस्तै देश बनाउँन युवाहरु के गर्न सक्छौं ? अरुहरुले के गर्नुपर्छ भन्ने संवादलाई देशैभरी संस्थागत गरे के हुन्छ ?
२. स्वदेशी शिक्षालयमा क्यालेण्डरले काम गर्दैन । हडताल, आन्दोलन, दलगत विवाद, तालाबन्दी, बलमिच्याइँ आदिले गर्दा समयमा पढाइ पनि हुन्न । जाँच पनि हुन्न । भर्ना पनि हुन्न । विदाइ पनि हुन्न । अर्थात शिक्षान्त पनि हुन्न । दीक्षान्त पनि हुन्न । त्यसैले युवाहरु विदेशिन्छन । यो हाम्रो नियति हो ।
– त्यसो भए शिक्षालयले एकसाथ खुला तथा बन्द मोडका कार्यक्रम चलाए के हुन्छ ? कुनै पनि तहको पढाइमा अनुसन्धानमा आधारित डिग्री दिने संस्कृति बनाए के हुन्छ ? हडताल, आन्दोलन, दलगत विवाद, तालाबन्दी, बलमिच्याइँ केहीले पनि असर नगर्ने यो तरीका किन नअपनाएको हो हामीले ? किन हामी यही थाङने समस्यामा अल्झिएको हौं ? माथि उठन मिल्दैन र ?
३. नो अब्जेक्सन लेटर लिनेहरु लाखौं छन । तीमद्धे केही विदेशिन्छन । विदेशिएकामद्धे शिक्षामन्त्री देवेन्द्र पौडेलको शब्दमा १० प्रतिशतले पढ्ने हुन । अष्ट्रेलियाको हकमा । कन्सल्ट्यान्सीको शब्दमा ३० प्रतिशत जति पढ्छन । औषत २० प्रतिशत पढ्नका लागि विदेशिन्छन । कमाएर पढ्ने ठाउँको खोजीमा । बाँकी कमाउँन विदेशिन्छन । ऋण तिर्नका लागि । भौतिक समुन्नतिका लागि । त्यस्तै अभिभावकको वन्धनबाट टाढा रही स्वतन्त्र जीवन ब्यतित गर्न विदेशिन्छन । साथीको लहैलहैमा विदेशिन्छन । जे त पर्ला आफनो क्षमता, भाग्य, तथा रहरको परीक्षण गरौं भनी विदेशिन्छन ।
– त्यसो हो भने ती २० प्रतिशत विद्यार्थीले पढन खोजेको विषयहरु के के हुन भनी युवाहरुसँग जानकारी लिन मिल्दैन र ? ती विषयहरु कस्ले दिन सक्छौं भनी विश्वविद्यालय तथा तिनका क्याम्पसले संवाद गर्न मिल्दैन र ? युवाले सोचेको विश्वविद्यालय तथा क्याम्पससँग संम्झौता गरेर आफनैं देशमा त्यो पढाइ गर्न सकिंदैन र ? विदेशी विश्वविद्यालयसँग सम्वन्धन लिएका देशका ८० —८५ वटा कलेजले त्यही काम गरेका हैनन र ? माथि भनेझैं त्यहाँ पनि खुला तथा बन्द मोड दुवै चलाए हुँदैन र ? अनुसन्धानमा आधारित पाठ्यक्रमको प्रवन्ध गरे गराए हुँदैन र ? किन गरेनौं हामीले ? केले रोक्यो ?
– त्यसो हो भने कमाएर पढछौं भनी विदेशिने युवालाई उत्पादन तिम्रो । बेच्ने जिम्मा मेरो भन्ने बंगलादेशको ब्राकको तरीका अपनाउँनु हुँदैन र ? सोच तिम्रो, लगानी मेरो भन्ने महावीर पुनको तरीका अपनाउँनु हुँदैन र ? सोच, खोज, र मोजका लेखक कर्ण शाक्यको तरीका अजमाउँन मिल्दैन र ? दिल्लीको केजरीवालको चिन्तन लागु गर्न मिल्दैन र ? सुर्खेत बड्डीचौरका नारायण सिग्देलको तरीका अपनाउँनु हुँदैन र ? स्कूल, कलेजमा मदन राईको अभ्यास लागुगर्न सकिंदैन र ? बेलायतमा पढेकी नेपाली एवं पाकिस्तानी केटीहरुको उद्यमशीलता लागुगर्न मिल्दैन र ? प्लट मेरो । कमाइ तिम्रो । ऋण पाउँने तरीकाले लगानी मेरो भन्न मिल्दैन र ? क्याम्पसमा भर्ना हुँदा हर विद्यार्थीसँग केही रकम लिएर ऋणकोष बनाई सोही रकमबाट ऋण दिन मिल्दैन र ? अथवा बिसे नगर्चीले पृथ्वी नारायण शाहलाई रु १ दिएको चिन्तन कार्यान्वयन गर्न सकिंदैन र ? यसो गर्नासाथ कमाएर पढन जानेहरु स्वदेशमैं अडिने थिए कि ?
– कमाउँन जानेहरुले संभावना खोजे । यसको अर्थ होः हाम्रो राजनीतिक नेतृत्व तथा हामी जानकार भन्नेहरुले स्वदेशको सम्भावना नैं देखाएनौं । कमाउँने सम्भावना । पोलेको तथा उसिनेको मकै बेच्नेले देखे देखाएको सम्भावना । चना चटपटे तथा पानीपुरी बेच्नेले देखाएको सम्भावना । राम लक्ष्मणले देखाएको सम्भावना । नगर प्रमुख भरत थापाले देखे देखाएको सम्भावना । कर्ण शाक्यले देखेको सम्भावना । नारायण सिग्देलले देखे देखाएको सम्भावना । महाबीर पुनले देखाएको सम्भावना । युवा आफैंले देखेको सम्भावना । चीनियाहरुले गरीव घरपरिवारलाई उठने तिमी हो । सहयोग हाम्रो हो भन्ने तर्किबबाट धनी बनाउँने संस्कार बनाएको सम्भावना । यी र यस्ता सम्भावनामा लगानी गर्न पालिकालाई जिम्मेवार बनाउँन सकिंदैन र ? किन हामीले यो काम गरेनौं ? गर्दैनौं ? गराउँदैनौं ?
– युवाहरुले खोजेको राम्रो घर हो । आधुनिक सुविधायुक्त । यसो हो भने हर पालिकाले युवाहरुलाई चालीस वर्षे लीजमा जग्गा दिए हुंदैन र ? सार्वजनिक जग्गा दिए पनि । पालिकामा रहेका नकमाइएका निजी जमीन लिने संझौता गरेर दिएपनि । जमीन तथा आधुनिक सुविधा लिए बापत किस्तावन्दीमा कमाउँदै तिर्दै गर्ने गराउँने पूजीवादी देशको अभ्यासको थालनी गरे हुँदैन र ? विश्वविद्यालय, तिनका क्याम्पस, तथा विद्यालयहरुसँग संवाद गरेर यो कामको थालनी गर्न गराउँन मिल्दैन र ? किन हामीले यो अभ्यास गरेनौं ? गराएनौं ?
– स्वतन्त्र जीवन विताउँन चाहने युवाले अभिभावकसँगको संवाद खोजे । यसको अर्थ होः युवा बदलिए । तिनका अभिभावक सोही गतिमा बदलिएनन । यो गतिको खाडल मेटने संवाद हो । अन्तरपुस्तौनी संवाद । नैतिकतामुखी अभिभावक र भौतिकतामुखी युवाबीचको संवाद । स्कूल, कलेज, तथा विश्वविद्यालयले यस्तो संवाद गरे गराए के हुने ? आमने सामने गरेर । आधुनिक प्रविधिलाई उपयोग गरेर । पेशा फेरिएपछि हुने खाडल पाटन । प्रविधि फेरिएपछि हुने खाडल पाटन । आवश्यकता फेरिएपछि हुने खाडल पाटन । हैसियत फेरिएपछि हुने खाडल पाटन । यो काम गर्न नसकिने हो र ? यस्ता संवालदले स्वतन्त्रता खोज्नेहरुले नेपालमैं रमाउँने ठाउँ हुन्छ कि त ?
– दौतरीको लहै लहै तथा अभिभावकको अतृप्त चाहना पूरा गर्न गराउँन पनि युवा विदेशिएका छन । भाग्यको परीक्षण गर्न पनि विदेशिएकै छन । यसो हो भनेः विदेशिनेहरुसँगको संवाद यसको समाधान हुनसक्छ । साथीसँग मनका कुरा नामक रेडियो कार्यक्रम जस्तो । मितेरी कार्यक्रम जस्तो । यो काम पनि त गाह्रो हैन होला नि त ? किन हामीले यसतर्फ ध्यान दिएनौं ? कस्को काम हो यो निक्र्याैल गरौं । शिक्षालयहरुले सहकार्य त गर्न सक्छौं नि त ।
४. जसोगर्दा पनि विदेशिने क्रम रोकिन्न । त्यसको गति धिमा हुनसक्छ । विश्व नागरिकको चिन्तन त्यही हो । फोर्डिजम त्यही हो । लगानी गरीव देशको । फाइदा धनी देशको । अमेरिकी डिभी त्यही हो । बेलायत तथा अष्ट्रेलियामा शिक्षक बन्न खुलेको बाटो त्यही हो । विदेशिएका युवालाई गाडी किन्न ऋण दिने उनीहरुको ब्यवस्था त्यही हो । घर किन्न किस्तावन्दीमा ३० वर्षे ऋण दिने तरीका त्यही हो । अर्थात पहिले फकाउँने । ऋण तिर्नुपर्दा फसाउँने । यसरी फकाउँदा युवा विदेशिन्नन । फसाउँदा युवा उनीहरुकै देशमा अडिन्छन । बिना लगानी गतिला दिमाग उनीहरुले नैं उपयोग गर्छन । गराएकै छन ।
– त्यसो हो भने हाम्रा शिक्षण संस्थाहरुको सहकार्यमा पालिका पालिकामा किन यो अभियान थालेनौं ? थाल्दैनौं ? वीरगञ्जको ठाकुरराम क्याम्पसले पञ्चायती राजमा नैं यो काम गरेको थियो भन्ने कुरा किन बुझदैनौं ?
– यति गर्दा पनि युवा विदेशिए भने ती युवासँग पाँच चीज लिने प्रवन्ध गरे के हुन्छ ? ज्ञान लिने । सीप लिने । आधुनिक प्रविधि लिने । पैसा लिने । अन्ततोगत्वा मान्छे नैं ल्याउँने । किन हामीले यसको थालनी गरेनौं ? किन ब्रेन ड्रेनको मात्र कुरा गर्छाैं ? किन ब्रेन रिगेनको कुरा गर्दैनौं ? चीनले जस्तो विदेश पठाउने तथा स्वदेश फर्काई विकास कार्यमा लगाउँने सोच किन बनाउँदैनौं ? भारतले सिलिकन भ्याली विकास गर्दा ब्रेन रिगेनकै नीति लिएको थियो भन्ने कुरा किन बुझदैनौ ? हाम्रा एन आर एनहरुलाई संस्थागत रुपमै विविध क्षेत्रमा उपयोग गर्ने नीति किन लागु गर्दनौं ? किन स्याल हुइयाँ मात्रै गरिरहेछौं ? किन विदेशिनेहरुका ज्ञान, सीप, आधुनिक प्रविधि, तथा पैसा भित्र्याउँने ब्यवस्थित योजना बनाउँदैनौ ? ती हाम्रै शिक्षण संस्थाका आल्मोनाइ हुन भनी किन बुझदैनौं ? यति बुझनासाथ हाम्रा युवा विदेशिए भन्ने रटान फेरिन्छ । बस्तुलाई परिवर्तन तथा सापेक्षतामा बुझनुपर्छ भन्ने कुराको कार्यान्वयन हुन्छ । यसो गर्न कसैले रोकेको छ र ?
निचोड
समस्या मात्रै देखाउँदा हामी रणनीतिक गरीब बन्छौं । त्यसैमा समाधान खोज्दा प्रगति पथमा हुन्छौं । हामी विज्ञ भन्ने भनिनेहरुले पनि समस्या मात्र देखाउँनु भनेको वौद्धिक टाट पल्टाइ हो भन्ने कुरा जनता जनार्दनले बुझन थाल्छन । अगुवा नैं बाटो हगुवा बने भन्न थाल्छन । यो कलंकबाट बच्न बचाउँन पनि नेतृत्वमा रहनेहरुले समाधान देखाउँने संस्कार पो बनाउँने कि ? गोठालाले गाईले दूध दिएन भनी गनगन गर्दैन । बरु नून चटाउँने कि ? कुँडो दिने कि ? घाँस ख्वाउँने कि ? मरेका बाच्छाबाच्छी अगाडि राखिदिने कि ? गाईको जिउ कन्याइ दिने कि ? खुट्टे लगाउँने कि ? भनी अक्किलको प्रयोग गर्छ । दूध दोहेरै छोडछ । हामी पढेलेखेका तथा निणायक हौं भन्नेहरुले गोठालका उपायबाट केही सिक्ने कि ? युवा विदेशिए, नेपालको पढाइ ब्यवहारिक भएन , जनमुखी भएन , वैज्ञानिक भएन, उत्पादनसँग जोडिएन, विद्यार्थी नियमित भएनन, तिनको पढने बानी भएन, तिनले श्रम गरेनन, शहर पसे आदि भनेर थोत्रो ग्रामोफोन बजाइरहने ? सोचौं ।



