अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित १८ जनाको मृत्यु

फोटो : बिबिसीबाट

कठमाडौं /११ जेठ-अमेरिकाको टेक्सास शहर स्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । रोब इलिमेन्टरी प्राथमिक विद्यालयमा एक जना पुरुषले गोली चलाउँदा कम्तिमा १८ जनाको मृत्यु भएको हो ।


तर,अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएका छन् । उक्त प्राथमिक विद्यालयमा पाँचदेखि ११ वर्षसम्मका विद्यार्थीहरू रहेका थिए ।


टेक्सासका गभर्नर ग्रेग एबोटका अनुसार १८ वर्षीय पुरुष साल्भाडोर रामोसले आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएको हुन सक्ने बताएका छन् । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।


प्रहरीले स्थानीय समयअनुसार बिहान करिब ११ः३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मारिने विद्यार्थी दोस्रो, तेस्रो र चौथो कक्षामा रहेका बालबालिकाहरू रहेका छन् ।
स्रोत: बिबिसी