दशैँलगत्तै बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने


काठमाडौँ /१८ असोज-स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताउनुभएको छ ।


राज्यमन्त्री श्रेष्ठले आइतबार बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको हो ।


“४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ”, उहाँले भन्नुभयो । दसैँलगत्तै एक लाख फाइजर खोप आउने उहाँको भनाइ थियो ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले फागुनसम्म खोप आउने र बालबालिकालाई उपलब्ध गराउने बताउनुभयो । सरकारले खोपलाई उच्च प्राथमिकता दिएको राज्यमन्त्री श्रेष्ठको भनाइ थियो ।


राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताउनुभयो ।