नगरपालिकाभित्रका स्नातक पास गर्ने महिलालाई ५१ हजार भत्ता

कलैया/३०असार-बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने भएको हो ।


छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष २०७८–०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश कुमार यादवले जानकारी दिनुभयो ।


नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेका छन् । महिलाको स्वाभिमानलाई अगाडि बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद रु ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी सावित्री शर्माले भन्नुभयो ।