पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनलाई आयल निगमले वार्तामा बोलायो

काठमाडौं/२७ असार-नेपाल आयाल निगमले संयुक्त विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भए पछि त्यस विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठनलाई छलफलका लागि वार्तामा बोलाएको हो ।


निगमले पाँच विद्यार्थी संगठनका अध्यक्षका नाममा पत्र लेख्दै असार २८ गते दिउँसो १ बजे निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि बोलाएको छ । असार २४ गते संयुक्त विद्यार्थी संगठनको तर्फबाट निगमलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रका विभिन्न वस्तुहरु उपर छलफलका लागि बोलाइएको निगमले पत्रमा उल्लेख गरेको छ ।


साथै छलफलका लागि कोरोना भाइरसको महामारीलाई ख्याल गर्दै थोरै जनाको प्रतिनिधित्व हुनेगरी उपस्थित भईदिन निगमले विद्यार्थी संगठनलाई आग्रह गरेको छ ।


अघिल्लो साता निगमले पेट्रोल,डिजेलमा मूल्य बृद्धि गर्नुका साथै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले मूल्य बृद्धि गरेपछि विद्यार्थी संगठनहरुले त्यस विरुद्ध आन्दोलन गर्दै आइरहेका छन् ।