काठमाण्डौं १६ माघ– सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्ने बताएका छन् ।
नगरपालिकाले शिक्षाको प्रचार–प्रसार, सवलीकरण तथा सुदृढीकरण र व्यवसायिक तथा गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन भन्ने मूल नाराका साथ विहिबार आयोजना गरेको सो सम्मेलनमा शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको परस्पर सम्बन्ध र सहयोगबाट मात्र शैक्षिक गुणस्तरीयता कायम हुने बताएका छन् ।
सार्वजनिक शिक्षाले प्रभावकारी रुपमा दायित्व बोध गर्न नसक्दा शैक्षिक गुणस्तरीयता खस्कंदै गएको भन्दै उनले अब लोकतान्त्रिक प्रणालीको विकास गर्दै शिक्षामा सबैको सामुहिक दायित्वको बोध हुनुपर्नेमा जोड दिए ।
यस्तै, अबको समयमा विद्यालयालाई प्रविधिमैत्री बनाउंदै समय सापेक्ष अनुसार चल्नुपर्ने र शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई राज्यको अर्थतन्त्रसँग जोड्दै लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।
नगर क्षेत्र भित्रका विशेषतयाः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता प्रदान गर्ने उद्देश्यले आयोजित सो सम्मेलनमा शिक्षाविद् विमल फुँयाल, नन्दकुमार थापा, पूर्ण दवारी लगायतले गुणस्तरीय शिक्षाको बारेमा आ आफ्नो पक्षबाट भनाइ राखेका थिए ।
धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनबाट २५ बुँदे नगर शिक्षा घोषणा पत्र २०७७ घोषणा समेत गरिएको छ ।
नगर क्षेत्रभित्र अहिले ३३ वटा सामुदायिक, २३ संस्थागत, ६ वटा धार्मिक तथा ६१ वटा बालविकास रहेका छन् ।



