काठमाडौँ /१२ माघ – कोभिड १९ महामारी रोकथामका लागि बन्द भएका काठमाडौँ महानगरपालिकाका विद्यालय सञ्चालन हुने भएका छन् । आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
साथै स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने छ ।
कोरोना महामारीका कारण गत चैत देखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै माघ ११ गते सञ्चालनको अनुमति दिएको हो । हाल काठमाडौँ महानगरपालिका भित्र ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय रहेका छन् ।



